जनार्जन खत्री
सर्लाही, माघ २८ गते । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्र सङ्कटमा पर्दै गएपछि नेपाली कांग्रेससँग सहकार्य गर्नुपरेको बताउनुभएको छ ।
सर्लाही सदरमुकाम मलङ्गवामा सोमबार एमालेको वडा केन्द्रित तीन महिने अभियान सम्वन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्वोधन गर्दै पोखरेलले कांग्रेससँग सहमती र प्रतिस्पर्धाको दुवै पाटोलाई बुुझ्नुुपर्ने बताउनुुभयो ।
राष्ट्रिय सङ्कट आउँदा सहकार्य र सामान्य अवस्थामा कांग्रेससँग प्रतिस्पर्धा नै हुने पोखरेलको भनाइ छ । सरकार बन्न नै सङ्कट, विकास ठप्प र विदेशी हस्तक्षेप बढेपछि ती सङ्कट समाधान गर्न कांग्रेससँग सहकार्य गरिएको वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीका अगुवा कार्यकर्तालाई प्रष्ट पार्नुभयो । उहाँले २०८४ को निर्वाचनमा बहुमत ल्याएर राष्ट्र बनाउने र देशलाई स्थिरता दिने एमालेको योजना रहेको सुनाउनुुभयो ।
पोखरेलले माओवादीप्रति लक्षित गर्दै फेरि म्याजिक नम्बरमा देश गए बर्बाद हुने बताउनुुभएको छ । एमालेलाई जरो तहसम्म मजबुद बनाउन वडा केन्द्रित तीन महिने अभियान सञ्चालन गरिएको एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले उल्लेख गर्नुभएको छ ।
कार्यक्रमलाई पार्टीको सङ्गठन विभाग प्रमुख काशिनाथ अधिकारी, पार्टीका नेता एवं पूर्व मन्त्रीद्वय लीलानाथ श्रेष्ठ र हरिप्रसाद उप्रेती, मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डललगायतले सम्बाेधन गर्दै अभियानलाई सफल बनाउन अगुवा नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
जनताका गुनासा तथा समस्या सुन्ने, समाधानका लागि पहल गर्ने र साथसाथै पार्टीको सङ्गठन विस्तार तथा सुदृढीकरण गर्ने उद्देश्यसहित वडा केन्द्रीत तीन महिने अभियान सञ्चालन गर्न लागिएको एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहले जानकारी दिनुुभयो । सर्लाहीमा २० पालिकाका दुई सय वटै वडामा यो अभियान सञ्चालन गरिने एमालेले जनाएको छ ।