• ८ माघ २०८१, मङ्गलबार

राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तयारी

blog

काठमाडौँ, माघ ८ गते । २५औँ पुरुष र १० औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता माघ १३ देखि १९ गतेसम्म हेटौंडामा हुने भएको छ ।

नेपाल बुद्धिचाल महासङ्घको आयोजनामा हुने प्रतियोगिता ११औँ चरणसम्म चल्नेछ । प्रतियोगिताको विजेताले अर्को वर्ष काजकिस्तानमा आयोजना हुने चेस ओलम्पियाडमा भाग लिन पाउने महासङ्घका प्रवक्ता राजु ताम्राकारले जानकारी दिनुभयो । महासङ्घ प्रतियोगिताको अन्तिम तयारीमा जुटेको छ ।  

प्रतियोगितामा संयोजकको जिम्मेवारी महासङ्घका महासचिव धरमबहादुर लामालाई दिईएको छ । महिला र पुरुष दुवैतर्फ पूर्वनिर्धारित फरम्याटअनुसार सिनियर नेसनल च्याम्पियनसिपका शीर्ष तीन खेलाडी र नेसनल ‘बी’ बाट छनोट भएका उत्कृष्ट खेलाडीबिच प्रतिस्पर्धा हुनेछ । 

पुरुषतर्फ नेसनल च्याम्पियन, दोस्रो र तेस्रो भएका क्रमश: राजन सुवेदी, सुश्रुत दाहाल, क्षितिज भण्डारीसहित नेसनल ‘बी’ बाट छनोट भएका पुरुषोत्तम सिलवाल, आशिष फुयाल, एफएम रुपेश जैसवाल, विनय थापा, सुरोज महर्जन, धीरेन राई, सीएम नवीन तण्डुकार र एफएम रिजेन्द्र राजभण्डारीले प्रतिस्पर्धा गर्नुहुनेछ । 

यस्तै महिलातर्फ नेसनल च्याम्पियनसिपका शीर्ष तीन स्थानका विजेता क्रमश: सिन्दिरा जोशी, कृतिसरा अधिकारी, पूजा भण्डारीसहित विनीता कपाली, लक्ष्मी कँडेल, इशा गिरी, शान्ति धिमाल, दानिशा पुरी, सुशीला गुरुङ, पुनम प्रसाईं र एञ्जल महर्जनले प्रतिस्पर्धा गर्नुहुनेछ । 

महासङ्घले प्रतियोगितामा खेलाडीलाई सहभागी गराउन समन्वय विभाग प्रमुख सुशील चौधरीलाई जिम्मेवारी दिएको छ ।  प्रतियोगिताको स्थानीय व्यवस्थापन मकवानपुर जिल्ला बुद्धिचाल सङ्घले गर्नेछ । 

प्रतियोगितामा अन्तर्राष्ट्रिय आर्बिटर यज्ञप्रसाद पन्त प्रमुख निर्णायकमा र फिडे आर्बिटर सोराज ताम्राकार, एफए मिसन दाहाल, एफए सन्दीप घिमिरे र एनए रमिला पोखरेल रहनुहुनेछ । प्रतियोगिता सम्पन्न गर्न २४ लाख ५० हजार रुपियाँ खर्च हुने महासङ्घले जनाएको छ ।