• ७ माघ २०८१, सोमबार

‘५० वर्षपछि देखिनुपर्ने रोग कम उमेरमै देखिदै’

blog

केएमसी अस्पतालका मुटुरोग विशेषज्ञ डा. आदित्य महासेठ । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, माघ ७ गते । जाडोको मौसममा हृदयघातको जोखिम बढी हुन्छ । त्यसैले जाडो याममा शतर्कता बढी अपनाउनुपर्ने चिकित्सकहरू बताउँछन् । खासगरी हृदयका रोगीले जाडो याममा बढी शतर्कता अपनाउनु पर्छ ।

त्यसै पनि जाडो मौसम मुटु रोगीका लागि अनुकुल मानिदैन । बाह्य चिसोका कारण नसाहरू खुम्चने वा साँघुरिने हुन्छ । यसले रक्त प्रवाहमा कठिनाइ ल्याउँछ । जसको सोझो भार, मुटुमाथि पर्छ । यस्ता अनेक कारण छन्, जसले जाडोमा हृदयघातको जोखिम बढाउँछ ।

केएमसी हस्पिटलका मुटुरोग विशेषज्ञ डा.आदत्य महासेठले संसारमा सबैभन्दा धेरै हुने रोग भनेको हृदयघात भएकाले समयमै चिकित्सकको सल्लाहानुसार स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउनुभयो । खानपान र चिन्ताका कारण जुनकुनै समयमा पनि हृदयघातको समस्या बढेको जानकारी दिनुभयो । प्रस्तुत छ :न्यूज एजेन्सी नेपालले केएमसी अस्पतालका मुटुरोग विशेषज्ञ डा. आदित्य महासेठसँग गरेको कुराकानीनको सम्पादित अंश ।

मुुटुमा समस्या भएको कसरी थाहा पाउने, मुटु रोगलाई कसरी बुझ्ने ?

– मुटु रोग भनेको मुटुमा समस्या आउनु हो । यसमा विभिन्न समस्याहरू पर्छन् । त्यसमा वंशाणुगतदेखि लिएर बुढो मान्छेमा लाग्ने रोगहरू हुन्छन् । वंशाणुगत भन्नाले मान्छे गर्भमा रहँदा खेरिको रोग हो । जस्तै मुटुमा प्वाल परेको, मुटुको बनावटमा गडबडी भएको मानिन्छ । मान्छे जन्मेपछि पनि मान्छेको मुटुमा विभिन्न रोगहरू लाग्छन् । हाम्रो देशहरूमा ‘‘कमन हार्ट डिजिज’हरू भन्छन् । त्यो अन्य देशमा पाइँदैन । नेपालमा बढी पाइन्छ । यसलाई मुटुको बाथरोग भन्छ । तर संसारमा बुझ्ने भनेको मुटु रोग भनेको हृदयघात नै हो । ब्लड प्रेसर पनि मुटु रोगको प्रमुख कारण हो । त्यस्तै सुगर भएको मान्छेमा हुने हृदयघात, हार्ट फेलियर, मुटुको चालमा गडबड हुने रोगहरू मादक पदार्थ सेवन गर्दा हुने रोगहरू यसअन्तर्गत पर्दछन् । फोक्सो जस्तै मुटुको पनि खोलभित्र पानी जम्ने पेडियोकाली रिफ्युजनहरू, किड्नि प्यासेन्टलाई हुने रोगहरु हो । यस्ता रोगहरू धेरै भए पनि संसारमा सबैभन्दा धेरै हुने रोग भनेको हृदयघात नै हो ।

मुटु र हृदयघातको सम्बन्ध कस्तो हुन्छ, अनि के कारणले हृदयघात बढी हुने गर्दछ ?

