• ७ माघ २०८१, सोमबार

एमालेमा फर्कन दुई वर्षदेखि संवादमा थिएँ : वामदेव गौतम

blog

वामदेव गौतम । फाइल तस्बिर

काठमाडौँ, माघ ७ गते । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम नेकपा (एमाले) मा फर्कने हुनुभएको छ । उहाँले गोरखापत्रसँग कुरा गर्नुहुँदै आफू एमालेमा जाने निश्चित भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो तर्फबाट एमालेमा जाने निश्चित भइसकेको छ । भोलि उहाँहरूले एमाले सचिवालय बैठक बसेर निर्णय गर्नुहुन्छ । पर्सी निकाेर्सितिर प्रवेशको वातावरण बन्ने छ ।”

उहाँले आफू एमालेमा फर्कन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग करिब दुई वर्षदेखि संवादमा रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “एमालेमा फर्किन दुई वर्षदेखि लागिरहेको थिएँ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग संवाद जारी राखेको थिएँ । एकतामा ल्याउन मान्नुभएन । त्यसपछि एकीकृत समाजवादीमा प्रवेश गर्न छलफल गरियो । एकीकृत समाजवादीमा प्रवेश गर्न धेरै प्रयत्न गरियो । पछिल्लो पटक वातावरण बन्न सकेन ।”

उहाँले एमालेमा फकर्ने कुरा भए पनि वरियताका सम्बन्धमा केही कुरा नभएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “फेरि केही साथीले एमालेसँग जाने कुरा गर्नुभयो । वरियताको कुरा केही भएको छैन ।

उहाँले आफ्नाे पाटीका केही नेता छलफल गरेर नै नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएकाे जानकारी दिनुभयो ।

 मसँग सल्लाह गरेर माओवादीमा जानुभएको हो । तपाईं एमालेमा जानुस् हामी माओवादीमा जान्छौँ भन्नुभएको हो, ” उहाँले भन्नुभयो ।