जनवरी २० तारिख सोमबार पहिलो पटक नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने सौभाग्य मिल्यो । कूटनीतिक कर्मचारीका रूपमा १७ वर्षअघि नेपालको छिमेकी देश भारतको दिल्लीमा अवस्थित कोरियाली दूतावासमा काम गर्ने अवसर प्राप्त गरेको थिएँ । त्यतिबेलादेखि नै संसारको सबैभन्दा उच्च हिमाल सगरमाथा र भगवान् गौतम बुद्धको जन्मस्थल नेपालमा भ्रमण गर्ने चाहना थियो तर लामो समयसम्म उक्त अवसर मिलेको थिएन । गणतन्त्र कोरिया सरकारका परराष्ट्र मामिलामन्त्री महामहिम छो थेयलको विशेष दूतका रूपमा कोरिया र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सव पूरा भएको अवसरमा विशेष दूतको भूमिकामा नेपाल भ्रमण गर्न पाउँदा अत्यन्त खुसी छु र यो खुसी सबैसामु साट्न चाहन्छु ।
गणतन्त्र कोरिया र नेपालबिच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भई विगत आधा शताब्दीको अत्यन्त सुमधुर मित्रवत् सम्बन्ध, आवश्यकताका आधारमा दुई देशबिच रहिआएको सहयोगात्मक सम्बन्ध निरन्तर विस्तार हुँदै आएको छ । दुई देशबिचमा द्विपक्षीय सम्बन्धको विकासका क्रममा उल्लेख गर्नलायक दुई वटा सबैभन्दा महत्वपूर्ण क्षणको स्मरण गराउन चाहन्छु ।
सन् १९९२ मा नेपालसँग विकास साझेदारी कार्यक्रम सञ्चालन गर्नका लागि काठमाडौँमा कोइका नेपाल कार्यालय स्थापना गरेर कोरिया सरकारले नेपालमा आवश्यकतामा आधारित भएर विकास साझेदारी कार्यक्रम सञ्चालन गर्दै आएको छ । कोरिया सरकारले हालसम्म नेपाल सरकारसँगको सहकार्यमा ३० करोड डलरभन्दा बढी रकम सहयोग परियोजनालाई प्रवर्धन गरिसकेको छ । कोरिया सरकारले नेपालका कृषि, व्यावसायिक तालिम केन्द्र, स्वास्थ्य, सूचना तथा सञ्चारलगायतका क्षेत्रमा आफ्नो सहयोग केन्द्रित गरेको छ । विशेष गरी सन् २०११ देखि १५ वर्षसम्म नेपाललाई विकास साझेदार मुलुकको प्राथमिक सूचीमा राखी कोरिया सरकारले नेपाललाई एक महत्वपूर्ण साझेदारका रूपमा लिएको छ ।
त्यसै गरी सन् २००७ मा रोजगार अनुमति प्रणाली (इपिएस) कार्यान्वयनका लागि दुई देशका श्रम मन्त्रालयबिच एक सम्झौतामा हस्ताक्षर गरी नेपाली युवापुस्तालाई कोरियामा रोजगारीको वैधानिक बाटो निर्धारण गरेको छ । सन् २००८ देखि हालसम्म एक लाख १० हजारभन्दा बढी नेपाली श्रमिकले उक्त प्रणालीमार्फत कोरियामा साना तथा मझौला उद्योग, कृषि तथा पशुपालन व्यवसाय आदिमा काम गर्ने अवसर प्राप्त गरिसकेका छन् । नेपाली श्रमिकलाई कोरियाली कामदार सरह न्यूनतम पारिश्रमिक तथा विभिन्न बिमामा समावेश गरिएको छ । मलाई जानकारी भए अनुसार कोरियाली व्यावसायिक परिचितहरू नेपाली कामदारको मेहनत र इमानदारीले दुई देशबिच जनस्तरको सम्बन्धले नयाँ आयाम थपेको छ । कोरिया सरकार तथा कोरियाली व्यवसायी नेपाली कामदारको इमानदारीलाई उच्च मूल्याङ्कन गर्छन् । धेरै नेपाली युवापुस्ताले कोरिया जस्तो विदेशी मुलुकमा आफ्नो परिवारबाट टाढा रहेर पसिना र परिश्रमको मूल्यप्रति हामी उच्च सम्मान व्यक्त गर्छौं । कोरियामा रहँदा र फर्किएपश्चात् नेपाली श्रमिकलगायत वैदेशिक रोजगारीका लागि कोरियामा रहेका व्यक्तिको सेवा सुविधा, हकहितलगायत क्षेत्रमा आवश्यक पहलकदमी जारी राख्ने छु । नेपालीलाई भेट्ने अवसर मिल्दा न्यानो अभिवादनका रूपमा नमस्ते भन्ने गरेको छु ।
