• १४ वैशाख २०८१, शुक्रबार

महानगरवासीको शिर झुक्ने काम गर्दिनँ

blog

ललितपुर महानगरपालिकाका प्रमुखमा चिरीबाबु महर्जन । तस्विर: गाेरखापत्र

ललितपुर महानगरपालिकाका प्रमुखमा चिरीबाबु महर्जन दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । २०७४ को स्थानीय निर्वाचनभन्दा २०७९ मा उहाँको मतान्तर बढी छ । यस पटकको स्थानीय तह निर्वाचनमा थोरैले मात्र दोहोर्याएर उम्मेदवारी बन्ने अवसर पाए । तीमध्ये थोरैमा उहाँ पर्नुहुन्छ । आफ्नो विजयको श्रेय कामप्रतिको इमानदारी रहेको उहाँ बताउनुहुन्छ । तीन कार्यकाल वडाध्यक्ष र एक पटक महानगर प्रमुख भइसकेपछि महर्जनको ललितपुर महानगरपालिकामा यो कार्यकाल अन्तिम हो । आफ्नो उत्तराधिकारी तयार पार्नुपर्ने जिम्मेवारी पनि उहाँको काँधमा आएको छ । प्रस्तुत छ, यिनै सेरोफेरोमा केन्द्रित रहेर प्रमुख महर्जनले गोरखापत्र दैनिकका लागि प्रमुख समाचारदाता केदार भट्टराई र समाचारदाता अशोक अधिकारीलाई दिनुभएको अन्तर्वार्ता:

वि.सं. २०७४ मा निर्वाचित भएकामध्ये थोरैले मात्रै २०७९ को स्थानीय तह निर्वाचनमा टिकट पाउनुभयो । त्यसमा पनि न्यून सङ्ख्यामा विजयी हुनुभएको छ । 

ललितपुर महानगरपालिकाको प्रमुखमा तपाईं के आधार र कारणले दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ?

प्रथमतः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, केन्द्रीय कार्यसमितिदेखि जिल्ला कार्यसमितिसम्मका साथीहरूले मलाई विश्वास गर्नुभयो र उम्मेदवार बनाउनुभयो । दोस्रोमा म विजयी हुने कारण प्रस्ट छ । पाँच वर्ष ललितपुर महानगर प्रमुख र त्यसअघि तीन पटक वडाध्यक्ष भएर काम गरेको छु । ज्यापू समाजको अध्यक्ष भएर काम गरेँ । जिम्मेवारीमा रहे पनि, नरहे पनि सामाजिक काममा दत्तचित्त भएर लागिरहेको छु । मेरो जितको मुख्य कारण त्यो हुनसक्छ । अर्को, तीन पटक वडाध्यक्ष हुँदा चिरीबाबु गलत हो भनेर कसैले पनि भनेको छैन । मैले आफ्नो सामथ्र्यले भ्याएसम्म राम्रो काम गर्ने प्रयत्न गरेँ । २०७४ मा मत माग्दा भनेको थिएँ– म शिर झुक्ने काम गर्दिनँ । पछिल्लो पाँच वर्षमा मैले कुनै विवादित काम गरिनँ । मैले धेरै महìवाकाङ्क्षी कुरा गरिनँ, जे बोलेँ, त्यो गरेँ ।


जनताका सामान्य समस्या समाधानका लागि योजनाबद्ध काम गरेँ । महानगरवासीलाई शिरमा राखेर उहाँहरूका सबै सुखदुःखमा सहयोगीका रूपमा काम गरेँ । महत्वपूर्ण विषयमा अध्ययन गर्ने र योजना बनाएर काम अघि बढाउने पक्षमा काम गरेँ । शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता विषयमा प्राथमिकतासाथ हामीले काम गरेका छौँ तर कतिपय दीर्घकालीन महत्वका योजनामा सोचेजस्तै गरी अघि बढ्न समस्या पर्छ । आकस्मिक रूपमा आइपरेको कोभिड–१९ प्रकोपका कारण उत्पन्न समस्यामा ध्यान केन्द्रित गर्नुपरेकाले कतिपय काम हामीले चाहेर पनि गर्न सकेनौँ । जेजति काम भयो, त्यो प्रभावकारी रूपमा सम्पन्न गर्यौँ । सायद त्यही कारणले होला, कोभिड प्रकोपमा अब्बल ढङ्गले काम गर्ने पालिकामा पर्यौँ । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक नेपाल भ्रमणमा आउँदा हाम्रो कोभिड खोप केन्द्र हेर्नुभयो । दुई घण्टाजति भलाकुसारी भयो । हाम्रा गतिविधि हेर्नुभयो । यसरी देशभित्र र बाहिर पनि हामीले गरेको कामको सराहना भयो । सबैभन्दा बढी नागरिकस्तरबाटै मप्रति व्यक्त विश्वासले नै दोस्रो कार्यकालका लागि म जनअनुमोदित भएको हुँ । 

