नाटक साहित्यको अतिप्राचीन र आकर्षक विधा हो । नाट्य रचना अभिनेता अभिनेत्री र अन्य पात्रहरूको अभिनीत चरित्रद्वारा रङ्गमञ्चमा प्रस्तुत गरिने दृश्यविधा भएकाले दीर्घाका सबै दर्शकहरू नाटक अवलोकनमा कृतघ्न बन्न पुग्छन् । नेपालीमा प्रचलित ‘नाटक’ शब्द संस्कृतबाट आएको तत्सम शब्द हो । विश्वको सर्वप्राचीन ग्रन्थ ऋृग्वेदमा ‘नृत्’ भनिने प्राकृतिक शब्दबाट ‘नट्’ धातु हुन पुगेको, यसको अर्थ नृत्यसँग सम्बन्धित रहेको छ । ‘नट्’ धातुमा ‘अक’ प्रत्यय लागेर बनेको यौगिक शब्द नाटक हो र नाटकको पर्याय अर्थ अनुकरण वा नक्कल गर्नु भन्ने बुझिन्छ । अङ्ग्रेजी भाषामा ड्रामा भनिने त्यस शब्दको रूपान्तरित अर्थ पनि अनुकरण नै हो । नाटक साहित्यलाई परिचय गराउन र परिभाषित गर्न पूर्वीय र पाश्चात्य नाट्यचार्यहरूको उल्लेख्य योगदान रहेको छ । पूर्वीय नाट्यचार्यहरू त ऋृग्वेद आदि चारवेद पछिको पाचौँ वेद नाट्यशास्त्र हो समेत भन्ने गर्दछन् । नाटक साहित्यलाई सैद्धान्तिक परिचय र परिभाषित गराउने व्रmममा पूर्वीय विद्वान्हरू भतृहरि, धनञ्जय, सागरनन्दी, रामचन्द्र गुणचन्द्र, भरतमुनि र वामन आदिको उल्लेखनीय योगदान रहेको कुरालाई कदापि बिर्सन सकिँदैन । त्यसो त पाश्चात्य विद्वान्हरू– अरस्तु, सिसरो, भिकटर, ह्युगो, इब्सेन, हड्सन र सेक्सपियर आदिको योगदान पनि कम मूल्यवान छैन । हजारौँ वर्ष अघिदेखि नै पूर्वीय र पाश्चात्य जगत्मा नाट्यकाव्य साहित्यको अति चर्चित विधाका रूपमा स्थापित हुँदै आएको हो । तर नेपाली साहित्यमा मौलिक र आधुनिक नाटक लेखनको सुरुवात भने करिब एक सय वर्ष अगाडिदेखि मात्र भएको पाइन्छ । नेपाली आधुनिक नाटक लेखनको श्रीगणेशकर्ता बालकृष्ण सम हुन् । समद्वारा लेखिएको ‘मुटुको व्यथा’ दुःखान्तीय नाटक विसं १९८६ मा प्रकाशित भएपश्चात् नेपाली नाट्य साहित्य लेखनको तीव्रगतिले विकास हुन थालेको कुरा पनि स्मरणयोग्य रहेको छ ।
पूर्वीय नाट्यचार्य वामनले भने जस्तै “नाटक चित्रपट झैँ समस्त विशेषताहरूले भरिएको चित्रविचित्रको हुन्छ ।” अर्का विद्वान् सागरनन्दी भन्छन्– “लोकको सुख–दुःखबाट उत्पन्न, विभिन्न परिस्थितिको अभिनय नै नाटक हो ।” पाश्चात्य विद्वान् अरस्तुको भनाइमा– “नाटकले जीवनको अनुकरण गर्दछ र यो वर्णनात्मक नभएर अभिनयात्मक हुन्छ ।” त्यस्तै सिसरो भन्छन्– “जीवनको अनुकरण र रीतिहरूको दर्पण नै नाटक हो ।” नाटक अभिनीत गुण र भेषभूषा हाउभाउ कटाक्ष आदिका आधारमा रङ्गमञ्चमा प्रस्तुत गर्नका लागि लेखिन्छ र भूतकालको घटनालाई वर्तमानमा प्रदर्शन गराइन्छ । नाटककारद्वारा लेखिएका सबै नाटकले रङ्गमञ्चमा प्रदर्शित हुने अवसर भने पाउँदैनन् । पाठकले नाटक पढेर पनि त्यसको आस्वादन प्राप्ति गर्ने भएकाले नाटक दोहोरो सेवाप्रदाय अत्यन्त रुचिपूर्ण साहित्यिक विधा बन्न पुगेको छ ।
