नवीनराज कुइँकेल
लमजुङ, माघ १० गते । लमजुङ सदरमुकाम बेसी सहरबाट १३ बर्षीय बालिका अपहरण गरेको घट्नामा संलग्न रहेको आरोपमा ३ जना भारतीय नागरिक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
जिल्ला अदालत लमजुङले मङ्गलवार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै उनीहरूलाई कारागार चलान गरिएको हो । कारागार चलान हुनेमा भारत मोतिहारीका ४० बर्षीय बिगु खान र उनकी श्रीमती नार्गिक खान रहेका छन् । उनका १७ बर्षीय नाबालक छोरालाई भने, बाल सुधार गृह पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राज किशोर साहले जानकारी दिनुभयो ।
उनीहरूलाई अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा थुनामा राखेर पुर्पक्ष गर्न जिल्ला अदालत लमजुङका न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासबाट कारागार चलानको आदेश भएको अदालतका श्रेष्तेदार भेषराज पौडेलले जानकारी दिनुभयो ।
प्रहरीलाई खान परिवारले बेसीशहर नगरपालिका–७, बस्ने १३ वार्षीय कुमारी (नाम परिवर्तन) लाई गत मङ्सिर २४ गते अपहरण गरी भरततर्फ लग्दै गरेको भन्ने सूचना आएको थियो । सोही सूचनाको आधारमा लमजुङ प्रहरीले अनुसन्धान गरी उनीहरूलाई पक्राउ गरेको थियो ।
प्रहरीले किशोरीलाई नेपाल–भारतको सीमावर्ती क्षेत्रबाट उद्धार गरी ल्याइएको लमजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताउनुभयो । “अपहरण भएको भन्ने खबर पाउनासाथ सुश्म ढंगले अनुसन्धान बढाएका थियौं”, उहाँले भन्नुभयो, “खान परिवारलाई पुस १५ गते पक्राउ गर्न सफल भयौँ र कारबाही अगाडी बढायौँ ।”
खान परिवार सदरमुकाम बेसीशहर नगरपालिका–७ को सहजीमा सिरक–डसना बनाउने काम गर्दै बस्दै आएका थिए ।