जनताका सामान्य समस्या समाधानका लागि योजनाबद्ध काम गरेँ । महानगरवासीलाई शिरमा राखेर उहाँहरूका सबै सुखदुःखमा सहयोगीका रूपमा काम गरेँ । महत्वपूर्ण विषयमा अध्ययन गर्ने र योजना बनाएर काम अघि बढाउने पक्षमा काम गरेँ । शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता विषयमा प्राथमिकतासाथ हामीले काम गरेका छौँ ।

स्वास्थ्य सङ्गठनका महानिर्देशक पनि दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभयो नि ! 

हिजो हो ? यो खुसीको समाचार हो । उहाँलाई पनि शुभकामना !

अघिल्लो कार्यकालमा यहाँलाई काम गर्न खासगरी बजेट बनाउने बेलामा निकै समस्या परेको थियो । अबको कार्यकाल कस्तो होला ?

मलाई प्रतिपक्षी दलका साथीहरूले पनि माया गर्नुहुन्छ । महानगरप्रमुखले बिगार गर्दैन, नचाहिने काममा जनताले तिरेको करको रकम खर्च गर्दैन भन्नेमा उहाँहरू विश्वस्त हुनुहुन्छ । यति हुँदा मलाई काम गर्न सहज हुन्थ्यो तर उहाँहरूको केन्द्रीय नेतृत्वले निर्देशन जारी गरेपछि चाहिँ गाह्रो पर्छ । सधैँ त हुँदैन, कहिलेकाहीँ यस्तो परिस्थिति बन्छ । त्यस्तो अवस्थामा सबैसँग समन्वय गर्न निकै गाह्रो पर्छ । गत आर्थिक वर्षको बजेट निर्माणका क्रममा मलाई निकै साह्रो परेको थियो । छिमेकी महानगर र नगरपालिकामा दुई–तीन दिनमै बजेटसत्र सकियो भन्ने कुरा आयो । ललितपुर महानगरमा लामो समयको प्रयासपछि असार मसान्तको मध्यरातमा मात्रै बजेट पारित भयो । यस्तो अवस्था सिर्जना हुँदाचाहिँ अल्पमतमा हुँदा अभिशाप नै हुँदो रहेछजस्तो लाग्छ । महानगरप्रमुखको भोटिङ पावर हुँदैन । बराबर भयो भने मात्रै अन्तिम भोट प्रमुखले दिन पाउने हो । २९ वडाध्यक्षमध्ये ११ जना नेपाली कांग्रेसबाट निर्वाचित हुनुभयो । उपप्रमुखले मतदान गर्न पाउने व्यवस्था छ । त्यसैले वडामा विपक्षीको मत बढी हुँदा अलिकति समस्या हुन्छ तर विगतदेखि नै जनताको ट्याक्स मनीलाई बजेटमार्फत वितरण गर्दा विपक्षीलाई पनि चित्तबुझ्ने गरी कार्यक्रम बनाउँछु । यसमा साथीहरूले अन्यथा लिनुहुन्न भन्ने मेरो विश्वास छ । 

दोस्रो कुरा, पार्टीको टिकट लिएर विजयी भएपछि हामी सबै जनताका प्रतिनिधि हुन्छौँ । मलाई मत दिने र नदिने सबैलाई विभेद नगरी काम गर्छु । पक्षपात नगरेकै कारणले वडाध्यक्षदेखि अहिलेसम्म जनताले मत दिनुभएको हो । मेरो सत्कर्मकै परिणाम हुनुपर्छ, २०७४ मा २३६ मतान्तरले विजयी भएको थिएँ । अहिले १८ हजारभन्दा बढी मतान्तरले निर्वाचित भएँ । 

महानगरप्रमुख १८ हजार मतान्तरले निर्वाचित हुँदा सत्ता गठबन्धनले उपप्रमुख पद गुमाउने अवस्था कसरी आयो ?

