• २९ माघ २०८१, मङ्गलबार

अगाडि बढ्न सकेन प्रस्तावित पुल

कोशी ब्यारेजको विकल्प खोजी

blog

फाइल तस्बिर ।

काठमाडौँ, माघ २९ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोशी ब्यारेजको विकल्पमा प्रस्तावित नयाँ सडक र पुल निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन । 

कोशी ब्यारेजको निर्धारित आयु समाप्त भइसकेकाले कुनै पनि समय नदीको बहावले ब्यारेजमा क्षति पुगी जनधनको ठुलो क्षति हुन सक्ने भएकाले नयाँ पुलको प्रस्ताव गरिएको हो । कोशी ब्यारेजको सञ्चालन अवधि (म्याद) समाप्त भइसकेकाले नयाँ पुल निर्माण गर्न लागिएको सडक विभागले जनाएको छ । 

विभागका अनुसार कोशीको विकल्पमा नयाँ पुल र सडक निर्माणका लागि अध्ययन र डिजाइनसमेत सम्पन्न भइसकेको छ । सन् १९६२ मा निर्माण सम्पन्न गरिएको कोशी ब्यारेजको आयु ५० वर्ष तोकिएको थियो तर पुलको आयु ६० वर्ष नाघिसकेको छ । कोलकाताको ‘जोसेफ एन्ड कम्पनी लिमिटेडले कोशी ब्यारेज निर्माण गरेको थियो ।

प्रस्तावित नयाँ पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार भए पनि कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले अनुमति नदिँदा निर्माण प्रव्रिmया अगाडि बढ्न नसकेको हो । एसियाली विकास बैँक (एडिबी) को सहयोगमा पाँच वर्षअघि कोशी ब्यारेजको विकल्पमा प्रस्तावित नयाँ सडक र पुल निर्माणको ‘डिपिआर’ तयार गरिएको थियो ।

नेपालस्थित ‘एडिबी’ निर्देशनालय प्रमुख चूडाराज ढकालले एडिबीको सहयोगमा सडक र पुल निर्माणका लागि तयार गरिएको रेखाङ्कन (एलाइनमेन्ट) नेपाल सरकारद्वारा स्वीकृत भएर पनि कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले अनुमति नदिँदा निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको बताउनुभयो । सडक र पुल निर्माणका लागि पेस गरिएको वातावरण प्रभाव मूल्याङ्कन आरक्ष कार्यालयले स्वीकृत नगर्दा निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको उहाँले स्पष्ट पार्नुभयो ।

निर्देशनालय प्रमुख ढकालले भन्नुभयो, “कोशी ब्यारेजको करिब १० किलोमिटर उत्तरमा नयाँ सडक र पुल निर्माण गर्ने गरी तयार पारिएको अध्ययन प्रतिवेदनलाई मन्त्रीपरिषद्ले स्वीकृति प्रदान गरेको छ भने कोशीटापु वन्यजन्तु आरक्ष कार्यालयले ब्यारेजको बढीमा एक किलोमिटर उत्तरमा सडक र पुल निर्माण गर्ने गरी डिजाइन गर्न सुझाव दिएको छ । यसरी सरकारद्वारा स्वीकृत अध्ययन प्रतिवेदन र आरक्ष कार्यालयले दिएको सुझाव बाझिदा निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको हो ।”

निर्देशक ढकालका अनुसार प्रस्ताव गरिएको सडकको चौडाइ चार लेन र सडकको कुल लम्बाइ ४४.२ किलोमिटर हुने छ । त्यसै गरी नयाँ पुलको लम्बाइ दुई हजार ८६० मिटरको हुने छ । नयाँ ‘एलाइनमेन्ट’ अनुसार वैकल्पिक सडकमा साना ठुला गरी ३४ वटा पुल पर्छन् ।

कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका उपमहानिर्देशक वेदकुमार ढकालले अहिले प्रस्ताव गरिएको ठाउँमा सडक र पुल निर्माण गर्ने हो भने मानव–हात्ती द्वन्द्व झन् बढेर आउने, चुरे क्षेत्रको थप विनाश हुने र वन्यजन्तु आरक्ष क्षेत्रको जग्गा अतिक्रमण हुन सक्ने भएकाले प्रस्तावित रेखाङ्कनमा नयाँ सडक र पुल निर्माण उपयुक्त नहुने भएकाले कार्यालयले अनुमति नदिएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “यदि कोशी ब्यारेजको विकल्प मात्र दिने हो भने अहिले ब्यारेज रहेको तीन/चार किलोमिटर उत्तरमा पनि नयाँ सडक र पुल निर्माण गर्न सकिन्छ । ब्यारेजदेखि १० किलोमिटर उत्तर किन पुग्नु प¥यो ? बढीमा एक किलोमिटरको दुरीमा सडक र पुल निर्माण गर्ने हो भन्ने चुरे र आरक्ष क्षेत्रलाई विनाशबाट सुरक्षित राख्न सकिन्छ । आरक्ष क्षेत्रको सार्वजनिक जग्गा अतिक्रमणमा समेत पर्न सक्दैन । त्यसैले प्रस्तावित सडक र पुल निर्माणका लागि नयाँ रेखाङ्कन (एलाइनमेन्ट) र डिजाइन आवश्यक छ ।”

सडक विभागका पूर्वमहानिर्देशक अर्जुनजङ्ग थापाले प्रस्तावित नयाँ सडक र पुल निर्माणले राजमार्गको मार्ग (एलाइनमेन्ट) समेत सिधा हुने र दुरीसमेत कम हुने बताउनुभयो । कोशी ब्यारेज सप्तरीमा पूर्वपश्चिम राजमार्गको ‘एलाइनमेन्ट’ नेपाल–भारत सिमाना हुँदै गएको छ ।

उहाँले भन्नुभयो, “अहिले गरिएको डिजाइन अनुसार पूर्वपश्चिम राजमार्गको ‘एलाइनमेन्ट’ मा सुनसरीको इटहरी र झुम्काबिचको पकलीबाट परिवर्तन हुने छ । सुनसरीको सदरमुकाम इनरुवाबाट उत्तरपूर्वी क्षेत्र हुँदै बन्ने नयाँ सडकले कोशीमा नयाँ पुल पार गर्दै सप्तरीको कञ्चनपुर जोड्ने छ ।”

प्रस्तावित नयाँ सडक सप्तरीको कञ्चनपुर हुँदै कालिञ्चोक, रामपुर, बुद्धनगर, मानपुरजोरा, एकराही, तीनकुने, राजबास, कोशी, भागलपुर, गल्फेरिया, तपेश्वरी, त्रियुगा, मालेट, धरमपुर र सुनसरीको पकलीमा जोडिन्छ । तराई भूभागमा एक सय किलोमिटर प्रतिघण्टा र पहाडी क्षेत्रमा ६० किलोमिटर प्रतिघण्टा सवारी गुड्न सक्ने गरी डिजाइन गरिएको छ ।

अध्ययन अनुसार कोशी पुल निर्माणका लागि २१ अर्ब ७४ करोड र सडक निर्माणका लागि २० अर्ब ६३ करोड रुपियाँ खर्च हुने छ । सो वैकल्पिक पुल र सडक निर्माणका लागि एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा निर्माण गरिने छ । यसअघि एडिबीकै सहयोगमा प्रस्तावित सडक र पुलको डिपिआर गरिएको हो ।