• १७ माघ २०८१, बिहिबार

अधुरै छन् सहिदका सपना

blog

‘हुँदैन बिहान मिरमिरेमा तारा झरेर नगए 

बन्दैन मुलुक दुई चार सपुत मरेर नगए ।’

आज माघ १६ गते, सहिद दिवस । सरकारी तथा गैरसरकारी क्षेत्रबाट आज १०४ वर्षे जहानियाँ राणा शासनकाविरुद्ध आवाज बुलन्द गर्नुहुने र निरङ्कुशताको कालो बादल हटाएर नेपाली धर्तीमा प्रजातन्त्रको उज्यालो घामका किरण फिँजाउने महान् उद्देश्यका साथ आवाज उठाउने चार नेपाली सपुत शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले सहादत प्राप्त गरेको दिन हो । त्यसैले आज नेपालको राजनीतिक इतिहासमा एक ऐतिहासिक दिन हो, सुनौला अक्षरले लेखिएको दिन हो ।

विसं १९९३ मा भूमिगत रूपमा प्रजापरिषद्को गठन भएको थियो । त्यसलाई नै नेपालको पहिलो राजनीतिक सङ्गठन मानिन्छ । अधिनायकवादी राणा शासनको अन्त्य गरेर प्रजातान्त्रिक व्यवस्थाको स्थापना गर्ने र नेपाली जनताका हक अधिकारको सुनिश्चितता कायम गर्ने लक्ष्य प्रजापरिषद्ले बनाएको थियो । चारै जना प्रजा परिषद्का सदस्य थिए । आफ्नो जीवनको कुनै प्रवाह नगरी देश र जनताका पक्षमा बलिदान गर्नेहरू वास्तवमै महान् हुन्छन् । नेपाली जनताको मुक्तिका लागि भएका सङ्घर्ष, आन्दोलन, लडाइँको अग्रपङ्क्तिमा रहेर जीवनको बलिदानी दिने महान् कर्मवीरलाई सहिद भनिन्छ ।

व्यक्तिगत जीवनको नाफाघाटा नहेरेर बृहत्तर समाजको हितका लागि सहिदले आफ्नो जीवन अर्पण नगरेको भए आज राणा शासन र पञ्चायतलगायत विभिन्न निरङ्कुश तन्त्रहरूको जञ्जिरबाट बाहिर कहाँ आउन सक्थ्यौँ र हामी ? माथि उल्लेखित कवि भूपि शेरचनको कविताले भने झैँ हाम्रो मुटुको प्रत्येक चालमा धड्कन छ सहिदको । तिनको स्मरण र सम्मान गर्नु समस्त देशव्यापीको कर्तव्य हुन्छ । यस्तै महान् सहिद, जसले निरङ्कुश राणा शासनको पञ्जाबाट नेपाली जनतालाई मुक्त गर्न ज्यानको बाजी लगाए, तिनको स्मरणका साथै मुलुकमा हालसम्म परिवर्तनका लागि भएका जनआन्दोलन, जनसङ्घर्ष, सशस्त्र सङ्घर्षमा बलिदान हुनेसमेतको स्मरण हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिन्छ ।

नेपालको राजनीतिक इतिहासमा पटक पटक भएका आन्दोलनमा थुप्रै सपुतले मृत्युवरण गरेका छन् । सहिदहरूको सूची धेरै लामो छ । जनतामाथिको शोषण, दमन, अन्याय एवं अत्याचार सहन नसकी शासक र शासन प्रणालीका विरुद्ध आवाज उठाउँदा हत्या गरिएका ती महान् सहिद समस्त नेपाली जनताका आस्थापुञ्ज हुन । उनीहरूकै बलिदानका कारण आज मुलुकमा ठुलो राजनीतिक, आर्थिक, सामाजिक परिवर्तन भएको छ । मुलुकमा सङ्घीय गणतन्त्र स्थापना भएको छ । मान्छेले बोल्न, लेख्न, राजनीतिक दलहरू खोल्न, सञ्चालन गर्न र आफूले चाहेको राजनीतिक दलमा सङ्गठित हुने, निर्वाचनमा भाग लिन पाउने र आफूले चाहेको उम्मेदवारलाई मत हालेर जिताउन पाउने अधिकार प्राप्त गरेका छन् । वाक् तथा प्रेस स्वतन्त्रता प्राप्त गरेका छन् । यी सबै उपलब्धि पनि ती महान् सहिदहरूको रगतको परिणाम हो ।   

