काठमाडौँ, माघ १८ गते । वैदेशिक रोजगारीका नाममा हुने ठगी बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को छ महिनामा दुई हजार ६२९ जना ठगिएकामा चालु आवको सोही अवधिमा तीन हजार ४०५ ठगीका घटना दर्ता भएका छन् । समीक्षा अवधिमा ठगीका उजुरी ७७६ वटाले बढेको हो ।
वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दाजुभाइ, दिदीबाहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीलगायतबाट ठगिने गरेका छन् ।
विभागका अनुसार चालु आवमा वैदेशिक रोजगारीका क्रममा २४ करोड ६७ लाख ३२ हजारभन्दा बढी ठगिएको दाबीसहित उजुरी परेको छ । विभागमा परेका उजुरीमध्ये ठुलो सङ्ख्या व्यक्तिगत प्रकृतिका छन् ।
उजुरीको फस्र्योट घट्यो
विभागका अनुसार वैदेशिक रोजगारीमा भएका ठगीसम्बन्धी उजुरीको फस्र्योट गत आवको तुलनामा आठ प्रतिशतले घटेको छ । चालु आवको छ महिनामा तीन हजार ४०५ उजुरी दर्ता भएकामा एक हजार २३० वटा (३६.१२ प्रतिशत) मात्र फस्र्योट भएका छन् । गत आवको सो अवधिमा विभागमा दर्ता भएका दुई हजार ६२९ उजुरीमध्ये एक हजार १८१ वटा (४४.९२ प्रतिशत) फस्र्योट भएका थिए ।
चालु आवमा एक हजार २३० उजुरी फस्र्योट हुँदा विभागले २४ करोड ६७ लाख ३२ हजार ६६० रुपियाँ क्षतिपूर्ति भराएको छ । गत आवको सो अवधिमा एक हजार १८१ वटा उजुरी फस्र्योट हुँदा विभागले १४ करोड नौ लाख १८ हजार छ सय रुपियाँको क्षतिपूर्ति भराएको थियो । चालु आवमा उजुरीको सङ्ख्या र क्षतिपूर्ति रकम धेरै भए पनि उजुरी फस्र्योट दर भने गत आवभन्दा घटेको देखिएको छ ।
विभागका अनुसार सो अवधिमा उजुरी परेकामध्ये सबैभन्दा धेरै मुद्दा शाखामा दुई हजार १६ वटा उजुरी दर्ता भएका छन् । सो शाखामा दर्ता भएका उजुरीमध्ये ३९५ वटा (१९.५९ प्रतिशत) मात्रै फस्र्योट भएका छन् । ती उजुरी फस्र्योट गराउँदा १९ करोड ६७ लाख ९९ हजार ११० बराबरको क्षतिपूर्ति भराएको विभागले जनाएको छ ।
गत आवको सो अवधिमा विभागले मुद्दा शाखामा एक हजार २८५ वटा उजुरी दर्ता भएकोमा ३३१ वटा (२५ प्रतिशत) फस्र्योट गराएर १२ करोड ४८ लाख ४७ हजार छ सय बराबरको रकम क्षतिपूर्ति भराएको थियो ।
विभागको प्रहरी शाखामा दर्ता भएका ४३५ उजुरीमध्ये ३१५ वटा (७२ प्रतिशत) उजुरी फस्र्योट भएका छन् । जसबाट १२ लाख चार हजार रुपियाँ बराबरको रकम क्षतिपूर्ति भराएको विभागले जनाएको छ ।
विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले गत आवको तुलनामा चालु आवमा उजुरी सङ्ख्या बढेकाले फस्र्योट दर घटेको देखिए पनि क्षतिपूर्ति भराउने दर भने बढेको दाबी गर्नुभयो । विदेश जाने बेला सरकारले तोकेभन्दा बढी रकम तिर्ने र विदेशमा पुगेर समस्यामा परेपछि विभागमा उजुरी गर्न आउने युवाको सङ्ख्या धेरै भएको उहाँले बताउनुभयो । उहाँका अनुसार वैदेशिक रोजगारीका क्रममा ठगीमा परेर आउने उजुरी सबैभन्दा बढी व्यक्तिगततर्फका रहेका छन् । उजुरी हेर्दा युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देशमा पठाउने भन्दै पढेलेखेकै व्यक्ति पीडित हुने गरेको र ठगी रकम पनि ठुलो परिणामको हुने गरेको बताउनुभयो ।
व्यक्तिगततर्फ उजुरी गर्न आउनेमा म्यानपावर संस्था, कन्सल्टेन्सी, ट्राभल एजेन्सीबाट ठगिए पनि सबैभन्दा बढी एजेन्टबाट ठगिने गरेको उहाँको भनाइ छ । विभागमा खाडी र मलेसिया जाने श्रमिकभन्दा अमेरिका, क्यानडा, पोर्चुगल, पोल्यान्ड जस्ता देश पठाइदिन्छु भन्दै लाखौँ रुपियाँ ठगी भएको उजुरी गर्न विभाग आउनेको सङ्ख्या पनि ठुलो छ ।
यस्तो उजुरीमा विभागले प्रमाण भएको अवस्थामा मात्रै कारबाही र क्षतिपूर्ति दिलाउने गरेको छ । विभागका अनुसार म्यानपावर कम्पनीको नाममा आउने उजुरी कानुनी दायरामा कमै मात्र जान्छ तर व्यक्तिगत उजुरी भने कानुनको दायरामा बढी जाने गरेको छ ।