• ३ माघ २०८१, बिहिबार

पुलिसमाथि आर्मीको कठिन जित

blog

बल खोस्ने प्रयास गर्दै आर्मी र पुलिसका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, माघ ३ गते । त्रिभुवन आर्मी क्लबले एन्फा राष्ट्रिय महिला सुपर लिगको दोस्रो चरणमा नेपाल पुलिस क्लबमाथि कठिन जित निकालेको छ । 

सातदोवाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा आर्मीले पुलिसलाई १–० गोलले हरायो । विभागीय डर्बीमा आर्मीले पुलिसको आत्मघाती गोल सहयोगमा बाजी मारेको हो । 

इन्जुरी समयमा पुलिसकी रक्षक समीक्षा घिमिरेको प्रहार आत्मघाती गोल भएको थियो । जितसँगै ६ खेलबाट १३ अङ्क बनाएको आर्मी दोस्रो स्थानमा उक्लिएको छ । पराजित पुलिसको समान खेलबाट १० अङ्क छ । 

माघ १६ गतेसम्म चल्ने दोस्रो चरणको लिगमा पाँच टोलीबिच प्रतिस्पर्धा भइरहेको छ । जसमा नेपाल पुलिस क्लब, वालिङ नगरपालिका त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब र बागमती प्रदेश छन् ।