• १९ माघ २०८१, शनिबार

माघमै फुल्न थाल्यो गुराँस

blog

हेटौँडा समाचारदाता

हेटौँडा, माघ १९ गते  । मकवानपुरको भीमफेदीस्थित अघोर क्षेत्र, थाहा नगरपालिकाको सिमभन्ज्याङ, दामन र बकैयाको जितपुरभन्ज्याङ क्षेत्रमा यस पटक गुराँस फुल्न थालेका छन् । 

स्थानीयवासीको अनुसार फागुन–चैतदेखि फुल्ने गुराँस पछिल्लो समय मङ्सिरको अन्तिमदेखि नै फाटफुट फुलेको देखिन थालेको छ । पछिल्लो समय जलवायु परिवर्तनले वनस्पतिको जीवनचव्रmमा पारेको प्रभावका कारण पनि समय अगावै गुराँस फुल्न थालेको बताइन्छ । दामनका स्थानीय राजेन्द्र भुजेलले भन्नुभयो, “पहिले पहिलेको जस्तो लालीगुराँस फुल्न छोड्यो, रुख बुढो हुँदै गए । नयाँ बिरुवाको संरक्षण भएको छैन ।” दामनका स्थानीय सुरज अधिकारीले विगतको तुलनामा दामनमा गुराँस लोप हुँदै गएको बताउनुभयो । 

उच्च भाग र चिसो ठाउँमा पाइने गुराँस उचाइ, आद्र्रता, चाप, पानी, सुक्खा र माटोको प्रकृतिका आधारमा पनि ढिलोचाँडो फुल्ने गरेको वनस्पति कार्यालयका प्रमुख रघुराम पराजुलीले बताउनुभयो । जलवायु परिवर्तनका कारण वनस्पतिको जीवनचव्रmमा देखिएको फेरबदलले गुराँस फुल्ने समयमा परिवर्तन भएको उहाँको भनाइ छ ।  जिल्लामा पाइने गुराँसको अध्ययन, अनुसन्धान नभए पनि यहाँ करिब आधा दर्जन प्रजातिको रातो, सेतो र दुर्लभ तथा लोपोन्मुख चिमाल प्रजातिको गुराँस भेटिएको छ । यहाँको पर्वतीय वनस्पति उद्यान, दामनले गुराँसको संरक्षण र प्रवर्धन गरिरहेको छ ।

समुद्री सतहबाट गुराँस एक हजार ३०० देखि चार हजार ६०० मिटरको उचाइमा गुराँस फुल्ने गर्छ । दामनको मुख्य आकर्षणको रूपमा रहेको गुराँस फुलेपछि डाँडाकाँडा नै रङ्गिन र मनमोहक हुन्छ । नेपालका ४३ जिल्लामा ३३ प्रजातिको गुराँस पाइने गरेको एक अध्ययनले देखाएको छ ।