सुनसरीको गढी गाउँपालिका सदरमुकाम इनरुवासँगै जोडिएको स्थानीय तह हो । साबिकका मधेली, औरावनी, छिटाहा र सतेरझोडा गरी चार वटा गाविस मिलाई गढी गाउँपालिका गठन गरिएको हो । हाल यहाँ छ वटा वडा रहेका छन् । जम्मा क्षेत्रफल ६७.७ वर्ग किलोमिटरमा फैलिएको गाउँपालिकाको पूर्वमा दुहबी नगरपालिका, पश्चिममा इनरुवा नगरपालिका, दक्षिणमा बर्जु गाउँपालिका र उत्तरमा इटहरी उपमहानगरपालिकासँग सिमाना जोडिएको छ । यहाँ २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) बाट विजयी हुनुभएका आशनारायण चौधरी अध्यक्ष हुनुहुन्छ । उहाँसँग गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादवले गर्नुभएको कुराकानी :
यहाँले निर्वाचनका क्रममा जनतासँग गर्नुभएका प्रतिबद्धता के कति पूरा गर्नुभएको छ ?
मैले निर्वाचनको क्रममा जनतासँग गरिएका प्रतिबद्धता अनुसार नै काम गर्दै छु । केही प्रतिबद्धता पूरा भएका छन् । केही हुने क्रममा छन् । भौतिक पूर्वाधार विकास, कृषि, स्वास्थ्य, शिक्षा, युवा स्वरोजगार, पर्यटनलगायतका क्षेत्रको विकास र विस्तार गर्ने छु भनेर गरेको वाचा क्रमशः पूरा गर्दै आएको छु । गाउँपालिकाभित्रका कच्ची बाटोलाई कालोपत्रे, ढलान तथा स्तरोन्नति गर्ने काम भइरहेको छ ।
यहाँको कृषि उत्पादन वृद्धिका लागि धान र मकैको पकेट क्षेत्र छुट्याइएको छ । खाद्यान्न, तरकारी तथा दलहन बालीको उत्पादन वृद्धिमा जोड दिइएको छ । साथै कृषि सामग्री, मलखाद र उन्नत बिउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराउँदै आएका छौँ । अभावका बिचमा पनि मल आपूर्तिमा पालिकाले विशेष भूमिका निर्वाह गरिरहेको छ । निर्वाहमुखी कृषिबाट व्यवसायीमुखी कृषिको विकास गर्न यान्त्रिकीकरणमा जोड दिँदै आएका छौँ । स्थानीय उत्पादनलाई बजारीकरण गर्न हाटबजार व्यवस्थापन गरिएको छ । भूमिगत पानी तान्ने पम्पसेट, डिप बोरिङको व्यवस्था र खनजोतका लागि समेत उपकरण, विषादी छर्ने स्प्रे मेसिन वितरणको व्यवस्था मिलाइएको छ । मूल बिउ उत्पादन तथा प्रशोधनमा पनि काम अगाडि बढाएका छौँ ।
यहाँले आफ्नो गाउँपालिका अध्यक्षको पदभारग्रहण गर्दाको अवस्था र अहिले काम गर्दाको अवस्थामा के फरक पाउनुभयो ?
हामी निर्वाचित भएर आउँदै गर्दा धेरै नै काम गर्ने इच्छा, जोश र जाँगर बोकेर आएका थियौँ । अहिले काम गर्दै जाँदा हाम्रो सीमित स्रोतसाधनका भरमा स्थानीवासीको असीमित आवश्यकता र चाहन पूरा गर्न नसकिने रहेछ भन्ने बुझ्न थालेका छौँ तर पनि आफूलाई जनताको सेवकका रूपमा सम्झेर आएकाले सकेसम्म भएका स्रोतसाधनको अधिकतम सदुपयोग गरेर सेवा दिएकोमा भने सन्तोष लागेको छ । गाउँवासी र कर्मचारीसमेतको साथ र सहयोग मिलिरहेकाले सहज रूपमा काम भइरहेको छ ।
गाउँपालिकामा शिक्षा र स्वास्थ्य क्षेत्रमा के कस्ता सुधार भएका छन् ?
