• ४ माघ २०८१, शुक्रबार

पिएसबीले सुशासन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छः मन्त्री गुरुङ

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण (पिएसबी) सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : केशब गुरुङ

  काठमाडौँ, माघ ३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण (पिएसबी)ले मुलुकमा सुशासन प्रवर्द्धनका लागि महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ । पिएसबीको पूर्वप्रारम्भ (प्रि–लन्चिङ) कार्यक्रमको आज यहाँ आयोजित समापन समारोहमा मन्त्री गुरुङले यस सेवाले सुशासन प्रवर्द्धनमा पहरेदारको भूमिका निर्वाह गर्दै देश र जनताका पक्षमा काम गरेर औचित्य पुष्टि गर्न निर्देशन र सुझाव दिनुभएको हो ।     

  “मुलुकमा सुशासन कायम गर्न यसको भूमिका महत्वपूर्ण हुनुपर्छ । राज्यमा भएका समस्या र सरकारका कमजोरी देखाइदिनुपर्छ”, उहाँले भन्नुभयो, “जनताका पक्षमा काम गर्नसक्यो भने यसको औचित्य पुष्टि हुन्छ ।” 

मन्त्री गुरङले पिएसबी कार्यान्वयनसँगै जनशक्ति एवं संस्थागत व्यवस्थापनमा मन्त्रालय प्रतिबद्ध रहेको समेत बताउनुभयो । “जनशक्ति व्यवस्थापन, सङ्गठन परिचालन कसरी हुन्छ भन्ने विषयमा मन्त्रालय प्रतिबद्ध छ”, उहाँले भन्नुभयो, “कर्मचारी कोही पनि अलमलमा पर्नुपर्दैन, काम गर्दै जानुहोस, सबै व्यवस्थापन हुन्छ ।”     

 मन्त्री गुरुङले पिएसबीले स्वायत्त रुपमा काम गर्ने उल्लेख गर्दै आगामी दिनमा गोरखापत्र संस्थान पनि सोही ढाँचामा सञ्चालन हुनसक्ने बताउनुभयो । संस्थाहरु स्वतन्त्र हुनुपर्छ भन्ने बहस चलिरहेको सन्दर्भमा उहाँले स्वतन्त्रभन्दा धेरै स्वायत्त हुनुपर्नेमा मन्त्री गुरुङको जोड थियो । मन्त्री गुरुङले पिएसबीसँग सम्बन्धित नियमावली र विनियमावली निर्माणमा मन्त्रालयले हस्तक्षेत नगर्ने समेत स्पष्ट पार्नुभयो ।     


यसैगरी, नेपाल टेलिभिजनका अनुसार, मन्त्रालयका सचिव राधिका अर्यालले सार्वजनिक सेवा प्रसारण  नयाँ अवधारणा रहेको भन्दै यसमा अवसर र चुनौतिहरु दुवै रहेको भन्दै यसलाई समाधान गर्दै अघि बढन मन्त्रालयको साथ सहयोग रहने प्रतिवद्धता जनाउनु भयो ।

सचिव अर्यालले सार्वजनिक सेवा प्रसारणलाई सर्वमान्य सिद्धान्त अनुसार संचालन गर्नुपर्ने भन्दै नियम, विनियम बनाउन र संस्थागत संरचनाको पूर्णतामा मन्त्रालयले ध्यान दिने बताउनु भयो ।

कार्यक्रममा पूर्व सांसद एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले जनताको पक्षमा काम गरी विश्वसनीय प्रसारणको रुपमा स्थापित हुन सके मात्र पिएसबी स्थापनाले सार्थकता पाउने बताउनुभयो ।

वरिष्ठ अधिवक्ता अधिकारीले नागरिकको चेतना अभिवृद्धि गरी मुलुकको सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरणमा रेडियो नेपाल र नेपाल टेलिभिजनको विगतको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै दुई संस्था एकिकृत भएर बनेको पिएसबीलाई स्वतन्त्र र विश्वसनीय बनाउन सके लोकतान्त्रिक शासन व्यवस्थालाई थप बलियो बनाउन समेत मद्दत पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

जनता समाजवादी पार्टीका सांसद रन्जुकुमारी झाले पिएसबीले आफ्नो प्रसारणलाई मौलिक, विश्वसनीय र निष्पक्ष बनाई आम जनताका सवालहरूलाई थप महत्वका साथ उठाउनु पर्नेमा जोड दिनुभयो ।

 कार्यक्रममा पिएसबीका निमिक्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले  प्रिलन्चिङ कार्यक्रममा पिएसबीले नयाँ पनको खोजी गरिरहेको यसलाई देश भित्र र बाहिरबाट निकै चासोका साथ हेरिएको बताउनु भयो । सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले पिएसबीले राज्य र नागरिक बीचको पुलको रुपमा काम गर्ने बताउनुभयो ।