• ५ माघ २०८१, शनिबार

निःशुल्क स्वास्थ्य शिविरमा २४० लाभान्वित

blog

इनरुवा नगरपालिका ७ चाँदबेलामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा पूर्वमन्त्री भगवती चौधरी । तस्विरः जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, माघ ४ गते । सुनसरीको इनरुवा नगरपालिका ७ चाँदबेलामा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ । समाज कल्याण परिषद् राष्ट्रिय स्वास्थ्य कोष भृकुटीमण्डप काठमाडौंको आयोजना, नेपाल निजामती कर्मचारी संगठन र ग्रामीण महिला उत्सुक्ता विकास मञ्च फवार्ड सुनसरीको समन्वयमा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको हो । 

शुक्रबार इनरुवा नगरपालिका ७ को हरि आधारभूत विद्यालयको प्राङ्गणमा भएको निःशुल्क स्वास्थ्य जाँच शिविरमा २४० बढीलाई सेवा दिइएको आयोजकले जनाएको छ ।

शिविरको उद्घाटन गर्नुहुँदै पूर्वमन्त्री तथा संघीय सासद प्रतिनिधि सभा सदस्य भगवती चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा समाज कल्याण परिषद् राष्ट्रिय स्वास्थ्य कोष र सप्तकोशी न्यूरो हस्पिटल भोक्राहा, सुनसरीको प्राविधिक सहयोगमा  स्थानीयलाई सेवा दिन आयोजना गरेकोमा खुसी व्यक्त गर्नुभयो । 

उहाँले यस प्रकारको शिविर स्थानीयहरु निःशुल्क स्वास्थ्य जाँच गराई स्वास्थ्य अवस्था थाहा पाउने र महिलाले समेत आफ्नो समस्या गाउँकै शिविरमा राख्न पाएको बताउनुभयो । कोषका सदस्य सचिव मेघराज न्यौपानेले आफुहरुले विपन्न, गरिब, सुकुम्बासी सहितलाई ध्यानमा राखेर निजामती कर्मचारी संगठन र फवार्डको सहकार्यमा स्वास्थ्य शिविर आयोजना गरेको बताउनुभयो ।

सप्तकोशी न्यूरो अस्पतालका विशेषज्ञहरू वरिष्ठ न्यूरो सर्जन डा. माधव देव, वरिष्ठ जेनेरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. मिराज आलम, डा. हरिशंकर यादव, डा. अमितकुमार शाह, डा. पुष्कर निरौला, डा. पूजा दास, डा. उषा साह सहितले सेवा दिनुभएको थियो । 

शिविरबाट विभिन्न सात प्रकारका सेवाहरु उपलब्ध गराइएको छ । निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच तथा सेवासँगै निःशुल्क आवश्यक औषधी वितरण गरिएको थियो ।