स्वनामधन्य नेपाली नाट्य साहित्यका प्रधान नाटककार बालकृष्ण सम नाटक विधा लेखनका प्रथम नाटककार मात्र नभई विश्वजनीय मान्यताका पालक विषयवस्तुका हिसाबले विविधता, दुःखान्त सुखान्त दुवै खाले नाटक लेख्न सफल छन् । पूर्वीय विद्वान्ले वर्गीकरण गरेका रूपकका दस भेदमध्ये महìवपूर्ण र पहिलो भेद नाटक तथा अर्को अङ्की (एकाङ्की) दृश्य विधामा कलम चलाउन सिद्धहस्त समले झन्डै दुई दर्जन पूर्णाङ्की तथा दुईभन्दा बढी अङ्की नाटक तथा झन्डै एक दर्जनभन्दा बढी एकाङ्की लेखेका छन् । समको साहित्य लेखनको प्रमुख मान्यता दृश्यविधा नै हो तापनि खण्डकाव्य, महाकाव्य, चम्पुकाव्य, जीवनी, कविता, कथा तथा उपासना, जीवनी र निबन्ध विधामा समेत कलम चलाउन सफल छन् । मौलिकता र दार्शनिक चिन्तनका साहित्य सिर्जना गर्ने बालकृष्ण सम नेपाली साहित्यका चम्किला नक्षेत्र हुन् । नेपाली नाट्य साहित्यमा उनले गरेका अतुलनीय योगदानका कारण उनलाई नाट्य सम्राट्को विशेषणद्वारा सम्बोधनसमेत गरिन्छ । उनी नाटककार मात्र नभई नाटक निर्देशन र अभिनीत कलामा समेत सफल थिए । यसका अतिरिक्त उनी सिद्धहस्त चित्रकार पनि हुन् । नेपाली साहित्य, कला र संस्कृतिका सर्जक सम बहुमुखी प्रतिभाका द्योतक तथा प्रेरक व्यक्तित्व पनि हुन् । बालकृष्ण सम पिता जनरल शमरशमशेर राणा तथा माता कृतिराज्यलक्ष्मी राणाको कोखबाट विसं १९५९ माघ २४ गते काठमाडौँस्थित ज्ञानेश्वरमा (राणा परिवारमा) भएको थियो र उनको मृत्यु भने २०३८ श्रावण ६ गते काठमाडौँस्थित आर्यघाटमा भएको हो । उनको खास नाम बालकृष्ण शमशेर जङ्गबहादुर राणा थियो । विसं २००७ मा नेपालमा प्रजातन्त्र स्थापना भएपश्चात् बालकृष्ण सम पछिका ‘शेर जङ्गबहादुर राणा’ शब्द हटाई बालकृष्ण सम अर्थात् नेपालीहरूसँग आफू बराबर भएको त्यागी प्रमाणसमेत देखाएका थिए । उनका एक मात्र छोरा कला र साहित्यका विशिष्ट सर्जक जनार्जन समलाई पनि आफ्नै त्यागसँगै हिँडाएर समतामूलक सहअस्तित्वको दृष्टान्त प्रस्तुत गरेका थिए । उनले स्कुलको शिक्षा दरबार हाइस्कुलबाट प्राप्त गरेका र कोलकत्ताबाट म्याट्रिक परीक्षा उत्तीर्ण गरेका थिए । पछि त्रिचन्द्र कलेजमा आईए पढ्दा पढ्दै एकाएक सेनाको कप्तानमा नियुक्ति भई कर्णेलसम्मको दर्जामा पुगे । सेनामा जागिर खाएका समलाई नालापानीमा खटाइएको थियो । त्यहाँको ऐतिहासिक वस्तुस्थिति बुझेका समले लेखेको ‘नालापानीमा’ एकाङ्की केही वर्ष अघिसम्म कक्षा ११ को पाठ्य विषयवस्तुमा रहनुले पनि समप्रति सम्मान देखाउनु नै हो । आइएस्सीसम्म अध्ययन गरेका सम ‘हुने बिरुवाको चिल्लो पात’ भने जस्तै आठदस वर्षको उमेरदेखि नै कविता लेख्ने गर्दथे भने पूर्व र पश्चिमका गहकिला साहित्यिक पुस्तक पढ्ने बानी थियो, नभन्दै विसं १९८६ मा प्रकाशित समको दुःखान्तीय नाटक ‘मुटुको व्यथा’ नेपाली आधुनिक नाट्य साहित्यको पहिलो कृति बन्न पुग्यो र अन्य अनगन्ती नाटक लेख्नमा उनी उत्प्रेरित हुन पुगे ।
