• २४ माघ २०८१, बिहिबार

ग्लोबल आइएमई बैंक र राष्ट्रिय फोटोपत्रकार समूहबिच क्यामेरा खरिदका लागि सम्झौता

blog

क्यामेरा खरिदका लागि राष्ट्रिय फोटोपत्रकार समूह नेपाल र ग्लोबल आइएमई बैंक लिमिटेडबिच सम्झौता । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, माघ २४ गते । राष्ट्रिय फोटोपत्रकार समूह नेपालमा आबद्ध भएका देशैभरिका सदस्यहरूले ग्लोबल आइएमई बैंक लिमिटेडको सहयोगमा क्यामेरा खरिदका लागि बिना धितो ऋण पाउने भएका छन् ।

बिहीबार एक कार्यक्रमका बिच बैंकका हेड ट्रान्जेक्सन प्रकाश पौडेल र एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । क्यामेरा खरिदका लागि दुई लाखदेखि पाँच लाख रुपियाँसम्म ऋण दिने गरी समझदारी भएको हो ।

बैंकले फोटो पत्रकारहरूलाई क्यामेरा खरिद गर्न सजिलो किस्ता योजनामा सुविधा उपलब्ध गराउन लागेको हो । ऋण लिनका लागि आवश्यक कागजातहरू नागरिकता, तलब प्रमाणपत्र र आय कागजात, बैंक स्टेटमेन्ट, फोटो र आवेदन फारम सङ्कलन गरी बैंकलाई एनएफपिजे मार्फत समन्वय र सहजीकरण गरिने छ ।

छ महिनादेखि १८ महिनासम्म सरल किस्ताबन्दीमा न्यूरोडस्थित जि एन्ड डी सप्लार्यसबाट फोटोपत्रकारले क्यामेरा खरिद गर्न पाउने भएको हो । क्यामेरा खरिदका लागि बिना धितो शून्य ब्याजदरमा बैंकले फोटोपत्रकारलाई उक्त ऋण उपलब्ध गराउने भएको हो । उक्त हस्ताक्षर कार्यक्रममा बैंकको तर्फबाट रमित कर्मचार्य र एनएपपिजेको तर्फबाट महासचिव घनस्याम श्रेष्ठ रहनुभएको थियो ।

राष्ट्रिय फोटोपत्रकार समूह केन्द्रीय कार्यालयको आधिकारीक सिफारिसको साथै फोटोपत्रकारहरूको सस्थागत सिफारिसमा क्यामेराका लागि ऋण लिन पाउने छन् ।