• १० माघ २०८१, बिहिबार

सुपरफोर खेलमा एपिएफको सानदार जित

blog

ब्याटिङ गर्दै एपिएफका खेलाडी । तस्बिर : क्यान

अविनाश चौधरी

धनगढी, माघ १० गते । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुपरफोर खेलमा विभागीय टोली एपिएफले बागमती प्रदेशविरुद्ध शानदार जित निकालेको छ । फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा एपिएफले बागमतीमाथि १० विकेटको रवाफिलो जित निकालेको हो । 

टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित १८ ओभरमा आठ विकेटको नोक्सानमा ४२ रनमात्रै जोड्न सक्यो । एफिएफको कसिलो बलिङसामु बागमतीका खेलाडी टिक्न सकेनन् । यशु पाण्डेय, सविका यादव र एलि यादवले सामान आठ-आठ रनको योगदान गर्नुभयो । 

बागमतीलाई रोक्ने क्रममा एपिएफका तर्फबाट सुमन विष्टले सर्वाधिक तीन विकेट लि प्लेयर अफ द म्याच घोषित हुनुभयो । रेखा रावल र बिनु बुढाले सामान दुई-दुई विकेट लिनुभयो । 

झिनो लक्ष्य पछ्याउन जवाफी ब्याटिङमा उत्रेको एपिएफले ६.५ ओभरमै लक्ष्य भेट्टायो । एपिएफको जितमा ममता चौधरीले २३ र राजमती ऐरीले १४ रनको योगदान दिनुभयो ।