• २८ माघ २०८१, सोमबार

भीमेश्वरका बोका व्यवस्थापनमा समस्या

blog

कोठामा थुनेर राखिएका बोका । तस्बिर : बाबुराम शर्मा

दोलखा समाचारदाता

दोलखा, माघ २७ गते । दोलखाको भीमेश्वर नगरपालिका–२, चरीकोटस्थित ऐतिहासिक सहर दोलखाको प्रसिद्ध धार्मिकस्थल भीमेश्वर मन्दिर परिसरमा छोडिएका बोका व्यवस्थापन गर्न समस्या भएको छ । 

भीमेश्वरलाई चढाउने भन्दै बिनाजानकारी नै मन्दिरमा ल्याएर बोका छोड्ने गर्दा व्यवस्थापनमा समस्या भएको वडाध्यक्ष स्टालिन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मागेको बर पूरा गरिदिने विश्वासले बोकाको घाँटीमा घण्टी बाँधेर छोडिने गरिन्छ । छोडिएका बोकालाई बास र दानापानीको सारै समस्या भएको छ । यस्ता बोका मन्दिरबाहिरै रहँदा जङ्गली जनावरले आव्रmमण गर्ने समस्या पनि त्यत्तिकै रहेको छ । छोडिएका बोकालाई बन्धनमा बाँधिनु हुँदैन र धपाउन पनि सकिँदैन । बाहिर छोड्दा मानिसलाई समेत हान्ने गर्दछन् । केही दिनअघि दुई जना महिलालाई बोकाले हानेर लडाइदिएका थिए । यस्तो हुँदा औषधोपचार गरिदिन माग आउने गरेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । 

बजारमा जथाभाबी सरसामान खाइदिने र मानिसलाई पनि हान्ने गरेकाले कोठामा थुनेर राख्नुपर्ने बाध्यता रहेको केहीको भनाइ छ । भीमेश्वरलाई चढाएका बोका समस्या हुन थालेपछि अब छिठ्टै व्यवस्थापन गर्न लागिएको दोलखा भीमेश्वर गुठी व्यवस्थापनका सचिव रोजेन्द्रनारायण श्रेष्ठले बताउनुभयो ।