• १८ माघ २०८१, शुक्रबार

‘कर प्रणाली सुधारमा सिएको भूमिका महत्वपूर्ण’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १८ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सही दिशामा चलायमान गराउन र वित्तीय अनुशासन कायम गर्न चार्टर्ड एकाउन्टेन्ट (सिए) को भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को २८औँ वार्षिकोत्सवका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले वित्तीय लेखाजोखा ठिक भएको खण्डमा वित्तीय सुशासन आफैँ सही ठाउँमा आउने भएकाले सार्वजनिक वित्त व्यवस्थापन सुधारमा सिएको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो । 

मुलुकको कर प्रणालीमा सुधार र राजस्व अभिवृद्धिका लागि चार्टर्ड एकाउन्टेन्टसँग महत्वपूर्ण सहकार्यको अपेक्षा रहेको उहाँले बताउनुभयो । 

कर र राजस्वको क्षेत्रमा आवश्यकता अनुसार काम हुन नसकेको बताउँदै उहाँले कर प्रणालीमा चाहे अनुसारको सुधार गर्न नसकेको भन्दै व्यवसायीहरूले कर छल्न नसक्नेखालको कर प्रणाली स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । करमा सुधार र राजस्व वृद्धिको कुरा गरिरहे पनि पछिल्ला कतिपय तथ्याङ्कहरूले यस्तो नदेखाएको उहाँले बताउनुभयो । “कर प्रणालीमा सुधारको कुरा गर्छौ । तर त्यसमा चाहे अनुसारको सुधार गर्न सकिरहेका छैनौँ,” उहाँले भन्नुभयो, “कुनै पनि व्यवसायीले कर छल्न नसक्ने र औचित्यमा आधारित कर प्रणाली स्थापित गर्ने सन्दर्भमा हामीले अझै धेरै काम गर्न बाँकी छ ।” पुँजी बजारलाई दिगो, भरपर्दो र विश्वसनीय तरिकाले अगाडि बढाउन र कुनै पनि प्रकारका ‘चिटिङ’ लाई प्रवेश हुन नदिनका लागि आइक्यानले आफ्नो ठाउँबाट भूमिका खेल्न उहाँले आग्रह गर्नुभयो ।

सरकारले देशको अर्थतन्त्रको अगाडि आएका समस्यालाई समाधान गर्नका लागि एकसाथ २९ वटा कानुन संशोधन गर्न अध्यादेश ल्याएको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय सरकारले अर्थतन्त्रका समस्यालाई बिस्तारै समाधान गर्दै अगाडि बढ्न चाहिरहेको भन्दै उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन, लगानी र उत्पादन बढाउन, रोजगारी अभिवृद्धि गर्न प्रयास गरिरहेको बताउनुभयो ।

महालेखा नियन्त्रक डा. गणेशप्रसाद पाण्डेले अर्थतन्त्र विकासका लागि वित्तीय प्रणालीको सुधारका लागि चार्टर्ड एकाउन्टेन्टहरूको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

विश्वमै चार्टर्ड एकाउन्टेन्ट एउटा प्रतिष्ठित व्यवसाय भएको भन्दै उहाँले सरकारको प्रतिनिधि र कर अधिकृतका रूपमा रहेको उहाँको भनाइ थियो ।

आइक्यानका अध्यक्ष प्रवीणकुमार झाले लेखा, लेखा परीक्षण तथा करलगायत विषयमा चार्टर्ड एकाउन्टेन्टले गहन अध्ययन र सोही क्षेत्रमा तालिम तथा व्यावसायिक अनुभव प्राप्त गर्ने हुनाले चार्टर्ड एकाउन्टेन्टलाई विज्ञका रूपमा हेरिँदै आइएको बताउनुभयो । चार्टर्ड एकाउन्टेन्टले सरकारका विभिन्न निकायको लेखा परीक्षण तथा परामर्शसम्बन्धी सेवा दिँदै विभिन्न अध्ययन तथा छानबिनसम्बन्धी समितिमा रहेरसमेत काम गरिरहेको उहाँले बताउनुभयो ।

आइक्यानका उपाध्यक्ष निलबहादुर सारूमगरले नेपालमा पनि ठुल्ठूला काम गर्ने फर्महरूको सञ्चालनका लागि सरकारले सहजीकरण गरिदिनुपर्ने बताउनुभयो । कार्यक्रममा संस्थामा २० वर्षभन्दा बढी अवधि सेवा प्रदान गर्ने कर्मचारीहरूलाई सम्मान गरिएको थियो । यस्तै संस्थामा उत्कृष्ट सेवा प्रदान गर्ने कर्मचारीहरूलाई पनि नगद पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था अर्थात् इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल विशेष ऐन “नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन–२०५३ अन्तर्गत स्थापना भएको नियमनकारी निकाय हो । यसले नेपालमा लेखासम्बन्धी पेसा तथा शिक्षालाई नियमित गर्न नियमनकारी निकायका रूपमा कार्य गर्दै आएको छ ।