स्वास्थ्य क्षेत्रको कुरा गर्दा साबिकको चार गाविसबाहेक अहिलेको छ वटै वडामा स्वास्थ्यकर्मीसहितको स्वास्थ्य केन्द्रको विस्तार भएका छन् । सबै केन्द्रमा नियमित सेवा, उपचार र निःशुल्क औषधी वितरण गरिएको छ । विगतमा यहाँको प्राथमिक स्वास्थ्य केन्द्र सतेरझोरा भुतबङ्गला जस्तो बनेर रहेको अवस्थामा अहिले चिकित्सकको सेवा, निःशुल्क औषधी, प्रसूति सेवासहितको सेवा प्रवाह हुन थालेको छ ।
साथै इटहरी आँखा अस्पतालसँग समन्वय गरेर आँखासम्बन्धी सेवा र अन्य अस्पतालसँगको समन्वयमा स्वास्थ्य शिविर सञ्चालनलगायतका काम पनि गर्दै आएका छौँ । गाउँपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गर्न सफल भएका छौँ । शिलान्यास भएर अगाडि नबढेको १५ शय्याको अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढाउने र एक वर्षभित्रै सञ्चालनको तयारीमा हामी छौँ ।
शिक्षा क्षेत्रको कुरा गर्दा कतिपय विद्यालयमा विषयगत शिक्षक अभावले अध्यापन प्रभावित भइरहेको अवस्थामा गाउँपालिकाले आन्तरिक व्यवस्थापन गरेको छ । यहाँको सरस्वती मावि औरावनीमा प्राविधिक धारको कक्षा, जनता मावि सतेरझोडामा कक्षा ११ को पढाइ सुरु गरेका छौँ । आधारभूत र माध्यमिक विद्यालयमा विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्थापन गरेका छौँ । सामुदायिक विद्यालयमा भौतिक तथा शैक्षिक वातावरण सन्तुलन राख्ने काम गरेका छौँ । पाँच वर्षसम्मका बालबालिकाको पोषण जाँच गरी कुपोषित बालबालिकालाई स्वस्थ बनाउन विभिन्न कार्यक्रम गरिएको छ ।
पशुपालक किसानका लागि के कस्तो योजना ल्याउनुभएको छ ?
कृषिसँगै पशुपालक किसानका हितमा पनि योजना ल्याएका छौँ । उन्नत जातको खसीबोका र गाईभैँसीमा कृत्रिम गर्भाधान कार्यक्रम ल्याएका छौँ । पशुमा बन्ध्याकरण, मेडिकल उपचार गर्ने, प्राविधिक सेवा उपलब्ध गराउने, माइनर सर्जिकल उपचारका साथै गाइनोलोजिकल उपचार सेवा प्रदान गरिँदै आएको छ । प्रयोगशाला परीक्षण कार्यक्रम, इपिडिमियोलोजिकल रिर्पोटिङ नमुना सङ्कलन, खोप कार्यक्रम, पिपिआर, खोरेत, क्लासिकल स्वाइन फिभर, रेबिज खोपसहित किसानको माग अनुसार पशु स्वास्थ्य शिविर कार्यक्रम, महामारी रोग नियन्त्रणसहितको काम पनि हामीले गरेका छौँ ।
भौतिक पूर्वाधारतर्फ के कस्ता योजना अगाडि बढाउनुभएको छ ?
हामीले वार्षिक पाँच किलोमिटर सडक कालोपत्रे गर्ने, १० किलोमिटर सडक ग्राभेल गर्ने काम योजना अनुसार अगाडि बढाएका छौँ । दातृ निकायको साझेदारीमा सुरक्षित आवास निर्माण कार्यक्रम अन्तर्गत २० वटा घर निर्माण गरी मुसहर, दलित, सुकुमवासीलाई हस्तान्तरण गर्ने क्रममा छौँ । त्यसै गरी वडा कार्यालय भवन निर्माण, गाउँपालिकाको प्रशासनिक भवनको माथिल्लो तला थप्ने काम पनि भएको छ । बालविकास केन्द्र भवन निर्माणसहितको काम भएको छ । यस्ता भौतिक संरचनाले जनताले प्रत्यक्ष लाभ लिइरहेका छन् ।
गाउँपालिकाको आन्तरिक स्रोत के कस्तो रहेको छ ?
गाउँपालिकाको आन्तरिक स्रोत त्यति धेरै छैन । साना हाटबजारको ठेक्का, घरजग्गा राजस्व, उद्योगको कर, घरबहाल तथा व्यवसाय कर हुन् । जुन अत्यन्तै न्यून छ ।
यहाँका दलित, सुकुम्बासी तथा विपन्न नागरिकका समस्यालाई कसरी हेर्नुभएको छ ?
हाम्रो गाउँपालिकामा दलित, विपन्न तथा गरिब वर्गको पनि बाहुल्य छ । उनीहरूको उत्थानका लागि सुरक्षित आवास कार्यक्रमदेखि विभिन्न प्रकारका सहयोगात्मक कार्य गरिरहेका छौंँ । त्यस्तै लैङ्गिक हिंसा न्यूनीकरण अभियान, नारी दिवस, बालविवाहमुक्तसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिरहेका छौँ । विपन्न, गरिब, दलित, अपाङ्गता भएका तथा सीमान्तकृत समुदायका नागरिक बिरामी भएको खण्डमा आकस्मिक सेवामा सहयोग गर्दै आएका छौँ ।