– हृदयघात भनेको नै मुटु अट्याक हो । यसलाई छुट्याएर हेर्न मिल्दैन । मुटु भनेको मासु हो । मुटु रगतको पम्प हो । जसले शरीरका प्रत्येक अङ्गमा रगत पुर्‍याउने काम गर्छ । मुटु आफैँलाई पनि चाहिन्छ । मुटुले आफूले रगत पाउने तीन वटा नसामा समस्या आएर मुटुले रगत नपाउने अवस्थालाई हृदयघात भनिन्छ । यो जुनसुकै नसामा पनि हुनसक्छ । यो अचानक पनि हुनसक्छ र विस्तारै पनि हुनसक्छ । एक्कासी भएको अवस्थामा हृदयघात भन्छौं । विस्तारै भएकोलाई चाहीँ एनजाइना भन्छौं । यो बढ्दै भएपछि हृदयघात हुनसक्छ ।

पछिल्लो समय हृदयघात वृद्धवद्धामा भन्दा पनि युवा अवस्थाका मान्छेमा पनि बढ्दै गएको हो, कस्तो उमेरका बिरामीहरू आउने गर्दछन् ?

– पछिल्लो समय तपाईंले भनेजस्तै २० देखि ३५ वर्षसम्मका बिरामी पनि उपचारका लागि आउने गर्नुहुन्छ । हृदयघात भनेको जीवनस्तर अनुसारको रोग हो । पहिलेका मान्छेहरूसँग पैसा थोरै थियो, बढी काम हुन्थ्यो । दिनभर स्वस्थ काम गर्थ्यो । अहिले दिनभर अफिसमा कम्प्युटरमा बस्छन् । खानपनि जंकफुड खाने गरिन्छ । कसैलाई पनि खाना पकाउने फुर्सद छैन् । यसमा धुम्रपान सेवन पनि गर्ने कारणले यस्तो समस्याहरू बढ्दै गएको हो । यिनै समस्याका कारण ५० वर्षपछि देखिनुपर्ने रोगहरू आजभोलि कम उमेरमा देखिरहेका छौं । युवा अवस्थामा हृदयघात हुनुको प्रमुख कारणले चुरोट सेवन हुनु अध्ययनले देखाएको छ ।

अर्को कुरा पछिल्लो समय मान्छेको शरीरमा कोलेस्ट्रोल बढी बन्ने र शरीरमा भएको कोषहरूले त्यो कोलेस्ट्रोल लिन नसक्ने भएको छ । यसले मुटुको नसाहरू बन्द गरिदिने गर्छ । यसले गर्दापनि हृदयघात बढिरहेको छ । अर्को कुरा घरको खाना नखाएर बजारको खानेकुराहरू बढी खाइरहेका हुन्छौं । यसले गर्दा खानपिनमा आएको परिवर्तन, जीवनशैलीमा भएको परिवर्तन र सुगर बढी खाने । सुगरले पनि शरीरमा कोलेस्ट्रोल नै बढाउने हो । बच्चाबेलादेखि नै हाम्रो बानी बिग्रिएको छ । त्यसले गर्दा युवा अवस्थामा नै हृदयघात देखिरहेको छ ।

मुटु रोगबाट बच्नका लागि खानाको सन्तुलन कसरी मिलाउने ?

– खानाको सन्तुलनको कुरा गर्दा हाम्रो शरीरलाई चाहिनेभन्दा बढी क्यालोरी पाइने गरी खाइरहेका छौं । मैले दिनभरमा कार्यालयमा बस्छु, काम गर्छु भने मलाई धेरै क्यालोरी चाहिँदैन । बिहानदेखि साँझसम्म खेतमा काम गर्ने मान्छे छ भने उसलाई क्यालोरी बढी चाहिन्छ । हाम्रो शरीरलाई अरू सुगरको जरुरत छैन । बरु मान्छेलाई बोसोको जरुरत हुन्छ तर सुगरको जरुरत हुँदैन । प्रोटिनको जरुरत हुँदैन । हामीले चिनी खानु हुँदैन । प्राकृतिक कुराहरू खाने हो । जुट र कम्पनीमा पनि बनेका खानेकुराहरू खाने होइन । हामीले आफ्नो शरीरको मागअनुसारको खाना खाने हो । हामीले बढी खाना खायो भने पनि शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने हो ।

मुटु रोग र उमेर समूहको अन्तरसम्बन्ध के हुन्छ, तपाईंको अनुभवले कस्तो पाउनुभएको छ, कुन उमेर समूहको मान्छेलाई मुटु रोगको जोखिम हुन्छ ?