सत्ता साझेदार दलबीच तालमेल भयो । पार्टी केन्द्र र जिल्लाको निर्देशन आएपछि मैले उपप्रमुख पदका उम्मेदवारलाई पनि सँगै लिएर हिँडे । घरदैलो कार्यक्रममा पनि छोडिनँ । हरेक बैठकदेखि मतदान गर्ने दिन पनि एकसाथ हिँडेका हौँ । प्रचार–प्रसारमा कुनै कमजोरी हुन दिएनौँ । मैले मेरो लागि मात्रै भोट मागिनँ । गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार बाबुराज वज्राचार्यले जित्नुभएको भए मलाई काम गर्न सजिलो हुनेथियो तर जनताको रोजाइ अलग भयो । गोप्य मतदानबाट कसलाई जिताउने भन्ने निर्धारण हुन्छ । लोकतान्त्रिक संस्कार हो, जनअभिमत स्वीकार्नुपर्छ । ११ हजार मत उपप्रमुखमा रुख चिह्नलाई परेको छ । त्यो सबै बदर भयो । मतदाता शिक्षाको पनि अभाव भयो । 

मतदातालाई शिक्षा दिने विषयमा कमजोरी कसको रह्यो ?

मतदातालाई मतदान शिक्षा प्रदान गर्ने दायित्व निर्वाचन आयोगको हो । पहिले टोल–टोलमा मतदाता शिक्षा कार्यक्रम चलाइएको थियो । यो पटक प्रभावकारी रूपमा आयोगका तर्फबाट मतदातालाई सुसूचित गर्ने काम भएन । राजनीतिक दलको जिम्मेवारी पनि हो– मतदातालाई सुसूचित गर्ने तर राजनीतिक दलहरूले पूर्वाग्रह राख्नसक्ने विषयलाई पनि दृष्टिगत गर्नुपर्छ । 

ललितपुर महानगरको प्रमुखसहित २९ वडामध्ये ११ वटामा कांग्रेस विजयी भएको छ । वडाध्यक्षमा अपेक्षाकृत नतिजा नआउनुका कारण के होला ?

प्रमुखमा भारी मतान्तरले जित्दा पनि वडाध्यक्षहरू अल्पमतमा पर्ने गरी निर्वाचित हुने अवस्था कसरी आयो भन्ने विषयमा गहन अध्ययन र विश्लेषण गर्नुपर्छ । त्यसपछि मात्रै यस विषयमा प्रस्ट हुन सकिन्छ । मलाई लाग्छ, टिकट वितरण गर्दा केही कमजोरी रह्यो । यो कमजोरीलाई हटाउनेतर्फ पार्टी केन्द्रित हुनुपर्छ । उम्मेदवार भएर मात्रै हुँदैन, जनताको बीचमा काम गर्न सक्नुपर्छ । व्यवहार पनि जनप्रिय हुनुपर्छ । जनताको भावना जित्न सक्नेले मात्रै जनप्रतिनिधि भएर सेवा गर्ने अवसर पाउँछन् । चुनौती मलाई पनि थियो ।


दोस्रो कार्यकालमा तपाईंले गर्ने प्रमुख तीनवटा काम बताइदिनुस् न !