बालकृष्ण सम सलक्क परेको मझौला शारीरिक सुसङ्गठन, गहुँगोरो वदन, सिलिक्क परेका गाला, लामो गर्धन, सपक्क बसेका अर्धचन्द्राकारका आँखी भौँ, टुपुक्क अडिएको लामो नाक, बाँन्की परेका ओठ र चिउँडो, ठुलठुला आकारका कान, निधारमा हल्का तिलकको प्रतिछाया परेको भावुक र दार्शनिक मुखमण्डलका व्यक्ति देखिन्थे । समको वाक्मृदुल र शान्त स्वभावमा आदरार्थी (ज्यू, हजुर यहाँ) शब्दोच्चारणमा अत्यन्तै नरम अभिव्यक्तिले जो कुनै मानिस पनि आनन्दानुभूति महसुस गर्न पुग्दथे । उनको पहिरन नेपाली राष्ट्रिय पोसाक दौरासुरुवाल र ढाकाटोपीमा सदाबहार देखिन्थे । हाल भेटिएका फोटामा पनि यी कुरा प्रतिछायाका रूपमा सुरक्षित रहेकै छन् । घरमा सधैँ साहित्य साधनामा व्यस्त सम त्रिविका उच्च कक्षाहरूमा प्राध्यापनसमेत गर्दथे । कविगोष्ठीमा उनको उपस्थितिले बढी रौनक थपिन्थ्यो । त्रिहत्तर चौहत्तर बर्से उमेरमा पनि सम कविता वाचनमा सरिक हुन्थे । विसं २०३३ सालतिरको कुरा हो पौष १४ गते रेडियो नेपालले कविगोष्ठी गरेको थियो, समय बेलुकी ५, ६ बजेतिर रेडियो नेपालले प्रत्यक्ष प्रसारण गरेको थियो । यस लेखका पङ्क्तिकारलाई पनि त्यहाँ सहभागी हुने अवसर मिलेको थियो । त्यस गोष्ठीमा धर्मराज थापा, दामोदरनाथ लोहनी, माधवप्रसाद घिमिरे, श्यामदाश वैष्णवलगाय वरिष्ठ साहित्यकारले आआफ्ना कविता वाचन गर्नुहुँदाका बखत समको कविता बढी आकर्षक र प्रशंसित भएको थियो । त्यसपछि चार पाँच पटक पङ्क्तिकारले उनलाई भेटेको र साहित्यिक रचना सिर्जना गर्नमा समबाट उत्प्रेरणा बढेको कुरा पनि अविस्मरणीय रहेको छ ।
बालकृष्ण सम नेपाली नाट्य साहित्यका सम्राट् मात्र नभई अन्य अनेक साहित्य विधामा सिद्धहस्त सर्जक हुन् । सफल चित्रकार, नाटक निर्देशक र अभिनयकर्ता आदि सिपका धनी सम साहित्य सेवाका अतिरिक्त राष्ट्रका विभिन्न महìवपूर्ण निकायका प्रमुख पदहरूमा रही काम गर्दाको योगदान पनि अतुलनीय रूपमा रहेको छ । सम साहित्य लेखनमा तीव्रतर अगाडि बढ्दै गर्दा विसं १९९० मा नेपाली भाषा प्रकाशिनी समितिका अध्यक्ष, विसं २००८ मा रेडियो नेपालका निर्देशक, विसं २०१२ मा गोरखापत्रको प्रधान सम्पादक, विसं २०१४ मा रोयल नेपाल एकेडेमीका सदस्य, विसं २०१६ मा नेपाल राजकीय प्रतिष्ठान (नाम परिवर्तन) मा उपकुलपति र विसं २०३१ मा राजसभा स्थायी समितिका आजीवन सदस्यसमेत भएका र नाफा हल आदिको संरक्षक पनि थिए ।