– अहिले सामान्यतः मुटुसम्बन्धी रोग बढी लाग्ने भनेको ४५ वर्ष कटेको मान्छेमा नै हो । तर पछिल्लो समय युवामा पनि भेटिन थालेको छ । विषेश गरी चुरोट खाने मान्छेमा । नेपाल र नेपालबाहिरको अध्ययनले खासगरी चुरोट खाने मान्छेमा हृदयघात हुने देखाएको छ । त्यसबाहेक कसैलाई पारिवारिक पृष्ठभूमिको आधारमा पनि हुने गर्दछ । तर अहिले पनि हृदयघात ४५ वर्ष कटेपछि मात्रै हुने हो ।

तपाईंले दैनिक कम्प्युटरमा लामो समय बस्ने मान्छे र शारीरिक अभ्यास कम गर्ने मान्छेमा हृदयघातको जोखिम बढी हुन्छ भन्नुभयो, यसलाई थप स्पष्ट पारिदिनुस् न ?

मुटु रोगको रिस्क फ्याक्टरमध्ये शारीरिक अभ्यास नगर्नु पनि एक हो । शारीरिक अभ्यासले एक त मुटुको कन्डिसनलाई ठिक राख्छ । अभ्यास गर्ने क्षमता पनि बढाउँछ । यसले सुगर र प्रेसर नियन्त्रण गर्नका लागि पनि काम लाग्छ । हामीले एक्स्ट्रा खाइरहेको क्यालोरीलाई पचाउन पनि मद्दत गर्छ । त्यसले गर्दा मुटु रोग पनि कम देखिन्छ ।

खानपानसँगै मुटुको स्याहार कसरी गर्नुपर्छ, अनि चुरोट र मादकपदार्थ गर्ने मान्छेलाई हृदयघात नहुने र नखाने मान्छेलाई हुने भन्ने भाष्य छ नि ?

चुरोट सेवन गरेर मात्र हृदयघात हुन्छ भन्ने त कुनैपनि अध्ययनमा छैन । तर चुरोट खाने मान्छेमा चुरोट नखाने मान्छेभन्दा तीन गुणा बढी नै हृदयघात भएको देखिएको छ । यो चाहीँ अध्ययनले देखाएको छ । हृदयघात भनेको हाम्रो जीवनशैलीको ‘आउटकम’को रूप हो । कसैलाई हुनसक्छ । तर कसैलाई हृदयघात नभइकन चुरोट सेवनका कारण क्यान्सरले पहिले नै मृत्यु पनि हुनसक्छ । हामीले मेडिकल साइन्समा सम्भावनाको कुरा गर्ने हो । कसैलाई डायबिटिज पनि छ, प्रेसर पनि छ । परिवारमा मुटु रोग पनि भएको छ र उसले चुरोट पनि सेवन गर्छ भने उसको हृदयघात हुने सम्भावना अझै बढी भयो । कसैको परिवारमा सुगर र प्रेसर पनि छैन, डायबिटिज पनि छैन र कोलेस्ट्रोल पनि छैन भने हृदयघात हुने सम्भवना न्यून हुन्छ । त्यस्तो मान्छेले चुरोट खायो भने पनि हार्ट अट्याक हुने रिस्क एकदम कम होला । तर हुँदै नहुने भन्ने हुँदैन ।

मौसम र मुटुको सम्बन्ध कस्तो हुन्छ, जाडो समयमा मुटुसम्बन्धी समस्याहरू बढ्दै जाने हुन् ?

यसमा दुईवटा कुरा छन् । मौसम परिवर्तन र वातावरणमा आएको परिवर्तनले निकै फरक पार्दछ । जाडो र गर्मी त भइरहन्छ नै । तर पछिल्लो वर्षहरूमा जलवायु परिवर्तनका कारण वातावरणमा परिवर्तन पनि आइरहेको छ । आजभोलि गरिएको एक अध्ययनले मुटुसम्बन्धी रोगहरूको मेजर इफेक्टरमा चाहीँ स्ट्रेस अथवा एन्जाइटी र दुषित वातावरण पनि छ । अहिले काठमाडौँको वातावरण सामान्य छैन । प्रदूषणले हाम्रो शरीरमा भएको सामान्य क्यालेस्ट्रोललाई अक्सिजन रेडिकलहरू बनाउँदो रहेछ । र त्यही रेडिकलहरू शरीरको रगतमा गएर जम्मा भइदिने हुन्छ । त्यो पनि हृदयघातको एउटा प्रमुख कारण हो ।

