गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ ३ गते । यस वर्षको नेपाल अन्तर्रष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करण चैत ७ देखि चैत ११ गतेसम्म हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान र नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजनामा हुने महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छनोट भएका छन् ।
एकेडेमीका प्रमुख केपी पाठकले निफमा ७० देशका छ सयभन्दा धेरै चलचित्रले प्रदर्शनीका प्रस्ताव गरेकोमा ८७ वटा चलचित्र मात्र छानिएको जानकारी दिनुभयो । उहाँ अनुसार छनोटमा परेका थुप्रै चलचित्र बुसान, कान्स, लोकार्नो, बर्लिनाल आदि प्रतिष्ठित फेस्टिभलमा प्रदर्शन भइसकेका छन् । उहाँले निफमा स्वदेशी तथा विदेशी चलचित्रकर्मी, उच्चस्तरका राजनीतिज्ञ र समाजका प्रतिष्ठित व्यक्तित्वसँग छलफल गरिनुका साथै विभिन्न कार्यशाला पनि सञ्चालन हुने बताउनुभयो ।
महोत्सवलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर दुई किसिमले वर्गीकरण गरिएको छ । दुवैमा फिचर र लघुचलचित्रका साथै वृत्तचित्र विधामा अवार्ड वितरण गरिने छ । नेपाली कथानक चलचित्रको प्रतिस्पर्धा हुने नेसनल पानोरमामा चार चलचित्र छनोट भएका छन् । जसमा जोन योञ्जनको ‘क्रलिङ क्रोज’, दिनेश राउतको ‘पूजार सार्की’, विनोद पौडेलको ‘भूठान’ र लक्ष्मण सुवेदीको ‘सतीदेवी’ छन् । ‘भूठान’ को अङ्ग्रेजी नाम ‘दी वल्ड्र्स ह्याप्पिएस्ट म्यान’ राखिएको छ ।
चलचित्र नेपालका हलमा भन्दा निफमा पहिले प्रदर्शनी हुन लागेको हो । नेपाली वृत्तचित्रको प्रतिस्पर्धा विधामा सुविना श्रेष्ठको ‘देवी’, रजिला श्रेष्ठको ‘छेसाङ’, गौरव आयरको ‘मुक्ति’, तासी लाजोमको ‘नो मोनास्ट्री नो भिलेज’, दीपा श्रेष्ठको ‘उड्ने सपना’ र लव प्याकुरेलको ‘गल्र्स रिराइटिङ डेस्टिनी’ छन् । यस वर्षदेखि एआई प्रविधिबाट वा सोसम्बन्धी विषयमा बनेको चलचित्रको प्रतिस्पर्धा पनि थप गरिएको पाठकले जानकारी दिनुभयो । उहाँले थप्नुभयो, “यसले दर्शकलाई नयाँ प्रविधिसँग पनि साक्षात्कार गराउने विश्वास लिएका छौँ ।” पहिलो पटक निफले आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा बनाइएका चलचित्रको प्रतिस्पर्धात्मक विधासमेत समावेश गरेको छ । ‘एआई फिल्म्स’ नाम दिइएको यो विधामा चीनको ‘एभ्री हेजिस्टेसन अफ योर्स क्यान डिस्ट्रोय दी वल्र्ड’, अर्जेन्टिनाको ‘दी एबिस’, फ्रान्सको ‘गोल्ड कास्टिङ’, पेरुको ‘दी ड्रिम, दी फग एन्ड दी रेन’ र अमेरिकाको ‘मब पार्ट १’ छन् ।
यस वर्ष महोत्सवमा प्रदर्शन हुने चलचित्रहरू क्युएकएक्स सिनेमाका सिभिल मल र छाया सेन्टरका हलमा प्रदर्शन हुने छन् भने पर्यटन बोर्डको हल र राष्ट्रिय सभागृहमा विभिन्न कार्यशाला आयोजना हुने आयोजकले जानकारी दिएको छ । महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट हुने चलचित्रलाई एक हजार पाँच अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिने छ । त्यसै गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रबाट कुनै एक चलचित्रलाई ‘अन्तर्राष्ट्रिय चलचित्र समाज महासङ्घ’ को तर्फबाट ‘डन कि होते’ अवार्ड प्रदान गरिने छ ।
महोत्सवमा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुचलचित्रलाई पाँच सय डलरको बागमती अवार्ड प्रदान गरिने छ । एआई प्रविधिको चलचित्रलाई पाँच सय अमेरिकी डलरको मञ्जुश्री अवार्ड प्रदान गरिने छ । यसै गरी नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट चलचित्रलाई एक लाख नगद र ट्रफी, उत्कृष्ट छोटो चलचित्र र उत्कृष्ट वृत्तचित्रलाई ५०–५० हजार नगद र ट्रफी प्रदान गरिने छ । राष्ट्रिय छोटा चलचित्रमध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिने छ भने राष्ट्रिय चलचित्रतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेतृलाई पनि ट्रफी प्रदान गरिने छ ।