साहित्य, कला र संस्कृतिको त्रिकोणात्मक मिलन बिन्दुमा मात्र नभई प्रशासन राजकीय सुशासनमा संलग्न रही व्रिmयाशील जीवन बिताइरहेका बखत सम विसं २०३८ श्रावण ६ गते देहान्त हुन पुगेका थिए । बाँचुन्जेल उनले गरेका उल्लेख्य कार्यको उच्च मूल्याङ्कन गर्दै विभिन्न मान, सम्मान, पुरस्कार र विभूषण एवं पदवी प्रदान हुनुका साथै उनको सालिक निर्माण तथा उनकै नाममा हुलाक टिकटसमेत प्रकाशन भएबाट पनि समको प्रभावशाली व्यक्तित्वप्रतिको उच्च सम्मान भएको महसुस गर्न सकिन्छ । साझा पुरस्कार, त्रिभुवन पुरस्कार, त्रिविबाट महाविद्यावारिधि मानार्थ र नेपालको सर्वोच्च साहित्यिक सम्मान पृथ्वीप्रज्ञा (पहिलो) पुरस्कार, गोरखा दक्षिणबाहु पहिलो विभूषण तथा विसं २००९ मा दार्जिलिङ पुगेका बेला सूधपा अर्थात् साहित्यकार सूर्यविव्रmम, धरणीधर र पारसमणिद्वारा कविशिरोमणि लेखनाथ, नाट्यसम्राट् बालकृष्ण सम तथा महाकवि लक्ष्मीप्रसाद देवकोटा तीन जना कविलाई साहित्यका त्रिमूर्ति घोषित हुनाले समसमेत उच्च सम्मानित हुन पुगे । समका लागि यो पनि ठुलो सम्मान थियो । नेपाली नाट्य साहित्यका शिखर व्यक्तित्व बालकृष्ण सम पूर्वीय नाट्यचार्यहरू वामन, धनञ्जय र सागरनन्दी आदिको सैद्धान्तिक मान्यता तथा पाश्चात्य विद्वान् आरस्तु, होरेस र सेक्सपियर आदिको दृष्टिकोणलाई समेत आत्मसाथ गर्दै सुखान्त र दुःखान्त एवं वियोगान्त र संयोगान्त सबैखाले कथानकतामा आधारित आकर्षक नाट्य कृतिहरू अधिक मात्रामा सिर्जना गर्न सफल छन् ।
समको दुःखान्तीय पहिलो आधुनिक नेपाली नाटक ‘मुटुको व्यथा’ १९८६ हो । त्यसपछि ‘ध्रुव’ नाटक १९८६ मा नै लेखे । विसं १९९१ ‘बर्दहामा सिकार’ निबन्ध र त्यसपछिका दिनहरूमा नाटक, निबन्ध, प्रबन्ध, कथा आदि साहित्य सिर्जना गर्नमा तल्लीन रहे । उनका नाटक एकाङ्की कविता तथा खण्डकाव्य, मुटुको व्यथा, अन्धवेग, मुकुन्द इन्दिरा, रणदुल्लभ, नालापानीमा, मृत्युपछिको अभिव्यञ्जन, इच्छा, आगो र पानी देखेको आदि कृतिहरू उच्चशिक्षाका कक्षाहरूमा बेलाबेलामा पाठ्यविषयवस्तुमा समावेश भएबाट पनि उनको साहित्य सिर्जनाको स्तरीयता एवं उनीप्रतिको उच्चसम्मान गरेको कुरा प्रकटीकरण हुन आउँछ ।
पूर्वीय र पाश्चात्य प्राचीन ग्रन्थहरू राम्ररी अध्ययन गरेका समका रचनाहरू बौद्धिकता वैचारिक विश्लेषण भौतिकवाद आदर्शताको समन्वय, समसामयिकता, सामाजिकता, मानवीय दुर्बलता एवं यौन कुण्ठा र आशक्ति, राष्ट्रियता, देशभक्तिभाव, साहित्यमा चित्रकलाको प्रभाव आदि प्रवृत्ति देखिन्छन् । समको साहित्य लेखनको प्रमुख विधा नाटक नै हो । भक्त भानुभक्त, म, प्रेमपिण्ड, अमरसिंह, भीमसेनको अन्त्य, अमित वासना, तलमाथि, माटोको ममता, तानसेनको झरी, ऊ मरेकी छैन, गाउँ फर्क जस्ता झन्डै दुई दर्जनभन्दा बढी नाटक प्रकाशित भएका र केही अप्रकाशित समेत आढाई दर्जन जति पूर्णाङ्की नाटक छन् । त्यस्तै चार एकाङ्की सङ्ग्रह बुहार्तन, नालापानीमा, रणदुल्लभ तथा नछापिएका