हरिकृष्ण ऐडी
मुगु, माघ २४ गते । जडीबुटी उत्पादनको धनी जिल्ला भनेर चिनिने मुगुमा अहिले जडीबुटी उत्पादनमा कमी आएको छ । जिल्लाका पाटन क्षेत्र र सामुदायिक वनमा जडीबुटी कम पाइन थालेपछि यसमा निर्भर स्थानीयको आम्दानी पनि घट्दै गएको छ ।
जिल्लाको सोरु गाउँपालिका, खत्याड गाउँपालिका, छायानाथ रारा नगरपालिका र मुगमकार्मारोङ गाउँपालिकाका सामुदायिक वन र पाटन क्षेत्रमा जडीबुटी घट्न थालेको हो । यहाँ पाइने गुच्ची च्याउ, कटुकी, यार्चागुम्बा, अतिस, वनलसुन, विषजरा, पदमचाल, सेतकचिनी, सुगन्धवाल, सुनपाती, पाँचऔँले, सतुवा जस्ता जडीबुटी पर्याप्त मात्रामा नपाइएपछि यसमै निर्भर भएकाको दैनिक घरखर्चको जोहो गर्नसमेत गाह्रो परेको छ ।
छायानाथ रारा नगरपालिका–६ का धर्मबहादुर ऐडीका अनुसार आफूहरूको प्रमुख आयस्रोत भनेकै जडीबुटी भएको र अहिले यसको उत्पादन कम भएपछि समस्या परेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “जडीबुटी बिक्रीबाट घरखर्च, बालबालिकालाई पढाइदेखि औषधीखर्चसम्म सहजै पुग्थ्यो तर पछिल्लो दुई/तीन वर्षयता पाटन क्षेत्र र जङ्गलमा जडीबुटी उत्पादनमा कमी भएको छ । जडीबुटीले नै घरपरिवार धानेको जीवन जडीबुटीमा काम नपाएपछि घरपरिवारको जोहो गर्न छिमेकी राष्ट्र भारत जानुपर्ने अवस्था आएको छ ।”
जिल्लाबाट आर्थिक वर्ष २०८०/८१ यता २६ हजार किलो जडीबुटी निर्यात भएको तथ्याङ्क छ । जसबाट एक लाख ८२ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । छायानाथ रारा नगरपालिका–१० का स्थानीय बिर्खबहादुर बुढाका अनुसार पाटन र जङ्गलमा जडीबुटी उत्पादनमा कमी आएपछि घरको अन्य आम्दानी स्रोत नभएकाले सुर्खेतमा ७ कक्षासम्म सामुदायिक विद्यालयमा पढाउँदै गरेको छोरा नयाँ शैक्षिक सत्रबाट मुगुमै पढाउने योजनामा हुनुहुन्छ ।
स्थानीय जडीबुटी व्यापारी पञ्चबहादुर ऐडीले ग्रामीण बस्तीमा पहिलेको जस्तो पर्याप्त मात्रामा जडीबुटी नपाउने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मुस्किलले छ देखि आठ क्विन्टलसम्म जडीबुटी पाउने गरेको छ, सम्बन्धित निकायले जडीबुटी उत्पादनसम्बन्धी दिगो विकासको रणनीति ल्याउन जरुरी छ ।”
यता जिल्ला डिभिजन वन कार्यालयका अनुसार जडीबुटी उत्पादन र संरक्षणका निम्ति डिभिजन वन कार्यालयले हरेक वर्ष समुदायका अगुवा व्यक्तिलाई क्षमता विकाससम्बन्धी तालिम दिदैँ आएको छ ।
डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख गोविन्द महतका अनुसार छिमेकी जिल्ला हुम्ला र जुम्लाका स्थानीयले जडीबुटी चोरीनिकासी गर्नाले र जडीबुटी पाक्ने समयमा सङ्कलन नगरी असार र साउनमा सङ्कलन गर्नाले उत्पादनमा कमी आएको छ । उहाँले भन्नुभयो, “बेमौसममा जडीबुटी सङ्कलन र चोरीनिकासी जस्ता कार्यमा र जडीबुटी संरक्षणका लागि समुदायले पनि सहयोग गर्न आवश्यक छ ।”