तनहुँ समाचारदाता
तनहुँ, माघ २४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न दबाब सिर्जना गर्नुपर्ने बताउनुभएको छ । तनहुँको देवघाटधाममा जारी देवघाट महामहोत्सवमा मङ्गलबार सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सनातन धर्ममाथि अतिक्रमण बढेकाले हिन्दु राष्ट्र कामय गरिनुपर्ने बताउनुभयो ।
देशका ८० प्रतिशत जनता हिन्दु राष्ट्रको पक्षमा रहेको हुँदा नेपाललाई हिन्दु राष्ट्र बनाउनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले दबाब दिँदै आएको स्पष्ट पार्नुभयो । उहाँले राजनीति र धर्म अलग अलग विषय नभएको तर्क पनि गर्नुभयो । उहाँले भन्नुभयो “राजनीति र धर्मलाई अलग अलग बनाएकाले देशमाथि बाह्य हस्तक्षेप बढ्दै गएको छ । राजनीति र धर्मलाई सँगै लिएर जानु पर्छ ।”
अध्यक्ष लिङ्देनले धर्मसहितको राजनीतिले मात्र देशको भलो हुने दाबी पनि गर्नुभयो । उहाँले धर्म निरपेक्षताको आडमा सनातन धर्ममाथिको अतिक्रमण सुरु भएको धारणा व्यक्त गर्नुभयो । उहाँले अहिले पाथीभरामा देखिएको व्यापारिक हस्तक्षेप धर्ममाथिको अतिक्रमण भएको टिप्पणी गर्नुभयो । अध्यक्ष लिङ्देनले ईश्वरकृष्ण महाराजको सङ्कल्पमा भएको देवघाट महामहोत्सवले सनातनी धर्मको रक्षा र संवर्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि बताउनुभयो । सरकारले नै गर्नुपर्ने मातापिता आश्रम स्थापनाको कार्य ईश्वरकृष्ण महाराजको सङ्कल्पमा भइरहेको हुँदा सबैले मद्दत गर्न पनि उहाँले आग्रह गर्नुभयो ।