कोरिया सरकार एकै पुस्ताले समृद्ध कोरिया निर्माण गरेको ताजा अनुभव हामीसँग रहेको छ । आर्थिक गतिविधिमार्फत नेपालसँगको सम्बन्धलाई अझै मजबुत गराउनका लागि हामीले विभिन्न उतारचढावबिच हासिल गरेको समृद्धिको अनुभव साट्दै जाने योजनामा छौँ । कोरिया र नेपालबिच आर्थिक गतिविधि पनि विस्तार हुँदै गएको छ । आर्थिक वर्ष २०२३/२४ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने मुलुकमध्ये कोरिया तेस्रो स्थानमा रहेको छ ।
कोरियाली कम्पनीहरूले नेपालमा व्यावसायिक गतिविधि पनि सक्रिय रूपमा बढाउँदै गएको अवस्था छ । सन् २०२३ मा सामसुङ इलेक्ट्रोनिक्सले नेपाली कम्पनीको साझेदारीमा नवलपरासी जिल्लामा टिभी एसेम्बली प्लान्ट स्थापना गरी नेपालमा नै टिभी उत्पादन सुरुवात भएको छ । सन् २०२४ मा हुन्डाई मोटर कम्पनीले नेपाली साझेदारसँग मिलेर नेपालमा नै पहिलो अटोमोबाइल एसेम्बली प्लान्ट स्थापना गरेर नेपाली बजारमा ‘मेड इन नेपाल’ गाडी गुड्न थालेका छन् । विश्वप्रसिद्ध कोरियाली कम्पनीले नेपालमा उत्पादनको थालनीले विश्वका अन्य प्रसिद्ध कम्पनीका लागि नेपालमा लगानीमैत्री वातावरण भएको सकारात्मक सन्देश जाने छ भन्ने लाग्दछ ।
त्यसका साथै कोरियाली साना तथा मझौला उद्योगले नेपालमा आफ्नो उत्पादन कम्पनी खडा गरेर उल्लेखनीय मात्रामा रोजगारी सिर्जना गरिरहेका छन् । दक्षिण कोरियाली प्रतिष्ठित ऊर्जा कम्पनीहरूले विश्वको दोस्रो ठुलो जलस्रोतको धनी देश नेपालमा विद्युत् उत्पादनका लागि पुँजी र प्रविधि ल्याइरहेका छन् र हाल २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ निर्माण भइरहेको छ । केही वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । कोरियाबाट नेपालको जलस्रोतमा तेस्रो लगानी हुने छ । कोरियाली ऊर्जा क्षेत्रको लगानीले नेपालमा जलविद्युत् निर्माण तथा प्रसारण लाइन आदिमा सिप हस्तान्तरणका लागि अवसरका रूपमा भूमिका खेल्ने छ ।
एक महिनाअघि नेपालका उद्योगमन्त्री दामोदर भण्डारीले कोरियाको भ्रमण गर्नुभयो र दुई देशबिच व्यापार तथा लगानी प्रवर्धन सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । उक्त सम्झौतापश्चात् धेरै नेपाली उत्पादनको कोरियाली बजारसम्म सहज पहुँच पुग्ने छ र कोरियाली कम्पनीले नेपालमा लगानीका अवसरलाई गम्भीरतापूर्वक लिएका छन् । आगामी दिनमा धेरै कोरियाली लगानीकर्ताले नेपालमा लगानी बढाउने छन् । दुई देशबिच श्रमशक्तिको आदानप्रदान, पर्यटन आदानप्रदान तथा विदेश अध्ययन कार्यक्रममार्फत कोरिया र नेपालबिच जनस्तरको सम्बन्ध निकै बलियो रूपमा स्थापित भएको छ । दुई देशबिचको घनिष्ठ जनस्तरको सम्बन्ध स्थापना हुनु द्विपक्षीय सुमधुर सम्बन्धका लागि बलियो आधार हुने छ ।
