काठमाडौँ, माघ ३० गते । उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेको छैन । सरकारले उपेक्षित रोगलाई प्रथामिकतामा राख्न नसक्दा बेला बेलामा यस्ता रोग जनस्वास्थ्यको समस्याका रूपमा देखापर्ने गरेको छ ।
जलवायु परिवर्तन र सरकारले बेवास्ता गरेकै कारण नेपालमा उन्मूलन भइसकेको भनिएको कालाजार, औलोलगायत रोगहरू बेला–बेला जनस्वास्थ्यका समस्याका रूपमा देखिने गर्छन् ।
सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले उपेक्षित उष्णप्रदेशीय रोगलाई बेवास्ता गर्दा बेलाबेलामा जनस्वास्थ्यको समस्याका रूपमा देखा पर्ने बताउनुहुन्छ ।
डा.पुनका अनुसार यस्ता रोगहरू अफ्रिकी देश र हाम्रो जस्तो मुलुकमा प्रत्येक वर्ष देखिए पनि धेरैले चासो दिएको पाइँदैन । व्यक्ति स्वयंले यो रोगलाई उपेक्षा गर्ने गरेको डा.पुनको भनाइ छ ।
यस्ता रोग नेपालमा बर्सेनी देखिए पनि सरकारले बजेटमा समेट्न नसकेको गुनासो डा.पुनको छ ।
यस्ता रोग निवारण वा रोकथामा गर्न विदेशी सहयोगको भर पर्नुभन्दा पनि सरकारले रोगलाई सम्बोधन गर्ने गरी बजेट छुट्याउन सके अझ प्रभावकारी हुने डा.पुनको धारणा छ ।
उहाँ भनुहुन्छ, “उपेक्षित रोग सरकारको प्राथमिकतामा पर्न सकेको छैन । यी रोग कुनै पनि बेला जनस्वास्थ्यका रूपमा देखा पर्न सक्छ । सरकारले यस्ता रोगलाई निवारण वा रोकथामतिर ध्यान दिन जरुरत छ ।”
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.यदुचन्द्र घिमिरेले नेपालमा ११ रोगलाई उपेक्षित उष्णप्रदेशीय रोगका रूपमा राखिएको छ । कालाजार, कुष्ठरोग, हात्तीपाइले, डेंगु, रेबिज, सर्पदंश, माटोबाट सर्ने जुका र ट्रकोमालाई सरकारले प्राथमिकतामा राखेको डा.घिमिरेको भनाइ छ ।
नेपालबाट केही रोगहरू जनस्वास्थ्य समस्याको रूपबाट निवारण गरिएको डा.घिमिरे बताउनुहुन्छ । उहाँका अनुसार केही रोगहरू निवारण, केही रोकथाम तथा नियन्त्रणको रणनीति अनुसार काम भइरहेको उहाँको भनाइ छ । नेपालले सन् २०१८ मा ट्रकोमा निवारण गरिसकेको छ । कालाजार सन् २०२६ र हात्तीपाइले, कुष्ठरोग रेबिजलाई सन् २०३० भित्र निवारण गर्ने सरकारको लक्ष्य छ ।
यो कस्तो रोग हो
उपेक्षित रोग भन्नाले सामान्यतः सबै तहबाट बेवास्ता गरिएका रोग भनेर बुझिन्छ । उपेक्षित रोग गर्मी देशमा देखिने गर्छ । विश्व स्वास्थ्य सङ्गठनले २१ प्रकारका रोगलाई उपेक्षित रोगको सूचीमा सूचीकृत गरेको छ । यी रोगहरूले विश्वव्यापी रूपमा एक अर्बभन्दा बढी मानिसलाई असर पर्ने तथ्याङ्कमा उल्लेख छ । सरुवारोग विशेषज्ञ डा.पुनका अनुसार यी रोगहरू विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया, परजीवी, ढुसी र विषाक्त पदार्थका कारणले लाग्ने गर्छन् ।
