काठमाडौँ, माघ २१ गते । पुष्पराज स्मृति राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पहिलो संस्करण माघ २४ देखि २६ सम्म हुने भएको छ ।
खोल्छा पुखु खेलकुद समितिको आयोजनामा हुन लागेको प्रतियोगितामा करिब एक सय ५० खेलाडीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
प्रतियोगितामा पुरुष र महिला एकल, भेट्रान ४०, ५० र ६० वर्षमाथिको पुरुष एकल स्पर्धा समावेश गरिएको छ । पुरुष र महिला एकलतर्फको विजेताले क्रमश: ३० र १५ हजार तथा सेमिफाइनलमा पराजित हुनेले ७५ सय रुपियाँ पुरस्कार पाउनेछन् ।
अन्य स्पर्धाका विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमश: १० हजार पाँच हजार र २५ सय रुपियाँ प्रदान गरिनेछ । प्रतियोगिता आयोजनाका लागि सोमबार नै ललितपुर महानगरपालिका वडा नम्बर–११ का अध्यक्ष अरोजकुमार खड्गी र प्रतियोगिताका सह–संयोजक नदिमरत्न शाक्यबिच सम्झौता भएको छ ।
सम्झौताअनुसार ललितपुर–११ ले प्रतियोगिता सञ्चालनका लागि आठ लाख ५० हजार रुपियाँ उपलब्ध गराउनेछ । प्रतियोगितालाई ललितपुर जिल्ला टेबल टेनिस सङ्घले प्राविधिक सहयोग गर्नेछ ।