• १२ असार २०८१, बुधबार

सरकारको नीति तथा कार्यक्रम : समग्रमा सकारात्मक

blog

काठमाडौँ, जेठ ११ गते ।राष्ट्रपति विद्यादेवी भण्डारीबाट मङ्गलबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रमबारे सांसदहरूले मिश्रित प्रतिक्रिया दिनुभएको छ । प्रस्तुत छ नेताहरूले दिएको प्रतिक्रिया :

गठबन्धनको धारणाअनुसार

 माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री एवं अध्यक्ष नेकपा (एकीकृत समाजवादी)

नीति तथा कार्यक्रम आधारभूत रूपमा ठीक छ ।  सरकारको नीति सत्तारूढ गठबन्धनमा रहेका दलको धारणाअनुसार नै आएको छ । यसले जनताको मुद्दालाई सम्बोधन गर्ने कोसिस गरेको छ । यसले राज्य र समाजका समस्यालाई अधिकतम सम्बोधन गर्ने प्रयास गरेको छ । 

सुधारका सङ्केत छन् 

 डा. बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री, अध्यक्ष जनता समाजवादी पार्टी सङ्घीय परिषद्

नीति तथा कार्यक्रम समग्रमा सकारात्मक छ । त्यसमार्फत सुधारका केही सङ्केत पनि देखिएका छन् । आर्थिक विकास र समृद्धिलाई केन्द्रबिन्दुमा राखेर प्राथमिकीकरण गरिएको छ । यो चुनावी वर्ष पनि भएकाले सरकारमा रहनेहरूले अलि पपुलिस्ट र नयाँ कुराहरू गरेको देखाउनुपर्ने बाध्यता पनि थियो होला । सुधारात्मक हिसाबले त ठिकै छ तर अपर्याप्त देखिँदैन । मेरो व्यक्तिगत विचारमा भने अहिलेको स्थितिमा त्यति सामान्य सुधारले मात्र पुग्दैन ।

सकारात्मक छ

 सुजाता कोइराला, पूर्वउपप्रधानमन्त्री, नेत्री नेपाली कांग्रेस

नीति तथा कार्यक्रम सकारात्मक छ । यसमा सुधारको सङ्केत देखिएका छन् । कोभिड १९ को कारण रोकिएका विकास निर्माणका काम तीव्रगतिमा अगाडि बढाउन गठबन्धनको सरकारले जोड दिएको छ । नीतिमा समेटिएका कार्यक्रमसँगै शिक्षा, स्वास्थ्य र डिजिलाइजेसनमा सरकारले जोड दिनुपर्छ ।  शिक्षामा जोड दिन इन्टरनेटको सुविधा सबै नागरिकको घर–घरमा पु-याउने योजना हुनुपर्छ । 

नीति तथा कार्यक्रम कर्मकाण्डी

सुरेन्द्र पाण्डे, पूर्वअर्थमन्त्री

सार्वजनिक नीति तथा कार्यक्रम कर्मकाण्डी छ । खासै उत्साहप्रद छैन । कतिपय पुरानै कुरालाई जोड दिएको छ । आजको मुख्य चुनौती देशको अर्थतन्त्रको अवस्था हो त्यसतर्फ खास ध्यान दिएको देखिएन ।  तय गरिएका नीतिअनुसार बजेटको व्यवस्था गर्न सकिने अवस्था पनि देखिँदैन ।  बजेटले सुनिश्चित नगरेसम्म कार्यान्वयनको कुनै टुङ्गो हुँदैन ।

अहिले प्रस्तुत नीतिले त २५ खर्ब रुपियाँभन्दा बढीको माग गर्छ रहेको र हाम्रो अवस्थाले चार÷पाँच खर्ब खर्च गर्न सक्ने अवस्था छैन । 

कमजोर र फितलो

प्रदीपकुमार ज्ञवाली, पूर्वपरराष्ट्रमन्त्री

यो नीति तथा कार्यक्रम इतिहासकै सबैभन्दा कमजोर र फितलो देखिन्छ । सत्तापक्षकै सांसदहरूले नीति तथा कार्यक्रमको समर्थन गर्न सक्नुभएको छैन । देश आर्थिक कूटनीतिक हिसाबले अप्ठ्यारो अवस्थामा रहेको समयमा कसरी अघि बढ्ने भन्नेबारे नीति तथा कार्यक्रम प्रस्ट हुन सकेको छैन । 

थुप्रै दूरगामी सोचका कुरा छन्

विनोद चौधरी, सांसद

नीति तथा कार्यक्रम धेरै अध्ययन गरेर आएको छ । क्षेत्रगत विषयहरू थुप्रिएर बसेका थुप्रै विषयलाई सम्बोधन गर्ने दृष्टिकोणबाट नीति तथा कार्यक्रमलाई संयोजन गरिएको छ । यसमा थुप्रै दूरगामी सोचका कुराहरू समेटिएका छन् । कतिपय लामो समयदेखि थाति रहेका विषयहरू, प्रवासमा रहेका नेपालीका समस्या र चाहनाहरू पनि यसले सम्बोधन गर्ने प्रयास गरेको छ ।

राष्ट्रिय परिचयपत्रको माध्ययमबाट सामाजिक सुरक्षाका प्याकेज उपलब्ध गराउने कुरा निकै सकारात्मक रहेको छ । निजी क्षेत्रले थालेको मेक इन नेपाल मेड इन नेपाललगायतका आगामी १० वर्ष औद्योगिकीकरणमा मुलुकलाई लिएर जाने प्रतिबद्धता व्यक्त भएको छ । यसले नयाँ ऊर्जा दिन सक्छ ।


Author

राधा चालिसे/मीनराज भण्डारी