• १७ माघ २०८१, बिहिबार

वृद्धि भयो हिमाल आरोहण शुल्क

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १६ गते । सरकारले सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि लिँदै आएको सलामी दस्तुर (आरोहण अनुमति शुल्क) बढाएको छ । पर्यटन विभागका महानिर्देशक नारायणप्रसाद रेग्मीका अनुसार पुस २६ गतेको मन्त्रीपरिषद् बैठकले पर्वतारोहणसम्बन्धी नियमावलीलाई छैटौँ पटक संशोधन गर्दै सलामी दस्तुर वृद्धि गरेको हो । 

उहाँले भन्नुभयो, “सरकारले आरोहणका लागि खुला गरिएका ४६१ हिमालको आरोहण अनुमति शुल्क बढाउने निर्णय गरेको छ । यसअघि सगरमाथा आरोहणका लागि विदेशी नागरिकले ११ हजार अमेरिकी डलर शुल्क तिर्दै आएकोमा आगामी भदौदेखि भने १५ हजार डलर लाग्ने भएको छ ।”

उचाइ अनुसार अन्य हिमालतर्फको आरोहण शुल्क पनि बढेकाले मन्त्रीपरिषद्ले स्वीकृत गरेको संशोधित नियमावली आगामी ३१ भदौदेखि लागु हुने उहाँले जानकारी दिनुभयो । अब विदेशी नागरिकले सगरमाथा चढ्न करिब २० लाख ६९ हजार रुपियाँ तिर्नुपर्ने छ । यसअघि विदेशी आरोहीले सगरमाथा चढ्न करिब १५ लाख तिर्दै आएका थिए । नेपाली नागरिकले भने सगरमाथा आरोहणका लागि डेढ लाख रुपियाँ राजस्व तिर्नुपर्ने छ । यसअघि नेपाली नागरिकले ७५ हजार रुपियाँ शुल्क तिर्दै आएका थिए । 

विभागका अनुसार सगरमाथा आरोहणका लागि अप्रिल–मे महिना सबैभन्दा उत्तम समय मानिन्छ । सेप्टेम्बर–नोभेम्बरको महिना कम आरोहण हुने याममा सात हजार पाँच सय अमेरिकी डलर र डिसेम्बर–फेब्रुअरीको विरलै चढिने यामका लागि तीन हजार ७५० अमेरिकी डलर शुल्क लाग्ने विभागले जनाएको छ । 

दस्तुर कम हुँदा सगरमाथा चढ्ने धेरै हुने र त्यही कारण सगरमाथालगायतका हिमाली क्षेत्रमा फोहोर, प्रदूषण बढ्नुका साथै अत्यधिक भिड लाग्न थालेपछि सरकारले एक दशकपछि हिमाल चढ्दा लाग्ने दस्तुर बढाउन लागेको विभागले जनाएको छ । हिमाल चढ्ने दस्तुरसँगै सरकारले पर्वतीय पथप्रदर्शक र उचाइमा जाने कामदारलाई आरोहण कम्पनीले दिने दैनिक भत्ता र बिमालगायतका शुल्कमा पनि वृद्धि गरेको छ ।