केही एकाङ्कीसमेत झन्डै एक दर्जन एकाङ्की छन् भने दुई अङ्कीय नाटकसमेत रहेका छन् । संस्कृत साहित्यमा दृश्य विधाका दस भेदमध्ये तीन भेदमा कलम चलाउने समका झन्डै चालिस वटा नाटक अर्थात् नाट्य साहित्यिक कृति रहेको मान्न सकिन्छ । विषयवस्तुका हिसाबले नाटक, दुईअङ्की र एकाङ्कीसमेत, ऐतिहासिक, सामाजिक, स्वैरकाल्पनिक र समसामयिक आदि रहेका छन् । सामाजिक विषयवस्त, यौनमनोवैज्ञानिक यौन कुण्ठाका कारण मानसिक पीडाले मान्छे मृत्युवरण गर्न पुगेको दुःखान्तीय घटनाको चित्रण ‘मुटुको व्यथा’ मा रहेको छ भने ‘अन्धवेग’ मा चाहिँ अनैतिक प्रेमका कारण मानिस काटिनु र मारिनु तथा जारलाई मारिसकेपछि आफू पनि आत्महत्या गर्न पुगेको र आफ्नो लोग्ने र प्रेमीको मृत्युपछि आफैँ मरेको कथानकतामा अन्धवेग रहेको छ । उता ‘मुकुन्द इन्दिरा’ मा भने पत्नीको सतित्व परीक्षामा शुद्धता पाएपछि दम्पतीको आदर्श जीवन व्यतित भएको संयोगान्तीय कथानकता रहेको छ । अमरसिंह, भीमसेनको अन्त्य, माटोको ममता आदि नाटक र नालापानीमा रणदुल्लभ आदि एकाङ्की राष्ट्रिय भक्तिभावले ओतप्रोत छन् । केही पौराणिक र केही स्वैरकाल्पनिक पनि रहेका छन् ।
समका कथा साहित्य सिर्जनामा पनि सफल छन् । कथाकुसुममा सङ्गृहीत कथाहरू– पराइघर, देउराली, तलतल, खुकुरी, हरिसिद्धि, यौवन र सुन्दरता, शरण, कैकेयी, फुकेको बन्धन आदि कथा रहेका छन् भने टाँगन घोडा, नौली आदि फुटकर कथासमेत झन्डै एक दर्जन कथा सामाजिक, पौराणिक र समसामयिक देखिन्छन् । भनिन्छ– समका कथा साहित्यमा फ्रान्सीय साहित्यकार मोपासाँको आदर्शद्वारा प्रभावित छन् ।
बालकृष्ण सम निबन्ध–प्रबन्ध लेखनमा पनि उत्तिकै प्रभावशाली देखिन्छन् । आधुनिक निबन्धका पिता भनेर चिनिने पाश्चात्य विद्वान् वेकनद्वारा प्रभावित उनका निबन्धहरू स्वतन्त्र र विकीर्ण चिन्तनमा आधारित, चरम बौद्धिक र विश्लेषणात्मक तर्कमा सजिएका छन् । विसं १९९१ शारदामा प्रकाशित ‘बर्दहामा सिकार’ निबन्ध लेखनबाट अगाडि बढेका समका त्यो, पानी र देखेको निबन्धहरू उत्कृष्ट श्रेणीमा पर्दछन् । कतिपय निबन्ध अप्रकाशित छन् भन्ने पनि बुझिन्छ । ‘चिसो चुह्लो’ महाकाव्य तथा ‘आगो र पानी’ खण्डकाव्य समका काव्यगत उल्लेखित कृति हुन् । आध्यात्मिकवाद र भौतिकवादको समन्वयकारी भूमिका निर्वाह गर्न दृष्टान्त दिने यो खण्डकाव्यले पनि उच्च शिक्षाको पाठ्य विषयवस्तुमा स्थान पाएको थियो भने ‘देखेको’ निबन्ध पाठ्यपुस्तकमा रहनाले समका रचनाहरू कतिसम्म महìवपूर्ण रहेछन् भन्ने कुरा स्वतः नै पुष्टि हुन आउँछ । ‘नियमित आकस्मिकता’ दर्शनकाव्य हो । समले विसं २००४ मा रचना गरेका ‘स्वर्ग र देवता’ तथा २०१९ मा प्रकाशित ‘मृत्युपछिको अभिव्यजना’ एवं ‘इच्छा’ कविता पनि मृत्युपछिको अवस्थालाई आँकलन भएको देखिन्छ । ‘मेरो कविताको आराधना’ उपासना कविता पनि कम महìवपूर्ण देखिँदैन ।