पहिलो कार्यकालमा जनताको जीवनस्तर उठाउने किसिमका ठूला परियोजना कार्यान्वयनमा ल्याउने कोसिस गरेँ । जनतासँग जोडिएका महत्वपूर्ण परियोजना पूरा गर्ने योजना बनाएको छु । महानगरवासीको जीवनस्तर उत्थान गर्ने, जीवनस्तर उच्च बनाउने, प्रतिव्यक्ति आय बढाउनेसहितका कार्यक्रम धेरै छन् । दोस्रो कुरा, हामीले सम्पदा संरक्षणको क्षेत्रमा राम्रो काम गरिरहेका छौँ तर भक्तपुर जतिको राम्रो गर्न सकेका छैनौँ । तसर्थ, मूर्त र अमूर्त सम्पदाको सम्वद्र्धन गर्नतर्फ ध्यान दिएका छौँ । सुरुवात राम्रो छ, त्यसलाई निरन्तरता दिन्छौँ । तेस्रो, यातायात व्यवस्थापन हो । भूगोल सानो छ तर जनघनत्व बढी छ । स्थायी जनसङ्ख्या तीन लाख २० हजार होला तर बिजिनेस पपुलेसन जोड्दा यहाँको जनसङ्ख्या आठ लाख पुग्छ । भित्री बस्ती र बाहिरी जनसङ्ख्यालाई व्यवस्थापन गर्न यातायातको व्यवस्थापन महत्वपूर्ण हुन्छ । हामीले यातायात व्यवस्थापन गर्न सकेनौँ भने चार–पाँच वर्षपछि विकराल समस्या सिर्जना हुन्छ । यसको समाधानका निमित्त ललितपुर महानगरपालिका यातायात गुरुयोजना बनाएका छौँ । त्यसमा रहेका सुझाव क्रमशः लागू गर्दै जान्छौँ । आउँदो पाँच वर्षभित्र यहाँको आमूल सुधार गर्ने अठोट हामीले दिएका छौँ । 

अघिल्लो कार्यकालमा काठमाडौँ उपत्यकाका प्रमुखहरूले प्राधिकरण गठन गर्न पहल गर्नुभएको थियो । प्राधिकरण गठनको जिम्मेवारी अब तपाईंमा आएको छ । त्यो काम अघि बढाउने विषयमा कस्तो योजना बनाउनुभएको छ ?

यस विषयमा मैले राम्ररी अध्ययन गर्न पाएको छैन तर यातायात व्यवस्थापनका लागि काठमाडौँ भ्याली यातायात निगम बनाउने अवधारणा तयार पारिएको थियो । त्यससम्बन्धी ऐन संसद्मा टेबुल भइसकेको छ । तत्कालीन सहरी विकासमन्त्रीसँग तीन चरण छलफल पनि भयो । ऐन आउनासाथ काम सुरु गर्न टिम बनाइएको थियो । अहिले टिम फेरिएको छ । काठमाडौँ महानगरप्रमुखमा बालेन साह आउनुभएको छ । ऐनमा व्यवस्था भएको कुरा परिवर्तन गरिँदैन होला । काठमाडौँ महानगरप्रमुख नै समिति अध्यक्ष रहने प्रावधान छ । अब बालेनजी बस्नुहुन्छ । उहाँ भिजनरी नेता हुनुहुन्छ । उहाँलाई सहयोग गरेर परियोजना अघि बढाउन हामी तम्तयार छौँ । 

तपाईंलाई बालेन साहको राजनीतिक गुरु भनेको सुनिन्छ । तपाईंलाई भेट्न पनि आउनुभएको थियो । के के कुरा भयो ?

पहिलो मतगणनामा मैले अग्रता लिइरहेको बेला उहाँ मलाई भेट्न आउनुभएको थियो । शुभकामना दिनुभयो । दोस्रो कुरा, उहाँको राजनीतिक गुरु म होइन, म टिचर मात्रै हो । उहाँको राजनीतिक हेडमास्टर चाहिँ नरसिंह व्यञ्जनकार हुनुहुन्छ । उहाँले अनवरत् रूपमा जनप्रतिनिधि भएर काम गर्नुभयो । उहाँ यस पटक निर्वाचित हुनुभएन । मेरो पनि राजनीतिक गुरु उहाँ नै हो । म २०४६ सालअघि दुई पटक वडाध्यक्ष भएँ । बहुदलीय व्यवस्था आएपछि उहाँले नै हामी एक दर्जन वडाध्यक्षलाई राजीनामा गराएर नेपाली कांग्रेसको सदस्यता दिलाउनुभएको हो । बालेनजीको राजनीतिक गुरु पनि उहाँ नै हो । र, बालेनजीले भेटमा आफू इन्जिनियर भएको र मेरो अनुभवलाई फ्युजन गरेर काठमाडौँ र ललितपुरको विकास गर्छौं भन्नुभएको छ । 

बालेन साह स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरपालिका प्रमुख बन्दै हुनुहुन्छ । तपाईंले नेपाली कांग्रेसबाट उठेर चुनाव जित्नुभयो । मतदाताले दलको विकल्प खोज्ने अवस्था कसरी आयो ?

