साहारा लिम्बू
ताप्लेजुङ, माघ २६ गते । ताप्लेजुङको फुङ्लिङमा लैङ्गिक समानता तथा समावेशीकरण कार्यक्रम अन्तर्गत पाँच दिने उद्घोषण तालिम सम्पन्न भएको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ ताप्लेजुङको आयोजना र फुङलिङ नगरपालिका ४ को समन्वयमा तालिम सञ्चालन भएको हो ।
तालिममा फुङलिङ नगरपालिका भित्रका दलित समुदायका २० जना महिलाको सहभागिता रहेको थियो । फुङलिङ नगरपालिका ४ को सभाहलमा सम्पन्न भएको उक्त तालिमको सहजीकरण पत्रकार किरण गदाईलीले गर्नुभएको थियो । फुङ्लिङ नगरपालिका कार्यपालिका सदस्य भीमकला दर्जीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको तालिममा नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ केन्द्रीय सदस्य नरजुङ सुनाम, पाथीभरा सुनचाँदी व्यवसायिक कला सङ्घका अध्यक्ष गंगाराम शंकर, फुङलिङ नगरपालिका ६ का वडासचिव रनकुमार बिक र फुङलिङ नगरपालिका वडा ४ बाट निर्वाचित महिला सदस्य रिता दर्नालको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि भीमकला दर्जीले सिकेका कुरालाई उपयोगगरी विभिन्न अवसरमा सदुपयोग गर्न प्रशिक्षार्थीलाई आग्रह गर्दै आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । यस्तै, पाथीभरा सुनचाँदी व्यवसायिक कला सङ्घका अध्यक्ष गंगाराम शंकरले दलित समुदायलाई वाक कलामा निपूर्ण बनाउन तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै प्रयोगात्मकतालाई प्राथमिकता दिन प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो । उहाँले आफूहरूले सञ्चालन गर्ने विभिन्न कार्यक्रममा यहाँबाट उत्पादित जनशक्तिलाई स्थान दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।