• २९ माघ २०८१, मङ्गलबार

कुश्माका आदिवासी कुमाल समुदाय गुमनाम

blog

पाल्पाका कुमाल परिवार । फाइल तस्बिर

प्रनिश गिरी

कुश्मा पर्वत, माघ २९ गते । कुनैबेला पर्वतको कुश्माका कुमाल समुदाय आफ्नै भाषा, संस्कृति, परम्परा, मौलिक सीप र कलाकौशलबाट सुसज्जित रहेकोमा समय बित्दै गर्दा गुमनाम बनेका छन् । 

पिछडा वर्गमा पर्ने कुमाल समुदायलाई यतिखेर आफ्नो अस्तित्व जोगाउन हम्मेहम्मे परेकोमा चिन्ता छ । पर्वतको सदरमुकाम कुश्मा नगरपालिकामा कुमालहरू कहिले र कहाँबाट आए भन्ने ठ्याक्कै एकीन नभए पनि ५ सय वर्ष पहिलेदेखि बसोवास गर्दै आएको अनुमान गर्न सकिन्छ । 

बाइसेचौबिसे राजाका पालादेखि बसोवास गर्दै आएको भनिने कुमाल समुदाय कुश्माका भूपति मात्रै नभई माटाका भाँडाकुडा बनाउनमा गण्डकी क्षेत्रमै ख्याति कमाएका थिए । अल्पसङ्ख्यक र लोपोन्मुख जातिमा पर्ने कुमाल जाति विस्थापित हुँदै गएका छन् । कुमाल समुदायका अगुवा कुमालका अनुसार कुश्मा बजार क्षेत्रमा रहेको कुमाल टोलमा २० घरधुरी छ भने नगरपालिकाभर जम्मा २६ घरधुरी छ ।

कुमाल समुदायका अगुवा ६१ वर्षे लिलाबहादुर कुमालले आफ्नो पेशा र मौलिक संस्कृति गुमाउनु परेकोमा पीडा पोख्दै भन्नुभयो, "हाम्रा पुर्खाहरू गाउँकै मुखिया थिए । पुर्खाको आफ्नै सीप, कला र संस्कृतिका कारण आफ्नै पहिचान थियो । अहिलेका युवापुस्ताले गुमाउँदै गएको अवस्था छ । स्थानीय सरकारले पनि कुमाल समुदायका हितमा कुनै साथ र आर्थिक सहयोग दिएको छैन । राजनीतिक पार्टीका नेता पनि चुनावका बेला आउने र समुदायलाई सहयोग गर्छौ भन्छन् तर पछि बिर्सन्छन् ।"

अहिले कुश्मा नगरपालिका वडा ५ मा रहेको जिल्ला प्रशासन कार्यालय रहेको स्थानभन्दा केहीमाथि देखि तल्लो वडा गाउँसम्मको पुरै भूभाग कुमाल समुदायले भोगचलन गर्दै आएको इतिहास छ । त्यति मात्रै नभई अहिलेको वडा ६ मा पर्ने फिल्म चोक क्षेत्रसहित तल्लो बजार क्षेत्रको धेरै भुभाग कुमालहरूकै स्वामित्वमा थियो । युवा पुस्ताका राजेश कुमालका अनुसार पहिले कुमालहरूले अहिलेको कुश्मा वडा ४ स्थित गुप्तेश्वर बहुमुखी क्याम्पस भन्दा केही माथि माझमेलाबाट चाम्रो माटो र दाउरा ल्याई भाँडाकुडा बनाउँथे । यहाँका कुमालहरूले बनाउने घैटा, हाडी, गलैचा, पैनी, खोतिला, आरी, भुड्का, पाला लगायत माटाका भाँडाकुडाँहरू बाग्लुङ, म्याग्दी, मुस्ताङको मुक्तिनाथसम्म बिक्री हुने गर्दथे। 

कुमाल समुदायका युवा पुस्ताले आफ्नो कला, सीप र संस्कृति भुल्दै गएको भनी स्थानीय युवा रामकिस्न कुमाल चिन्ता व्यक्त गर्नुहुन्छ । स्थानीय युवा कुमालका अनुसार कुमाल समाज पर्वतको अगुवाइमा युवाहरुका लागि एक महिने कुमाल भाषा शिक्षा को पठनपाठन गराइदा थोरै भए पनि राम्रो प्रभाव परेको थियो । सरदरमुकाममा बसेको समुदाय भएर पनि कुमाल समुदायमा औपचारिक शिक्षा हासिल गर्ने शिक्षित जनशक्तिको समेत अभाव छ । यहाँका कुमाल समुदायमा दुई जनाले मात्रै अहिलेसम्म स्नातक उर्तिण गरेका छन् । राजनीतिक, सामाजिक र व्यावसायिक क्षेत्रमा समेत कुमालहरुको दरो पहुँच छैन । 

कुश्माको स्थानीय सामाजिक व्यक्तित्व ८३ वर्षीय लोकनाथ आचार्यले कुमाल समुदाय लोपोन्मुख रहेको उल्लेख गर्दै भन्नुभयो, "कुमाल समुदाय त्यसमा पनि मोतिलाल कुमालका पुर्खा मुखिया कुमालहरु सवैभन्दा पुराना हुन् । चन्द्रकोटे र धुवाँकोटे कुमालहरु केही पछि आएको मानिन्थे । भुरेटाकुरे राजाका पालामा बोटे समुदायसँगै कुमाल समुदायलाई ल्याएको भन्ने सुनिन्थ्यो । बोटेहरुले पहिले कालीगण्डकी  पुल नहुँदा मानिसलाई डुंगाबाट वारपार गराउने गर्दथे भने कुमालहरुलाई माटाका भाँडाकुँडा बनाउन भनी ल्याइएको थियो । कुश्माको खानेपानीको व्यवस्था गर्न, बालमन्दिर स्थापना गर्न जग्गा दिने काम कुमालले गरेका थिए । सामाजिक योगदान पुराएका कुमालहरु कम पढेलेखेका हुँदा आफ्नो अधिकारबाट वञ्चित हुन पुगेका छन् ।"

स्थानीय सामाजिक व्यक्तित्व आचार्यले ऐतिहासिक खोजले पुष्टि नगरेको भए पनि कुमालहरु रहेको गाउँ भएको हुँदा कुश्मा नाम रहन गएको हो भन्ने तर्क जायज लाग्ने गरेको बताउनुभयो । स्थानीय निकायसँग कुमाल जातिको आर्थिक अवस्था, जनसंख्या लगायतको एकीन खोजी र तथ्यांक समेत छैन । 

कुमाल समुदायका अधिकांश मानिसहरु रोजीरोटीका लागि ज्यालामजुदरी, खेतीपाती गर्दछन् भने केही युवाहरु विदेश छन् । खेतीपातीका लागि प्रशस्तै जमिन समेत छैन । कुमाल समुदायले आफ्नो समुदायको हित प्रयोजनका लागि कुमाल टोलमा सामुदायिक भवन निर्माण गरेका छन् ।