काठमाडौँ, माघ ४ गते । विसं २०८१ सालको प्रारम्भदेखि उल्लेखीय व्यापार गर्दै आएको नेपाली चलचित्रले वर्षको अन्त्यतर्फ उन्मुख हुँदै गर्दा सकारात्मक सन्देश प्रवाह गर्न सक्ने देखिँदैन । पछिल्ला समय बोक्सीको घर, छक्का पञ्जा ५, १२ गाउँ र पूर्णबहादुरको सारङ्गी जस्ता चलचित्रले दर्शकको अपार माया मात्र होइन रेकर्डतोड कमाई पनि गरे । यद्यपि त्यसलगत्तै प्रदर्शनमा आएका चलचित्र तेल भिसा, ह्रस्वदीर्घले सोचे जस्तो व्यापार गर्न सकेनन् ।
पछिल्लो समय प्रदर्शनमा आएका चलचित्र अग्निदहन, बमबहादुर, देववाणीलाई हलमा साख जोगाउन हम्मे हम्मे पर्यो भने कार्साङले जेनतेन दर्शक बटुल्ने काम गरिरहेको छ । चलचित्रले राम्रो व्यापार नगर्दा हलमा दर्शक पाउन हम्मे हम्मे परिरहेको हल सञ्चालकको भनाइ छ ।
नेपाली चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जन चलचित्र नचल्नुको मुख्य कारण जाडो महिना रहेको बताउनुहुन्छ । उहाँका अनुसार चलचित्र पनि मौसम अनुसार चल्छ । जाडो एउटा बहानामा मात्र हो । खै राम्रा चलचित्र प्रदर्शन भएको छ ? उहाँले भन्नुभयो, चलचित्र चल्ने भनेको त्यसको कथाले नै हो जब कथा नै राम्रो छैनन् भने दर्शकले अनावश्यक रूपमा टिकटमा किन पैसा खर्च गर्छन् । यो महिना प्रदर्शन भएका चलचित्रबाट जति अपेक्षा गरिएको थियो त्यो अनुसार दर्शक तान्न नसकेको उहाँको भनाइ छ । उहाँले थप्नुभयो, अब माघ महिनामा प्रदर्शनमा आउने केटी हराएको सूचना, एक्टर र जुनी चलचित्रबाट केही अपेक्षा गर्न सकिन्छ कि ?
निर्देशक तथा निर्माता निश्चल बस्नेतको भनाइ भने केही भिन्न छ । उहाँका अनुसार वर्षभरि नै चलचित्रको व्यापार राम्रो हुन्छ भन्ने हुँदैन । चलचित्र प्रदर्शन हुने क्रम भइरहन्छ, यति हो कि दर्शकले अपेक्षा गरे अनुसारको चलचित्र निर्माण नभएका हुन सक्छन् । माघमा राम्रा चलचित्र प्रदर्शन भएसँगै दर्शकको चाप केही बढ्छ, उहाँले भन्नुभयो । चलचित्र नचल्नुमा मौसमलाई दोष दिनु हास्यास्पद रहेको बस्नेतले बताउनुभयो । राम्रो चलचित्र प्रदर्शन भयो भने दर्शकको चाप त्यसै बढ्छ, चाहे त्यो गर्मी समय होस् या जाडो । यसमा मुख्य कुरा भनेको चलचित्रको प्रदर्शन मिति नै हो । एउटा राम्रो प्रदर्शन मिति सबैले खोजिरहेका हुन्छन्, उहाँको भनाइ थियो ।
चलचित्र कार्साङका कलाकार जितु नेपाल चलचित्रले सोचे अनुरूप व्यापार नगरेको स्विकार्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “हो चलचित्रले खासै दर्शक तान्न सकेको छैन तर अब बिस्तारै लयमा फर्कन खोजेको छ ।” चलचित्रमा दर्शक देखिन थालेको उहाँ भन्नुहुन्छ, दर्शकको स्वाद बुझ्न धेरै कठिन छ । आफ्नो चलचित्र नचल्नुको एउटा मुख्यकारण पुस महिना पनि भएको उहाँको भनाइ थियो । उहाँ भन्न्नुहुन्छ, “जाडो महिनामा हलमा दर्शक खासै देखिँदा रहेनछन् । अब माघमा प्रदर्शनमा आउने चलचित्रबाट केही आशा गरिएको छ । यदि त्यो पनि चलेनन् भने फेरि चलचित्र क्षेत्र स्वाहाको बाटोतिर जाने उहाँको भनाइ छ ।
चलचित्रको कथा राम्रो र त्यसमा केही नयाँपन देखियो भने दर्शक त्यसै पनि हलमा ओइरिन्छ । यहाँ सटिक विषयवस्तु उठान गरिएका चलचित्र नबनेका पनि होइनन् तर राम्रा भनिएका चलचित्रले आफ्नो लगानी उठाउन नसक्नाले पनि चलचित्र क्षेत्र फेरि पुरानै लयमा फर्कन लागेको हो कि भन्ने भान हुन थालेको छ । नयाँ विषयवस्तु र राम्रा कथावाचनका बिच चलचित्र हलमा कहिले लागे र कहिले उत्रिए भन्ने कुराको फेरि अत्तोपत्तो हुन छाडेको छ ।