कोरियामा काम गरेको अनुभव भएका व्यक्ति नेपाल फर्किएर अङ्कुुर नेपाल नामक संस्था गठन गरेर कोरियाको अनुभव र आर्जन गरेको पुँजी नेपालमा लगानी गर्नका लागि सहजीकरण गरिरहेका छन् । कोरियामा रोजगारको अनुभव भएका, व्यावसायिक ज्ञान नेपालमा लागु गरी रोजगारी सिर्जनामा उल्लेख्य भूमिका खेलिरहेका छन् । कोरियामा काम गरेको अनुभव भएका व्यक्तिले नेपाल फर्किएर विभिन्न क्षेत्रमा व्यवसाय गरी सफल भएका उदाहरण उल्लेख्य छन् ।
धेरै कोरियाली जनता आफ्नो जीवनमा एक पटक हिमालय क्षेत्रमा पदयात्रा गर्ने इच्छा व्यक्त गर्दछन् । कोरियाली जनता गौतम बुद्धको जन्मस्थल लुम्बिनी र विभिन्न विश्व सांस्कृतिक सम्पदा स्थलको भ्रमण गर्न चाहन्छन् । गत वर्ष २७ हजार कोरियालीले नेपालको भ्रमण गरेर हिमालयको सुन्दरता र सांस्कृतिक सम्पदाको अवलोकन गरी आनन्द लिए । अझै धेरै कोरियाली पर्यटक नेपाल भ्रमण गरेर नेपालको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ । त्यसका हामी दुवै देशका तर्फबाट प्रचार कार्यक्रमलाई निरन्तरता दिँदै भविष्यमा धेरै कोरियालीले नेपालको हिमालय र भव्य सांस्कृतिक सम्पदाको आनन्द लिने वातावरणका लागि प्रयास गर्दै जाऊँ ।
कोरियाली विदेशमन्त्रीको विशेष दूतका रूपमा दुई रात तीन दिनको नेपाल भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, परराष्ट्र मन्त्रालयका सचिवलगायत उच्चपदस्थ व्यक्तित्वसँग भेटघाट गरी दुई देशबिच आगामी साझेदार कार्यक्रमबारे छलफल गर्ने योजना रहेको छ । मेरो यस भ्रमणले कोरिया र नेपालबिचको विगत ५० वर्षको मैत्रीपूर्ण सम्बन्धको मूल्याङ्कन गर्ने र आगामी ५० वर्षका लागि सहकार्यको दिशा निर्धारण गर्ने अवसरका रूपमा लिएको छु ।
सन् २०२६ को नोभेम्बरमा नेपाल अति कम विकसित देश (एलडिसी) बाट स्तरोन्नति हुने तयारीमा रहेको छ । नेपाल तयार देखिन्छ तर अन्तर्राष्ट्रिय समुदायले प्रदान गर्ने विभिन्न सुविधाबाट वञ्चित हुने अवस्थाले केही चुनौतीको सामना गर्नुपर्ने विषयलाई पनि ध्यान दिनु पर्छ । कोरियाको विकास अनुभवलाई नियालेर हेर्दा यो प्रक्रियाले राष्ट्रिय विकास चरणमा चुनौती खडा गर्ने छ । नेपाल सरकार र जनताले यी चुनौती पार गर्ने यात्रामा गणतन्त्र कोरिया सरकार आफ्नो भोगाइ तथा अनुभव प्रदान गर्नका लागि तत्पर रहेको छ । कोरिया सरकार नेपालको आवश्यकतामा आधारित भएर सदा सहयोगी भूमिकामा रहने छ । अन्त्यमा आगामी ५० वर्षका लागि नेपालसँगको सहयात्रा आर्थिक गतिविधि बढाउनमा केन्द्रित हुने छ । हामी नेपालको जलस्रोत विकास, पर्यटन प्रवर्धन, कृषि क्षेत्रमा साझेदारीलगायतका विषयलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने छौँ । हामी दुई देश आपसमा सदा सच्चा मित्रको भूमिकामा रहने छौँ ।
(लेखक गणतन्त्र कोरियाका परराष्ट्रमन्त्रीका विशेष दूत हुनुहुन्छ)