• २८ माघ २०८१, सोमबार

एचपिभी खोप लगाउन सुरु

blog

किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइँदै ।

जुम्ला समाचारदाता

जुम्ला, माघ २८ गते । सरकारले थालेको राष्ट्रिय खोप अभियान अन्तर्गत पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप जुम्लामा लगाउन सुरु गरिएको छ । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले किशोरीलाई खोप लगाउन सुरु गरेको हो । जुम्लाको कनिका निसा स्कुलबाट एक कार्यक्रम गरी खोप लगाउन थालिएको छ । 

जुम्लामा चिसोको समयमा विद्यालय नलागेका कारण केही ढिला खोप अभियान सुरु भएको हो । जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले खोप कार्यक्रमको घोषणा गर्नुभयो । खोप लगाएपछि किशोरीले खुसी व्यक्त गरेका छन् । खोप लगाएर फर्किएकी कक्षा ८ मा अध्ययनरत छात्रा चारु रावलले पाठेघरको मुखको क्यान्सरबाट जोगाउने खोप लगाउन पाएकामा खुसी व्यक्त गर्नुभयो । 

जनस्वास्थ्य सेवा कार्यालयका अनुसार जुम्लामा आठ हजार १४ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपिभी) लगाइने छ । जनस्वास्थ्य निरीक्षक प्रेम सोमाईले विद्यालयमा अध्ययन गरिरहेका ६ कक्षादेखि १० कक्षामा अध्ययनरत किशोरी र विद्यालयबाहिरका १० वर्षदेखि १४ वर्षका किशोरीलाई खोप लगाइने बताउनुभयो । जुम्लाको चन्दननाथ नगरपालिका, गुठीचौर गाउँपालिका, पातारासी गाउँपालिका, तातोपानी गाउँपालिका, तिला गाउँपालिकामा माघ २७ गतेदेखि खोप सुरु गरिएको छ भने सिँजा क्षेत्रका हिमा गाउँपालिका, सिँजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा फागुन १ गतेदेखि खोप लगाइने छ । खोप अभियान सफल पार्नका लागि ८६ वटा खोप केन्द्र र दुई सय जना स्वास्थ्यकर्मी परिचालन भइसकेका छन् ।