गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ ७ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट भ्रातृ सङ्गठन अखिल क्रान्तिकारीबाट ३२ बर्से उमेर हदका कारण बिदा भएका नेता व्यवस्थापन गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देवप्रसाद गुरुङले निर्देशन दिनुभएको छ । अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनका क्रममा गत पुस १३ गते ३२ बर्सो उमेर हद कायम भएपछि छ सयभन्दा बढी विद्यार्थी नेता बिदा भएका थिए ।
अध्यक्ष प्रचण्ड र महासचिव गुरुङले विद्यार्थी सङ्गठनबाट बिदा भएका नेताको क्षमता, रुचि र पार्टीको आवश्यकताका आधारमा हप्तादिनभित्र सुझाव दिन शुक्रबार पार्टी सर्कुलरमार्फत निर्देशन दिनुभएको छ । माओवादी पार्टीको यसअघि बसेको केन्द्रीय समिति बैठकले उपमहासचिव शक्तिबहादुर बस्नेत, केन्द्रीय सदस्य एवं अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्मा र निवर्तमान अध्यक्ष पन्चा सिंहको नेतृत्वमा बनाएको कार्यदललाई सुझाव दिन आग्रह गर्नुभएको हो । कार्यदलका सदस्य एवं अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्माले लामो समय विद्यार्थी आन्दोलनमा खर्चेका नेता कार्यकर्तालाई उचित व्यवस्थापन गर्न सुझाव दिने बताउनुभयो ।
अखिल क्रान्तिकारी निवर्तमान उपाध्यक्ष एवं ३२ बर्से उमेर हदबाट बिदा भएका मिलन एमसीले सङ्गठनबाट बिदा भएका नेतालाई पार्टी जिल्ला, प्रदेश र केन्द्रमा राखेर व्यवस्थापन गरिनुपर्ने बताउनुभयो ।