भोटिङको इतिहास हेर्दा पनि काठमाडौँ महानगरले छुट्टै आयाम प्रस्तुत गर्दै आएको छ । गोल्छे सार्की, नानीमैया दाहाल पनि त्यहीँ निर्वाचित हुनुभएकै हो । ललितपुरमा पनि त्यस्तो उदाहरण छ । जस्तो ठाउँ त्यस्तै व्यवहार भनेजस्तै परिणाम आएको हो । अघिल्लो कार्यकालमा काठमाडौँ महानगरप्रमुखले धेरै हाइफाई कुरा गर्नुभयो तर काम भएन । उहाँले केही नगरेर होला, मैले धेरै काम गरेजस्तो देखियो । किनभने बागमती पुल तरेर ललितपुर प्रवेश गरेपछि अलि हरियाली छ । राति पनि बत्तीको उज्यालो छ । त्यसैले युवादेखि पाको पुस्तासम्मले परिवर्तनको अनुभूति होस् भन्ने विश्वास मतदानमार्फत व्यक्त गरेको हुनसक्छ । नेतृत्वले कम बोलेर काम धेरै गरेको भए राम्रो हुन्थ्यो तर धेरै बोलेर थोरै काम पनि नगरेपछि जनता रिसाउनु स्वाभाविक हो । 

पाँच वर्षपछि तपाईंको दुई कार्यकाल पूरा हुन्छ । त्यसपछिको उत्तराधिकारी कसरी विकास गर्दै हुनुहुन्छ ?

उत्तराधिकारी छनोट समितिमा म रहन्नँ तर नेतृत्व विकासको सन्दर्भमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिलाई मैले भनिसकेको छु । तपाईंहरूको विचारमा अर्को व्यक्ति को होला, उहाँलाई म सँगसँगै लिएर जान पाऊँ भनेको छु । मैले गरेको काम उहाँले पनि सिक्नुहोस् । मेरो राम्रो पक्ष उहाँले ग्रहण गर्नुहोस् । सकारात्मक कुरालाई लिन सक्ने र नेतृत्व गर्न सक्ने खुबी पनि होस् । त्यस्तै ऊर्जाशील व्यक्तिलाई नेतृत्व सुम्पिन पाऊँ भन्ने मेरो सोच छ ।

पाँच वर्षमा भएका कामलाई प्रमुख महर्जनकाे समिक्षाः

१  सामाजिक काममा दत्तचित्त भएर लागिरहनु मेरो जितको मुख्य कारण हुनसक्छ । 

२ मलाई मत दिने र नदिने सबैलाई विभेद नगरी काम गर्छु । 

३ जनताको भावना जित्न सक्नेले मात्रै जनप्रतिनिधि भएर सेवा गर्ने अवसर पाउँछन् । 

४ आउँदो पाँच वर्षभित्र यहाँको आमूल सुधार गर्ने अठोट हामीले दिएका छौँ । 

५ नेतृत्वले कम बोलेर काम धेरै गर्नुपर्छ । 

६ चिरीबाबु गलत हो कसैले पनि भनेको छैन । 

७ पाँच वर्षमा मैले कुनै विवादित काम गरिनँ । 

८ वडामा विपक्षीको मत बढी हुँदा अलिकति समस्या हुन्छ । 

९ सम्पदा संरक्षणको क्षेत्रमा राम्रो गरिरहेका छौँ ।

१० ललितपुर महानगरपालिका यातायात गुरुयोजना बनाएका छौँ । 

११ काठमाडौँ भ्याली यातायात निगम बनाउने अवधारणा छ ।