राजकुमार भट्टराई
खोटाङ, माघ १३ गते । कृषि विज्ञ मदन राई बाल यौन दुर्व्यवहार कसुरमा दोषी ठहर हुनुभएको छ । जिल्ला अदालत खोटाङले राईलाई बाल यौन दुरुपयोग कसुरमा दोषी ठहराएको हो ।
जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई माघ १० गते कसुर ठहर गरेको हो । आगामी माघ २५ गतेको फैसलाबाट राईले पाउने सजाय निर्धारण हुने जिल्ला अदालतका श्रेष्तेदार सिताराम खड्काले बताउनु भयो ।
कृषिविज्ञ राईमाथि आफैँले सञ्चालन गरेको खोटाङको जिल्ला सदरमुकाम नजिकै रहेको सोल्मास्थित शुभद्रा मदन (शुभम) फाउण्डेसनका किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोग छ । फाउण्डेसनमा सात वर्ष बसेर बाहिरिएकी १६ वर्षीया किशोरीले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीलाई दिएको उजुरीका आधारमा राई २०८० वैशाख २९ गते पक्राउ पर्नुभएको थियो । मुद्दाको फैसला नभएसम्म फाउण्डेसनमा जान नपाउने गरी २०८० जेठ २२ गते चार लाख धरौटीमा राईलाई रिहा गरिएको थियो ।
सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा राईलाई तीन वर्ष कैद र ७५ हजार जरिवाना माग गरेको छ ।