अर्को कुरा चिसो समयमा चिसोले गर्दा मुटुको चल बढ्ने र प्रेसर बढ्ने हुन्छ । मुटुसम्बन्धी समस्या भएका मान्छेलाई प्रेसर बढ्ने र मुुटुको चाल बढ्ने कुरा त्यति राम्रो हुँदैन । त्यसकारण पहिलेदेखि समस्या भएका मान्छेहरुमा हृदयघात हुने सम्भावना चिसो महिनामा धेरै हुन्छ । निमोनिया हुने सिजन पनि भएको हुनाले इन्फेक्सन भएको सात दिन भित्र हार्ट अट्याक भएको अध्ययनले पनि देखाएको छ ।

मुटु रोगको घरेलु उपचार हुन्छ कि हुँदैन, मुटुमा कस्तो समस्या आएपछि चिकित्सकको मा जाने ?

मुटु रोग भनेको एक दिनको रोग होइन । यो भनेको ३० देखि ४० वर्षको रोग हो । हामीले बच्चा बेलादेखि नै हाम्रो जीवनशैली सही राख्नसक्यौं भने चाहीँ यस्ता चान्सहरू कम गर्नसक्छौँ । घरेलु उपचार भन्नुहुन्छ भने हामीले गर्नसक्ने भनेको दुई वटा कुरा मात्रै हो । खानपिन राम्रो गर्नसक्छौं र शारीरिक अभ्यास गर्नसक्छौं । हामीले विषेशगरी चिल्लो खानेकुरा खानु भएन । प्राकृतिक कुरा फलफूल र सलाद लगायतका खानेकुरा खानुपर्दछ । अनि उमेर २० वर्ष पुगेपछि एकपल्ट कोलेस्ट्रोलको जाँच गर्ने । परिवारमा प्रेसर मुटुको समस्या भएको छ भने त्यो मान्छेले २० वर्ष पुगेपछि एकपटक जाँच गर्नैपर्छ । होइन भने ४० वर्ष कटेपछि एकपल्ट प्रेसर र सुगरको जाँच गर्नुपर्‍यो । चुरोट खानु भएन । मादक पदार्थ पनि खानु भएन । 

हामीले मुटुको सुरक्षा कसरी गर्ने ?

मुटुलाई माया गर्नका लागि सुरुमा त हामीले मुटु रोग हुनबाट बच्नुपर्‍यो । त्यसका लागि मुटु सम्बन्धी रोगको उपचार खानपिन र शारीरिक अभ्यासबाट नै सुरु हुन्छ । त्यसपछि तपाईंले मुटुसम्बन्धी कुनै पनि लक्षण देख्नुभएको छ भने तुरुन्त जाँच गर्नुपर्‍यो । मुटु बिग्रिनुभन्दा पहिले नै मुटुको उपचार गर्न सकियो भने त्यसको परिणामा राम्रो हुन्छ । तपाईले तीन पटकभन्दा बढी जाँच गर्दा प्रेसर उच्च छ भने तपाईंले त्यसको उपचार गर्नुपर्दछ । त्यसलाई म खानपिनले नै नियन्त्रण गर्छु भनेर बसिराख्नु भएन । प्रेसरको लक्षणहरू देखिएको छ भने तपाईंले औषधी सुरु गर्नै पर्‍यो । मुटु रोगको लक्षण भनेको छातिमा दुख्ने, स्याँस्याँ हुने ढुकढुक हुने, आवश्यकताभन्दा बढी थकान लाग्ने र मान्छे बेहोस् हुने र रिङ्गटा लाग्ने प्रमुख कारणहरू हो । हाम्रोमा औषधी नखाने भन्ने छ । तर समस्या भइसकेपछि औषधी खाएर त्यति फाइदा चाहीँ हुँदैन । रोग छ कि छैन भनेर चिकित्सकको सहायतामा निश्चित गर्नुपर्‍यो । त्यसपछि रहेछ भने औषधी सुरु गर्नुपर्‍यो ।

अहिले केएमसीमा मुुटुसम्बन्धी रोगको निदानात्मक व्यवस्था र जनशक्तिको अवस्था कस्तो छ ?

