रामपुर समाचारदाता
रामपुर, माघ २४ गते । चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा भएको खुला लोकदोहोरी प्रतियोगिताको उपाधि नमस्ते होटेल पाल्पाले जित्न सफल भएको छ । फाइनलमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पालाई पछि पार्दै नमस्ते होटेलको समूह उपाधि विजेता बनेको हो । लोकदोहोरी गीतको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यका साथ गत माघ १७ देखि मेलामा प्रतियोगिता सुरु भएको थियो । नमस्ते होटेलका तर्फबाट दीपेन्द्र पौडेल र सीता भण्डारीले प्रतिस्पर्धा गर्नुभएको थियो । यसै गरी पृथ्वी टेलिभिजन रामपुर र होटेल श्रीनगर रामपुर तेस्रो भएका छन् ।
राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान केन्द्रीय अध्यक्ष नारायण खनाल ‘लेकाली’ ले लोकदोहोरी उर्वर भूमिको पहिचान बनाएको रामपुरमा लोकदोहोरी गीतको परम्परागत मौलिकपनको जगेर्ना गरी नयाँ प्रतिभालाई उजागर गर्ने विश्वासका साथ प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो । रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले दोहोरीको मौलिकपन जोगाउँदै नयाँ प्रतिभालाई प्रोत्साहन गर्न सङ्घले मेलामा लोकदोहोरी प्रतियोगितालाई समेट्दै आएको बताउनुभयो ।