मुसीकोट समाचारदाता
रुकुमपश्चिम, माघ ९ गते । रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले भूकम्प प्रभावितको घर निर्माणका लागि नक्सा पास गर्दा ५० प्रतिशत छुट दिने भएको छ । सोमबार सम्पन्न नगरपालिकाको २० औँ नगर सभाले पुनर्निर्माणको क्रममा घर निर्माणका लागि नक्सा पास गर्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट गर्ने निर्णय गरेको हो ।
नगर प्रवक्ता खुमबहादुर खड्काका अनुसार जाजरकोट केन्द्रविन्दु भएर गत वर्ष गएको भूकम्पका कारण चौरजहारी नगरपालिकामा सात हजार ३७३ घरपरिवार लाभग्राहीको सूचीमा रहेका छन् । पुनर्निर्माणको चरण सुरु हुने क्रममा भूकम्पप्रभावितलाई सहुलियत व्यवस्थाका लागि यो निर्णय भएको उहाँले बताउनुभयो ।
यसै गरी नगर सभाले नगरपालिका क्षेत्रभित्र र पोस्टमार्टमका लागि शववाहन सेवा सञ्चालन गरेर त्यसलाई निःशुल्क गर्नेसमेत निर्णय गरेको छ । सभाले केही कार्यक्रम र बजेट संशोधन गरेको छ भने चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षासमेत गरेको छ ।
सभामा जग्गादाता र अग्रज लोकस्रष्टालाई सम्मानसमेत गरिएको छ । लोकस्रष्टाहरू दिलीपकुमार केसी, खिमबहादुर सुनार र भद्रबहादुर शाहीलाई सम्मान गरिएको हो । यसका साथै नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयलगायतका सरकारी निकायको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने ४१ जना जग्गादातालाई सभाका अवसरमा सम्मान गरिएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।
सभाले चालु आवको साउन महिनादेखि पुस मसान्तसम्मको आम्दानी र खर्च अनुमोदन गरेको छ भने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजाका बारेमा समेत छलफल गरेको छ । अधिकृत ढकालका अनुसार चौरजहारीले आव २०८०/८१ मा ९७ अङ्क प्राप्त गरेको थियो ।