म विगत दुई वर्षदेखि यहाँ कार्यरत छु । हामीले अहिले क्याथेल्याब सेवा सुरु गरेका छौं । अनि मुटुको ओपिडी दैनिक बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चलि नै रहेको छ । त्यसैगरी हाम्रो आपतकालीन सेवा २४ सै घण्टा सुरु नै हुन्छ । दिनको एक जना मान्छे ड्युटीमा जहिले पनि हुन्छ । हामीले मुटुको जाँचमा पे्रसर, सुगर, कोलेस्ट्रोल बाहेक रगतको सबै जाँचहरू भई नै हाल्छ । त्यसबाहेक मुटुको इसिजी, इको, टिएमटी र सिटिस्क्यान गर्दछौं । यहाँ मुटुको एमआरआई पनि हुन्छ । मुटुसम्बन्धी अपरेसन नगरिकन गर्ने सम्पूर्ण उपचार म आफैँ गर्छु । अब छिट्टै छाती चिरेर गर्नुपर्ने अपरेसन पनि सुरु हुने तयारीमा छ । सरकारबाट पाउने एक लाखको विपन्न नागरिक स्किम छ त्यो चाहीँ सबै प्यासेन्टलाई उपलब्ध छ । जे होस् मुटु रोगका लागि नेपालमा हुने जति पनि जाँचहरू र अपरेसन सबै नै यहाँ भइरहेको छ ।

सरकारले मुटुसम्बन्धी रोगका लागि गरेको लगानी पर्याप्त छ कि छैन ?

वास्तवमा भन्ने हो भने मुटुरोगलाई सरकारले एकदमै ध्यान दिएर हेरेको छ । संसारमा नेपालभन्दा सस्तो मूल्यमा मुटु रोगको उपचार कहीँ पनि छैन । अर्को कुरा जनशक्तिको कुरा गर्नुहुन्छ भने काठमाडौँमा केन्द्रित चाहीँ छ । काठमाडौं बाहिर भने अहिले पनि जनशक्ति पुगेको छैन । पूर्व र पश्चिममा पनि विस्तारै स्वास्थ्य क्षेत्रको विकास त हुँदैछ । तर मान्छेमा जनचेतनाको अभाव छ । मान्छेमा हृदयघात भयो भने पनि ग्यास्ट्रिक भन्ने गरेको पाइन्छ । त्यसकारण जनशक्ति विस्तार त गर्नुपर्‍याे । काठमाडौँमा भने विस्तारै सबै हस्पिटलहरूमा क्याथल्याबको सेवाहरू बढ्दैछ । मुटुको रोग आजभन्दा तीन वर्षपछि अगाडि बढ्नेवाला छ त्यहीअुसार हामीले तयारी गरेर हामीले अगाडि बढ्नुपर्नेछ । तर गाम्रीण भेगमा जनशक्ति विस्तार गर्नुपर्ने आवश्यकता छ ।

आम नागरिकलाई तपाईंको सन्देश के छ ?

संसारमा सबैभन्दा बढी मृत्यु हुने रोग मुटुसम्बन्धी नै हो । जसलाई डाइग्नोस गर्नका लागि केही पनि पैसा चाहिँदैन । खाली एउटा चिकित्सकले एउटा ब्लड प्रेसर नापेर पुग्छ । त्यसको सबैभन्दा सजिलो उपचार भनेको एउटा दुई रुपियाँको औषधी हुन्छ । त्यसलाई दिनको एकपल्ट खाने हो । त्यही भएर मुटुसम्बन्धी मुख्य रोगलाई बेवास्ता गर्नुभएन । मुुटु रोगसम्बन्धी लक्षण आइसकेपछि त्यसको जाँच गरेर त्यसको उपचार समयमै गर्नुपर्‍याे । नेपाल एउटा गरिब देश हो । सरकारले पनि धेरे नै सहजता प्रदान गरेको छ । स्वास्थ्य बिमा गर्न सकिन्छ । सामाजिक सुरक्षा कोष छ त्यसबाट पनि उपचार गर्न सकिन्छ । त्यसकारण सबैले मुटुलाई माया गर्न सुझाव दिन्छु ।