समले रचना गरेका विवध विधाका साहित्यिक रचनालाई केलाउने हो भने सर्वाधिक सङ्ख्यामा पूर्णाङ्की दुईअङ्की तथा एकाङ्कीसमेत झन्डै चालिस बयालिस सङ्ख्यामा दृश्यविधाका कृति तथा एक दर्जनभन्दा बढी कथा, निबन्ध, झन्डै दुई दर्जन महाकाव्य, खण्डकाव्य एवं दर्शनकाव्य र उपासनाकाव्य आदि सबै गरेर करिब छ दर्जन जति कृति प्रकाशित र केही अप्रकाशित कृति रहेका छन् । त्यस्तै विभिन्न औपचारिक र अनौपचारिक कार्यव्रmममा अभिव्यक्त विचारका टिप्पणी तथा सयौँ कृतिमा लेखिएका मन्तव्य आदिलाई वर्गीकरण गरेर छापिने हो भने दर्जनौँ पुस्तक बढ्ने नै छन् । नेपाली साहित्यमा अधिकारिक कृतिका स्रष्टा पनि सम नै हुने छन् ।
विसं १९५९ माघ २४ गते यस धर्तीमा जन्मिएर विसं २०३८ श्रावण ६ गते देहान्त हुन पुगेका समको जम्माजम्मी आयु उनासी वर्ष रहेको देखिन्छ । आठ वर्षदेखि कविता रचनामा लागेका समको साहित्यिक रचनाहरू भरपुर मात्रामा सुरक्षित छन् । नेपाली साहित्यिक कोशमा सर्वाधिक सङ्ख्यामा कृति सिर्जना गर्ने मूर्धन्य साहित्यकार समले साहित्य कला र संस्कृति र प्रशासकीय क्षेत्रमा लगाउन भएको गुण अतुलनीय रूपमा रहेको कुरामा दुई मत रहँदैन ।
नेपाली नाट्य साहित्यका सम्राट् बालकृष्ण सम अधिक साहित्यिक विधामा कलम चलाउने मात्र नभई चित्रकला र अभिनयकलामा समेत सिद्धि प्राप्त महान् व्यक्ति हुन् । साहित्य क्षेत्रमा प्रकाशित कृतिहरूको मूल्याङ्कनबाट सङ्क्षिप्त विशेषता वा प्रवृत्तिहरू खोज्ने हो भने उनी आधुनिक नेपाली नाटक लेखनको आरम्भकर्ता हुन् । नाट्य साहित्यमा दुःखान्त, सुखान्त र वियोगान्त संयोगान्त, मिश्रित स्थिति रहेको छ । कृतिहरूमा वैचारिकता तार्किकता, बौद्धिकता एवं विश्लेषणात्म टिप्पणी, भौतिकवाद र आध्यात्मिकवादबिच समन्वय, राष्ट्रियता, देशभक्तभावले ओतप्रोत, दार्शनिक चिन्तन, विश्वजनीयता, मानवतावादी र समतामूलक समाज निर्माणको खोजी, गद्य र पद्य दुवै सुकोमल शिल्पशैली, विषयगत हिसाबले ऐतिहासिक, सामाजिक स्वैर काल्पनिक, सूक्ति दुक्ति, दृष्टान्त र उपमा उपमेयी गुण, परिवेशको हिसाबले नेपालका सुगम र दुर्गम जुनसुकै क्षेत्र र भारतका कुनै कुनै स्थान, दृश्य विधामा चरम द्वन्द्व, पात्रविन्यासमा उचित व्यवस्थापन, मञ्चनीयता, मूलतः नारी मनोदशा र पात्रको विश्लेषण साहित्यिक कृतिमा चित्रकलाको प्रभाव एवं विम्ब र प्रतीकता आदि प्रवृत्तिका सम नेपाली नाट्य साहित्यका सर्वश्रेष्ठ पुरुष हुन् । विसं १९५९ माघ २४ गते जन्मेका बालकृष्ण समको नेपाली साहित्यमा दिएको अतुलनीय योगदानप्रति उच्च सम्मान गर्दै उनको स्मृतिमा श्रद्धासुमनका साथ दुई चार शब्द अर्पण गर्नु हामी सबैको कर्तव्य पनि हो । मधुपर्क