सरसफाइको कमी र रोगबाहेक सङ्क्रामक कीटहरू, घरपालुवा जनावरहरु र पशुहरूसँग नजिकको सम्पर्कमा रहने व्यक्ति, प्रायःजसो गरिबीको रेखामुनि रहेका मानिस बढी जोखिममा रहने चिकित्सक बताउछन् ।
नेपालमा पाइने ११ वटा उपेक्षित रोगमा डेंगु र चिकेनगुनिया, रेबिज, कुष्ठरोग, ट्रकोमा, माटोबाट सर्ने जुका, सर्पदंश, लुतो अन्य इक्टोपारासाइट, हात्तीपाइले, फित्तेजुका र न्युरोस्टाइसर्कोसिस, कालाजार, माइसेटोमा, क्रोमोब्लास्टोमाइकोसिस र अन्य डीप माइक्रोसेस पर्छन् ।
उपेक्षित रोगको अवस्था
कालाजार
पछिल्लो दुई दशकमा कालाजारका बिरामीको सङ्ख्यामा ९० प्रतिशतले कमी आएको छ । सन् २०२४ को तथ्याङ्क अनुसार नेपाल निवारणको लक्ष्यतर्फ उन्मुख छ ।
कुष्ठरोग
सन् २०१० मा राष्ट्रिय स्तरबाट जनसङ्ख्या समस्याको रूपमा निवारणको घोषण गरिसकेको छ । आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रिय स्तरमा कुष्ठरोगको प्रिभ्यालेन्स दर प्रति दस हजार जनसङ्ख्या ०.९२ रहेको र दुई हजार ४७२ नयाँ कुष्ठरोगका बिरामी पहिचान भएका थिए ।
हात्तीपाइले
६४ वटा हात्तीपाइलेको आम औषधी सेवन गरी ५३ वटा जिल्लामा सङ्क्रमणदरको अध्ययन गरी आम औषधी सेवन कार्यक्रम बन्द गरिसकिएको छ । ५८ जिल्लाबाट हात्तीपाइलेका बिरामी भए नभएको तथ्याङ्क सङ्कलन गरिएको छ । हालसम्म हात्तीपाइलेको कारणबाट ४७ हजार ८८६ जनामा शारीरिक समस्या भएको तथ्याङ्कमा उल्लेख छ ।
डेंगु
सन् २००४ मा डेंगुको पहिलो केस पुष्टि भएको देखिएयता प्रत्येक वर्ष बिरामीको सङ्ख्या बढ्दो छ । सन् २०२४ मा ७६ वटा जिल्लाबाट डेंगु प्रतिवेदन भएको र देशभर ४१ हजार ८६५ व्यक्तिमा सङ्क्रमण भई १५ जनाको मृत्यु भएको थियो । सरकारले डेंगु रोकथाम तथा नियन्त्रणको लक्ष्य लिएको छ ।
रेबिज
नेपालले कुकुरको टोइबाट हुने रेबिजलाई सन् २०३० सम्म शून्यमा पुर्याउने लक्ष्य लिएको छ । गत आर्थिक वर्षमा जनावरको टोकाइबाट अस्पताल आउने बिरामीको सङ्ख्या दुई लाख १८ हजार ४८२ प्रतिवेदन भएको छ । नेपालले कुकुरको टोकाइबाट हुने रेबिजलाई सन् २०३० सम्म शून्यमा पुर्याउने लक्ष्य राखेको छ ।
सर्पदंश
आर्थिक वर्ष २०८०/८१ मा आठ हजार १८१ सर्पदंशका केसहरू पुष्टि भएका थिए । जसमध्ये एक हजार ४८८ व्यक्तिलाई विषालु सर्पले डसेको थियो । देशभर ११० वटा केन्द्रमार्फत सर्पदंशको उपचार हुने गरेको छ । सर्पदंशलाई नियन्त्रण गर्ने सरकारले लक्ष्य लिएको छ ।
माटोबाट सर्ने जुका
सरकारले माटोबाट सर्ने जुका नियन्त्रण गर्ने निर्णय लिएको छ । आर्थिक वर्ष २०८०/८१ मा पाँच लाख ४३ हजारभन्दा बढीमा जुकाको सङ्क्रमण देखिएको छ ।
ट्रकोमा
सरकारले ट्रकोमालाई जनस्वास्थ्य समस्याको रूपबाट निवारण गरिसकेको छ ।