• २८ माघ २०८१, सोमबार

आयोजना बैङ्क कार्यविधि निर्माणको तयारी

blog

बुलबुले समाचारदाता

सुर्खेत, माघ २८ गते । प्रदेश सरकारले आयोजना बैङ्क निर्माण गरेर कार्यान्वयन गर्न लागेको छ । आयोजना बैङ्क कार्यान्वयनका लागि कार्यविधि निर्माण गर्न लागिएको हो । कार्यविधि निर्माणका लागि मन्त्री तथा मन्त्रालयका सचिवबिच छलफल गरिएको प्रदेश योजना आयोगले जनाएको छ ।

आयोजना बैङ्क निर्माण गरेर कार्यक्रम छनोट तथा बजेट विनियोजन गर्न लागिएको हो । अहिले कार्यविधि निर्माणका लागि विभिन्न मन्त्रालयसँग छलफल गरिएको जनाइएको छ । कार्यविधि निर्माणको काम प्रदेश योजना आयोगले गरिरहेको छ । सबै मन्त्रालयका मन्त्री र सचिवहरूसँग ‘आयोजना बैङ्क व्यवस्थापन कार्यविधि–२०८१’ तयारीका लागि छलफल गरिएको योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले बताउनुभयो । उहाँका अनुसार छलफलमा उठेका विषयलाई समावेश गरेर कार्यविधि निर्माण गर्न लागिएको हो ।

आयोगले कार्यविधिको सामान्य मसौदा तयार पारेको थियो । सोही मसौदामाथि मन्त्रालयहरूले आफ्नो राय तथा सुझाव दिएका छन् । सोही सुझावका आधारमा कार्यविधि निर्माण गरिने जनाइएको छ । छलफल कार्यक्रममा मुख्यमन्त्री यामलाल कँडेलसमेत सहभागी हुनुभएको थियो । उहाँले घनीभूत छलफल गरेर मात्र कार्यविधि निर्माण गर्नुपर्ने बताउनुभएको छ । रूपान्तरणकारी आयोजना, प्रदेश गौरवका आयोजना र समसामयिक आयोजनालाई प्राथमिकतामा राखिएको छ । सोही आयोजना कार्यान्वयन गर्ने नीतिबमोजिम कार्यविधि निर्माण गरिने भएको हो ।

चालु आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेटमा समेत आयोजना बैङ्क स्थापना गर्ने उल्लेख छ । योजना छनोट प्रणालीलाई व्यवस्थित गर्न आयोजना बैङ्क प्रभावकारी हुने अपेक्षा गरिएको छ । आयोजना छनोट तथा बजेट विनियोजनलाई वस्तुपरक बनाउन र आयोजनाको दोहोरोपना हटाउन ‘आयोजना बैङ्क’ स्थापना गर्न लागिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव आनन्द सारुले बताउनुभयो । दिगो विकास लक्ष्य हासिल गर्न मद्दत पुर्‍याउने, उत्पादन र उत्पादकत्व बढाउने आयोजनामा बजेट केन्द्रित गर्ने गरी बैङ्क स्थापना गरेर कार्यक्रम छनोट गरिने उहाँको भनाइ छ ।

बजेट कार्यान्वयनलाई व्यवस्थित गर्न आयोजना बैङ्क निर्माण गर्न र सोही अनुसार बजेट परिचालन गर्नुपर्ने हुन्छ । त्यसका लागि योजना तर्जुमासम्बन्धी कानुन निर्माण गरेर कार्यान्वयन गरिने सचिव सारु बताउनुहुन्छ । कर्णालीमा आयोजना बैङ्कको अपरिहार्यतालाई प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको समीक्षाले समेत देखाएको छ । लगानीयोग्य योजना छनोट गर्न, पहुँचका आधारमा औचित्यहीन योजनामा समेत बजेट विनियोजन हुने प्रवृत्ति अन्त्य गर्न आयोजना बैङ्क निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । सोही अनुसार प्रदेश सरकारका मन्त्रालयले प्रदेश नीति तथा योजना आयोगमातहत रहेर कार्यक्रम सञ्चालन गर्ने छन् ।

यसै गरी प्रदेश सरकारले आयोजना प्रस्ताव तथा छनोट प्रक्रियासम्बन्धी कार्यविधि–२०८१ निर्माण गर्न लागेको छ । मुख्यमन्त्रीसहित सबै मन्त्रालयका मन्त्री र सचिवको सहभागितामा छलफलसमेत गरिएको छ । प्रदेश सरकारको योजना छनोट प्रणालीलाई व्यवस्थित गर्न कार्यविधि निर्माण गर्न लागिएको हो । अहिलेसम्म नीति, कार्यक्रम तथा बजेट निर्माण क्षमता र आवश्यकताभन्दा पनि कार्यकर्तालक्षित वितरणमुखी र स्वार्थ समूहको हित रक्षा हुने गरी छनोट तथा सञ्चालन हुँदै आइरहेका छन् ।