• १७ माघ २०८१, बिहिबार

जनकपुर चिनाउने चलचित्र

blog

काठमाडौँ, माघ १७ गते ।  केही महिनाअघि प्रदर्शित चलचित्र पूर्णबहादुरको सारङ्गीको कथाले दर्शकलाई जसरी तानेको थियो, त्यसपछि प्रदर्शनमा आएका चलचित्रले त्यसरी तान्न सकेका छैनन् । चाहे त्यो ‘कार्साङ’ होस् या ‘मिसिङ : केटी हराएको सूचना’ । यी दुवै चलचित्रमा दर्शकको चाप न्यून देखिन्छ । कतिपय हलमा ‘मिसिङ : केटी हराएको सूचना’ दर्शकको उपस्थिति नभएर सो रद्दै गर्नु परेको थियो । विश्ज्योति मलमा कार्यरत एक कर्मचारी भन्दै हुनुहुन्थ्यो धन्न सात जना दर्शक भएर ‘मिसिङ : केटी हराएको सूचना’ चल्यो । नत्र उही ठन्डाराम । 

पहाडी समुदायकी युवती र मधेशी समुदायका युवकको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई निर्देशक दीपेन्द्र गौचनले चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’ मा प्रस्तुत गर्न खोज्नुभएको छ । चलचित्रमा दुई पात्रको फरक भूगोल र मनोविज्ञानलाई देखाउन खोजिएको छ । अहिले समाजभन्दा बढी सामाजिक सञ्जालमा रमाउने प्रचलन बढिरहेको छ । जुन कुरा चलचित्रको कथाले प्रस्ट्याउँछ । चलचित्रले पहाडी र मधेशी समुदायबिचको सम्बन्ध खोज्दै तराई क्षेत्रको सौन्दर्य र संस्कृतिको खोजी गरेको छ ।

चलचित्र केवल दुई पात्रमा केन्द्रित छ । डेटिङ एपमार्फत पहाडमा बस्ने युवती सीता (सृष्टि श्रेष्ठ) र मधेशमा बस्ने युवा राम (नाजिर हुसैन) को एक रेस्टुरेन्टमा भेट हुन्छ । रामलाई आफ्नो साथीहरूसँग हाइफाई केटीसँग डेट गर्न सक्छु भन्ने प्रमाणित गर्नुपर्ने हुन्छ तर परिस्थितिले अर्कै मोड लिन्छ । जब रामले बोकेको निद्राको गोलीको धुलो मिसिएको कफी सीताले पिउँछिन् । त्यसपछि चलचित्रको कथा अनेकन मोडमा मोडिन्छ ।  राम सीतालाई लिएर जनकपुर पुग्छन् । यता सृष्टि हराइन् भन्दै परिवार उनको खोजी गर्न थाल्छन् । यसपछि चलचित्रमा देखिने आरोह अवरोह नै यसको मुख्य कथा हो । अपहरणमा परेकी सीताको रामसँगको सम्बन्ध र प्रेमको कथा हो, चलचित्र । के रामको उद्देश्य सीतालाई अपहरण नै गर्नु थियो ? सीता रामको चङ्गुलबाट सजिलै फुत्कन सफल हुन्छिन् त ? 

वृत्तचित्र ‘उजेली : अ चाइल्ड ब्राइड इन नेपाल’ र ‘हाम्रो मुमिन’ निर्देशन गरिसक्नुभएका गौचन निकै लामो समयपछि निर्देशनमा फेरि होमिनुभएको छ तर चलचित्रलाई दर्शकले त्यति मन पराएको पाइएन । गौचनले चलचित्रभित्र उठाउनुभएको कथा खासै नौलो होइन । चलचित्रभित्र कथालाई कम प्राथमिकतामा राखेर जनकपुरको प्रचार धेरै गरिएको देखिन्छ । चलचित्रको राम्रो पक्ष भनेकै यसभित्र देखाइएको मधेशको सुन्दरता हो । जनकपुरको ट्रेन, महिलाले गरेका उद्यमशीलताका काम, गाउँघरका मान्छेको बसाइ, बोलीचाली यी सबै कुराले चलचित्रलाई केही मात्रामा भए पनि माथि उठाउने काम गरेको छ तर चलचित्रको कथामा भने कुनै तुक छैन । निर्देशक गौचन जनकपुरको सुन्दरतामा मात्र रमाएको देखिन्छ । निर्देशक कथा अगाडि बढाउने कुरामै अलमलिएका हुन् कि भन्ने भान हुन्छ । गौचनले चलचित्रलाई चाहिनेभन्दा बढी लम्ब्याउने काम मात्र गर्नुभएको छ ।  

नाजिरको अभिनयमा खासै नयाँ कुरा देखिँदैन । उही पुरानै ढर्राको अभिनयमा उहाँ रमाउनुभएको छ । नायिका सृष्टिको अभिनय ठिकठाक भन्नु पर्छ । उहाँको अभिनयमा खट्किएको भनेको संवाद हो । उहाँको संवादमा अझै पनि निखारता ल्याउनुपर्ने देखिन्छ । मधेशको सुन्दरतासँगै चलचित्रको अर्को राम्रो पक्ष भनेको यसको गीतसङ्गीत हो । होली र  प्रेमिल गीतले भने अवश्य नै दर्शकलाई हलभित्र उफ्रिन बाध्य बनाउँछ ।