रमेश विश्वकर्मा
गुल्मी, माघ २४ गते । गुल्मीको मदाने गाउँपालिकाले कृषकलाई अनुदानमा मकैको बीउ वितरण गर्ने भएको छ ।
यस गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत मकैको बीउ वितरण कार्यक्रम अन्तर्गत पचास प्रतिशत अनुदानमा उन्नत मकैको बीउ वितरण गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिनुभयो।
प्रमुख प्रशासकीय अधिकृत पन्थीका अनुसार गाउँपालिकाले अनुदानमा मकैको बीउ वितरण गर्नका लागि उन्नत मकैको बीउ माग सम्बन्धि १५ दिने सूचना जारी गरेको छ।
सात वटै वडाका कृषकलाई मकैको बीउ वितरण गरिने हुँदा आवश्यक पर्ने मकैको बीउको परिमाण उल्लेख गरी इच्छुक कृषक, कृषक समूह, सहकारी र फर्महरुलाई सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्न आग्रह गरिएको उहाँले बताउनुभयो।
निवेदनसँगै व्यक्तिको हकमा नागरिकताको प्रमाणपत्र प्रतिलिपि, कृषि फार्म, समूह र सहकारीको हकमा दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा समूह र सहकारीको हकमा मकैको बीउ माग गर्ने सम्बन्धिको निर्णयको प्रतिलिपि समावेश गराउनुपर्ने गाउँपालिकाले जनाएको छ। कृषकको मागको आधारमा उन्नत देउती र मनकामना–३ जातको मकैको बीउ वितरण गरिने बताइएको छ।
कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षित तथा आत्मनिर्भर बनाउनुका साथै मकैको उत्पादनमा वृद्धि ल्याउन र स्थानीय उन्नत जातलाई प्रोत्साहन गर्ने उदेश्यले उन्नत मकैको बीउ वितरण गर्न लागिएको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले बताउनुभयो ।
कृषि क्षेत्रको विकास र कृषि उत्पादनलाई वृद्धि गर्नका लागि गाउँपालिकाले कृषि सम्बन्धि विभिन्न कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो।