• २४ माघ २०८१, बिहिबार

सडन डेथमा एनआरटीलाई हराउँदै चर्च ब्वाइज क्वार्टरफाइनलमा

blog

बल खोस्न प्रयास गर्दै एनआरटी र चर्च ब्वाइजका खेलाडी । तस्बिर : गोरखापत्र

माधवप्रसाद बराल

माछापुच्छ्रे (कास्की), माघ २४ गते । सडन डेथमा एनआरटी क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड पोखरामा जारी २४औँ आहा–रारा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

पोखरा रङ्गशालामा बिहीबार भएको रोमाञ्चक खेलमा चर्च ब्वाइजले एनआरटीलाई सडन डेथमा ६–५ गोलले हरायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समय हुँदै टाइब्रेकर र सडन डेथमा पुगेर सकिएको थियो । 

टाइब्रेकरमा ४–४ को बराबरी भएपछि खेल सडन डेथमा चर्च ब्वाइज भाग्यमानी बन्यो । सडन डेथमा चर्चका गोलरक्षकले तीन खेलाडीको प्रहार रोक्दा एनआरटीका गोलरक्षकले दुई वटामात्र रोक्न सफल भए ।

चर्च ब्वाइजका लागि नविन लामा, मिलन राई, अकिन्स बाफोर, अबायोमी फाकुन्ले, प्रशान्त लक्षम, टेकेन्द्र सिंह थापाले गोल गर्नुभयो । सकल रेग्मी, सर्जे डिका र राज भुषालको प्रहार विफल बनेको थियो । 

यस्तै एनआरटीका अन्जन विष्ट, जय गुरुङ, सुमित श्रेष्ठ, विशाल सुनार र राजिव लोप्चनले गोल गर्नुभयो । एञ्जल महर्जन, जन्मजय धामी, रिचार्ड विल्सन र माईकल मगरको प्रहार विफल बनेको थियो । 

यसअघि निर्धारित समयको २५औँ मिनेटमा एनआरटीका रिचार्डले गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभएको थियो । तर ६४औँ मिनेटमा चर्च ब्याइजका नवीन लामाले पेनाल्टीमार्फत् गोल गर्दै खेललाई बराबरमिा ल्याउनुभयो ।

त्यसपछि सडन डेथमा पुगेर चर्च ब्वाइजले बाजी मार्‍यो । तीन पेनाल्टी रोक्न सफल चर्च ब्वाइजका गोलरक्षक टेकेन्द्र सिंह थापा म्यान अफ दि म्याच घोषित हुनुभयो । चर्च ब्वाइजले सेमिफाइलन प्रवेशका लागि विभागीय टोली त्रिभुवन आर्मी क्बलसँग खेल्नेछ ।