मीना कंडेल
कावासोती, माघ ३ गते । पछिल्लो समय नवलपुरको पहाडी क्षेत्रका किसानको जीविकोपार्जनको गतिलो माध्यम सुन्तला खेती बनेको छ । जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ ।
सुन्तला उत्पादन वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् । यस वर्ष सुन्तलाको उत्पादन बढेसँगै आम्दानी राम्रो भएको छ । जिल्लामा १० दशमलव ४ प्रतिशतले एक हजार ४१४ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।
जिल्लामा यस वर्ष आठ करोड ९० लाख बढी मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । यहाँका सुन्तला खेती गर्ने किसानले यस वर्ष ८ करोड ९० लाख ४० हजार रुपियाँ बराबरको सुन्तला बिक्री गरेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ नवलपुरका प्रमुख सुनिलकुमार सिंहले बताउनुभयो ।
प्रमुख सिंहका अनुसार आर्थिक वर्ष २०८०–८१ मा ७.८६ प्रतिशत उत्पादन वृद्धि भइ त्यसबाट एक हजार ३४६ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जसबाट आठ करोड ७४ लाख ९० हजार बराबरको सुन्तला बिक्री गरेकोे उहाँले बताउनुभयो ।
पहिले सामान्य रुपमा सुन्तला लगाउने किसानले जिल्लामा सुन्तला जोन कार्यक्रमपछि सरकारबाट विभिन्नखालका प्राविधिक सहयोग र अनुदान प्राप्त गरेपछि यसतर्फ आकर्षण बढ्दै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत तथा सूचना अधिकारी रणबहादुर महतोले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हरेक वर्ष सुन्तला उत्पादन बढ्दै गएको छ, नयाँ बोटले पनि फल दिन थालेको छ, किसानले सुन्तला बगैँचा व्यवस्थापनमा ध्यान दिन थालेपछि राम्रो फल्न थालेको छ ।” नवलपुरको बौदिकाली, बुलिङटार, गैँडाकोटको पहाडी क्षेत्रमा सुन्तला खेती लगाउने किसानको संख्या धेरै रहेको छ ।
नवलपुरमा हाल ८५३ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । जिल्लामा उत्पादन भएको सुन्तलाको बजारीकरण ठूला शहर हुनेगरेको छ । स्थानीय बजारसहित नारायणगढ, काठमाडौंंमा जिल्लाबाट उत्पादन भएको सुन्तला खपत हुँदैआएको उहाँको भनाइ छ ।
जिल्लाको केही भागमा उत्पादकत्वमा कमी आएको उहाँले बताउनुभयो । सुन्तला जोन कार्यक्रम सुरु भएको ६ वर्ष भएको भए पनि विगत तीन वर्ष अघिबाट मात्र जिल्लाको धौबादी, काफलडाँडा, छरछरे, रामकोट, देउरालीलगायत ठाउँमा सुन्तला जोन लागु भएको थियो ।
पहाडी क्षेत्रअन्र्तगत बौदिकाली –५, बबक सुन्तला उत्पादनका लागि प्रख्यात क्षेत्र मानिन्छ । यहाँका करिब सबैजसो स्थानीय कृषक सुन्तला खेतीमा लागेका छन् । अहिले समय राम्रो हुँदा उत्पादन राम्रो भएको र आम्दानी समेत बढेको गेसबहादुर रानाले बताउनुभयो ।
जिल्लामा उत्पादित ३८१ मेट्रिक टन सुन्तला जिल्लाभित्र खपत भएको साथै ८९० मेट्रिक टन सुन्तला जिल्ला बाहिर निर्यात भएको रानाले बताउनुभयो ।