रवीन्द्र उप्रेती
बर्दीबास, माघ २५ गते । गौशाला नगरपालिकाको उत्तरी भेगमा जङ्गली हात्तीको आतङ्कले स्थानीय त्रासमा छन् । मध्य रातको समय पारेर बस्ती प्रवेश गर्ने छावासहितका ३ वटा हात्तीले नगरपालिकाको ८ स्थित जङ्गली क्षेत्र आसपासका ढल्केवर, लिख टोल, बयलबास र भन्टावारी ग्रागंजा टोलका दर्जनबढी घर भत्काइसकेको छ । छावासहितको हात्तीका बथानले बालीनालीमासमेत व्यापक क्षति पुर्याएपछि आफूहरु घर नघाटाको भएको पीडित गाउँलेको दुखेसो छ ।
वडाध्यक्ष भोजबहादुर दर्लामीका अनुसार साता दिनअघि बस्ती प्रवेश गरेका हात्तीले अहिलेसम्म ८ परिवारको एक दर्जनजति घर भत्काइसकेको छ । हात्तीले मूल घरदेखि गोठसमेत ढालेपछि शीतलहरको बेला पीडित परिवरले अर्काको घरमा शरण लिन बाध्य भएको उहाँले बताउनुभयो ।
मध्यराततिर गाँउ प्रवेश गर्ने हात्तीले बालीनालीमा उत्तिकै क्षति पुर्याएका छन् । अहिलेसम्म भण्डै ३० परिवारका करिब १० बिघाको उखु, ५ बिघाको गहुँ बाली र १ बिघाभन्दा बढी जग्गामा लगाइएका आलु बारी खाइ उखेली नष्ट गरेको उहाँले बताउनु भयो ।
वडाध्यक्ष दर्लामीले भन्नुभयो, ‘आज (विहिवार) एकै रात ढल्केबर टोलका होमबहादुर आले, होमबहादुर थापा र मोहनबहादुर थापाको काट्ने बेला भएको डेढ बिघाको उखु खाइ उखेली नष्ट गरेको छ ।’ रामनगर चिनी मिलमा दिन ठिक्क परेको करिब ६ लाख मूल्य बराबरको उखु हात्तीले एकै रातमा तहसनहस पारेको पीडितहरुले बताउनुभयो ।
वडाध्यक्ष दर्लामीका अनुसार बस्तीमा हात्ती पसेको साता दिन भयो । यसबिच ५० लाख मूल्य बराबरका त बालीनाली नै क्षति गरेको छ । भत्केका घरको २५ लाख जोड्दा हात्तीका कारण अनुमानित ७५ लाख बरारको क्षति भैसकेको छ ।’
गाउँलेका अनुसार छावासहित हात्तीका जोडी आइतवार सर्लाही हुँदै महोत्तरी प्रवेश गरेको हो । दिनभर ती हात्ती गाँउदेखि ३ किमी उत्तर रेल्वे पुलमुनि बाटुले खोल्सी आसपास लुकेर बस्छन् । मध्यरात परेपछि पालैपालो फरक फरक टोलमा पसेर दुःख दिने गरेको पीडित गाउँलेको भनाइ छ ।
माघ २० गते राती ढल्केबर टोलमा दुःख दिएको हात्तीले २१ गते लिख टोल, २२ गते ग्रांगजा टोल, २३ गते फेरि ढल्केबर र आज २४ गते राती पुन ग्रांजा टोल पुगको बताउनुभयो । यसअघि ती हात्ती पूर्वतर्फको बयलवास टोलमा पनि पुगेको थियो । पानी खोज्दै बस्ती पस्ने गरेका हात्तीले छावाका कारण दुःख दिने गरको गाउँलेको भनाइ छ ।
रातको समय छावा चकचक गर्दै अलिपर पुगेपछि ओझेलमा पर्छ । बाबुआमालाई नदेख्दा ‘क्वाँ’ गरेर कराएपछि दुवै हात्ती आक्रामक हुँदै छावातर्फ दौडन्छन् । त्यसक्रममा बाटोमा जे फेला पर्छ त्यसलाई भाँच्दै भत्काउँदै जानाले बस्तीदेखि बालीसम्म व्यापक क्षति पुगेको उहाँहरुले बताउनुभयो । अर्कोतर्फ हात्तीका कारण गाउँबस्तीमा असुरक्षाको अवस्था छ । हात्तीको कारण गाउलेहरुको दैनिकी बिथोलिएको वडाध्यक्ष भोजबहादुर दर्लामीले बताउनुभयो । गाउँ आसपासका क्षेत्रमा उखुघारी र बगैंचा भएकाले मेलापात गर्न पनि डरमर्दो भएको छ । गाउँलेहरु आगो बालेर रातभर जाग्राम बस्न बाध्य भएको उहाँले बताउनुभयो ।
नगर क्षेत्रमा साता दिनदेखि जङ्गली हात्तीले आतङ्क मच्चाउँदै आए पनि डिभिजन वन कार्यालयले सहयोग नगरेको गाउँलेको गुनासो छ । तथापि गौशालास्थित इलाका प्रहरी कार्यालयले भने खवर गर्नासाथ हात्ती धपाउन सहयोग गर्दै आएकोले केही भरोसा मिलेको गाउँलेको भनाइ छ ।
प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले सूचना पाए लगत्तै घटनास्थल पुगेको प्रहरीले गाउँलेलाई साथ, सहयोग र भरोसा दिंदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले केही गर्न नसके पनि गाउँलेले हात्ती आएको जानकारी दिएपछि घटनास्थलमा साइरन बजाएर सुरक्षा दिने प्रयास गर्दै आएका छौं ।’ आज राती हात्ती कुन टोलमा पस्ने हो ? गाउँलेबिच छलफल, अनुमान र रात्री सुरक्षाको तयारी गर्नुपर्दा कामकाज, मेलापात र दैनिकी सबै बिथोलिएको गाउँलेहरुले पीडा पोख्नुभयो ।