निशा राई
धरान, माघ ८ गते । धरान रनद्वारा आयोजना हुने नेवा च्यारिटि १० के रन आगामी फागुन १० गते हुने भएको छ । “शिक्षाको निम्ति च्यारेटी दौड”को नारासहित रनलाई खेदकुदमय र चेतनामूलक कार्यक्रम बनाउन ह्वील चेयर रेस र विश्वभर जुनसुकै ठाउँमा रहेका धावक धाविकाले भर्चुअल रनसमेत गर्न पाउने मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा धरान रनका अध्यक्ष रमु राईले जानकारी दिनुभयो ।
१३ औं संस्करणमा १६ वर्षदेखि ३९ वर्ष समुहलाई खुल्ला दौड समूहमा समावेश गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा राष्ट्रिय अन्तर्राष्ट्रिय धावक धाविकाहरू सहभागी हुनेछन् भने दौडमा चर्चित गायक राजु लामासमेत धावकको रुपमा सहभागी हुने अध्यक्ष राईले जानकारी दिनुभयो ।
प्रतियोगितामा दौडको ठिक समय मापनका लागि ‘चिप टाइमिङ’ सिस्टम प्रयोग गरिनेछ यो प्रणाली नेपालमा ११ हौं संस्करणदेखि धरान रनले प्रतियोगितामा प्रयोग गर्न थालेको आयोजकले जनाएको छ । योे जुत्तामा लगाइने चिप सिस्टमले प्रत्येक धावक, धाविकाले कति समयमा कति दूरी पूरा गरेको हो त्यसको सही मापन देखाउने अध्यक्ष राईले बताउनुभयो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकहरूको सहभागिता हुने १० किलोमिटर दौडको रुट पुतली लाइनदेखि सुरु गरी दुर्गाचोक, बुद्धचोक, रत्नचोक, मङ्गलबारे, कल्याणचाेक, पानीटङ्की, गणेशमान चाेक, रङ्गशाला, जिरो प्वाइन्ट, अमरहाट, रेडक्रस भवन, हात्तीसार क्याम्पस, विजयपुर चौक, पिण्डेश्वर मन्दिर, चिनिया चौक, पुरानो बजार, देशीलाइन हुँदै भानुचौकमा आएर समापन हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा १६ वर्षमाथिका ३९ वर्षसम्म खुल्ला दौडका विजेताले जनही नगद ६० हजार, दोस्रोले ४० हजार र तेस्रोले २० हजार, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् भने १२ वर्षदेखि १५ वर्षभित्रका ‘अन्डर १६’ समूहका, ४९ वर्षदेखि ५९ वर्षसम्मको ‘मिड भेट्रान’समूहका, महिला पुरुष विजेताले जनही नगद ७ हजार, ५ हजार, ३ हजार, पदक र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
४० वर्षदेखि ४९ वर्षसम्मको ‘भेट्रान’ समूहका महिला पुरुष विजेताले जनही नगद १० हजार, ७ हजार, ५ हजार, पदक र प्रमाणपत्र पाउनेछ । ६० वर्षदेखिका ‘सुपर भेट्रान’ समूहका महिला पुरुष विजेताले नगद ५ हजार, पदक र प्रमाणपत्र पाउने भएका छन् ।
बाह्रौं धरान रनमा गत वर्ष करिब ४ हजार जना धावक, धाविकाहरू सहभागी थिए ।धरान रन समूह २०६७ मा स्थापना भई २०६८ सालमा दर्ता भएको हो । धरान रनले हरेक शनिवार यलम्बर पार्कमा ३ किमि दौड गराउँदै आएको छ ।