• १ माघ २०८१, मङ्गलबार

कर्णाली डेभलपमेन्टद्वारा बचतकर्ताको १० करोड निक्षेप फिर्ता

blog

कर्णाली डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय । तस्बिरः सिराज खान

सिराज खान 

नेपालगन्ज, पुस २९ गते । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त संस्था घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले अन्तरबैंक रकम सापटी लिएर दुई साताको अवधिमा १० करोड रुपियाँ निक्षेप फिर्ता गरेको छ ।

नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक सञ्चालनका लागि राष्ट्र बैंकका बैंक तथा बित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्व गठन गरेको व्यवस्थापन समितिले सर्वसाधारण निक्षेपकर्ताको बचत फिर्ताका लागि अन्तरबैंक सापटी लिएर पहिलो चरणमा १० करोड रुपियाँ फिर्ता गरेको हो । 

सम्पूर्ण निक्षेप फिर्ताका लागि कर्जा र ब्याज पनि असुल हुनुपर्ने र त्यसमा लागि प्रयास गरिरहेको व्यवस्थापन समूहले जनाएको छ । व्यवस्थापन समूहका संयोजक खतिवडाले बैंकमा देखिएको तरलता व्यवस्थापनमा विशेष ध्यान दिएको जनाउँदै शुरुमा बचतकर्तालाई २५ हजार रुपियाँसम्म फिर्ता गरिरहेको बताउनुभयो ।

पहिलो चरणमा अन्तर बैंक सापटी लिएको व्यवस्थापन समूहले कर्जा बिक्री र कर्जा स्वाप (हस्तान्तरण) का लागि समेत अन्तरबैंक प्रक्रिया अघि बढेकाले निक्षेप फिर्ताका लागि थप सहज हुने जनाएको छ । 

यसैविच व्यवस्थापन समूहले बैंकको सम्पत्ति र दायित्व मुल्यांकन प्रक्रिया पनि अघि बढाएको छ । त्यसपछि मात्र बैंकको यथार्थ अवस्था बाहिर आउने र अन्य रणनीति बनाउन सहज हुने व्यवस्थापन समूहले जनाएको छ । 

समुहका अनुसार निक्षेप फिर्ताका लागि खराब कर्जा असुलउपरलाई विशेष निगरानीमा राखेर प्राथमिकता दिइएको छ । नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंकले दुई वर्ष अघिदेखि निगरानीमा राखेको थियो । विभिन्न निर्देशनका बावजुद खराब कर्जा बढ्ने र पछिल्लो समय दुई करोड ५० लाख क्लियरिङ हाउसबाट फिर्ता भएपछि राष्ट्र बैंकले पुस १० गते सो बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेको थियो । 

बैंकमा करिब चार अर्ब ६० करोड निक्षेप रहेकोमा करिब तीन अर्ब रुपियाँ लगानी रहेको छ । पछिल्लो पटक खराब कर्जा ५० प्रतिशत पुगेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले खतिवडाको संयोजकत्वमा वित्तीय संस्था सुपरीवेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगलकिशोर कुशवाह रहेको ३ सदस्यीय व्यवस्थापन समिति गठन गरेको थियो ।