ती महान् सहिदहरूको सपना यतिमा सीमित थिएन । यही वर्तमान व्यवस्था स्थापना गर्नुका लागि मात्रै उनीहरूले नेपाली धर्तीमा रगत बगाएका थिएनन् । उनीहरूले मुलुकमा पूर्ण प्रजातान्त्रिक व्यवस्था निर्माणका महान् सपनाहरू बोकेका थिए । सम्पूर्ण जनताको गाँस, बास र कपासको ग्यारेन्टी भएको व्यवस्था निर्माणका खातिर जीवन आहुति दिएका थिए तर आज ती महान् सहिदहरूले देखेका सपनाहरू अधुरै छन्, अपूरै छन् । उनीहरूले मुलुकमा आर्थिक सम्मुन्नतिको सपना देखेका थिए, देशमा गरिब र अभाव, अशिक्षा कायमै छ । मुलुकमा रोजगारीको अभावका कारण आज लाखौँको सङ्ख्यामा युवा शक्ति विदेश पलायन भइरहेका छन् । जनताले सुशासनको अनुभूति पाउन सकिरहेका छैनन् । ती महान् सहिदहरूले आमूल परिवर्तनसहितको राजनीतिक व्यवस्था स्थापना गर्ने सपना बोकेका थिए, जनवादी तथा वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका लागि जीवन उत्सर्ग गरेका थिए । ती महान् सपनाहरू आज अधुरै छन्, अपूरै छन् ।

सहिदको योगदान आज ओझेलमा पर्दै गएको अवस्था छ । सहिदको परिभाषा, मापदण्ड र गरिमाबारे राज्य स्पष्ट हुनुपर्नेमा त्यसको अभावमा सहिदको अपमान भइरहेको छ । सहिदहरूको सही मूल्याङ्कन, योगदानको सम्मान र गरिमा बचाउने दायित्व वर्तमान पुस्ताको र त्यसमा पनि राजनीतिक नेतृत्वको हो तर यस्तो संस्कृतिको विकास हुन सकेको छैन । निरङ्कुशताविरुद्ध र नेपाली मात्रको स्वतन्त्रता र समुन्नतिका पक्षमा सहिदहरूले गरेको त्याग, तपस्या र बलिदानको सम्मान गर्नुपर्नेमा त्यसो हुन सकिरहेको छैन ।  पछिल्लो समय सहिद सप्ताह र सहिद दिवस केवल आौपचारिकतामा सीमित हुन थालेका छन् तर यस्तो दिवसलाई केवल परम्परा धान्ने वा आौपचारिकतामा मात्र सीमित राख्नु विडम्बना हो । यस प्रकारका अवसरलाई सहिदले देखाएको बाटो र दिशातर्फ इमानदारीपूर्वक अग्रसर हुने प्रतिबद्धता जनाउने अवसरका रूपमा लिन सक्नु पर्छ । महान् सहिदहरूको सपना साकार पार्न इमानदार हुने अठोट गर्न सक्नु पर्छ । यसो हुन सकेमा मात्र सहिद दिवस मनाउनुको सार्थकता र आौचित्य हुन्छ । महान् सहिदहरूका महान् सपनाहरू साकार पार्नका निम्ति हामी सङ्कल्पबद्ध हुनु पर्छ । सहिदहरूले देखाएको बाटोमा हामी हिँड्नसके मुलुक र जनतालाई समृद्धितर्फ अग्रसर गर्न सके महान् सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने छ ।