सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, पुस २८ गते । गत असोजमा आएको बाढीले लिपिङखोलाको मोटरेबल पुल बगाएपछि सो स्थानमा बेलिब्रिज जडान गर्न तातोपानी नाका बन्द गरिने भएको छ ।
आगामी माघ ६ देखि २६ सम्म तातोपानी नाका बन्द गरिने भएको हो । सिन्धुपाल्चोकका सरकारी अधिकारी र चिनियाँ अधिकारीबिच भएको अनौपचारिक छलफल अनुसार पुल जडान गर्न नाका बन्द गर्न लागिएको हो । वैकल्पिक मार्ग नभएका कारण नाका बन्द गर्नु परेको सडक डिभिजन कार्यालय चरीकोटले जनाएको छ ।
बेलिब्रिज जडान गर्दा केही दिन सडक बन्द गर्नुपर्ने अवस्था आएको कार्यालयका सूचना अधिकृत इन्जिनियर सुरज महर्जनले बताउनुभयो । उहाँका अनुसार अहिले लिपिङखोलामा ह्युमपाइप र ढुङ्गामाटो थुपारेर यातायात सञ्चालन गरिएको छ । जनवरी २९ मा चिनियाँ नयाँ वर्ष प्रारम्भ हुन्छ । उक्त समयावधिमा नाका बन्द गरेर बेलिब्रिज जडान तयारी थालिएको हो ।
चिनियाँ समकक्षीसँग समन्वय गरेर केही दिनका लागि तातोपानी नाकाबाट आयात बन्द गर्ने तयारी रहेको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो । चिनियाँ पक्षलगायत सबै सरोकारवाला पक्षसँग बृहत् छलफल गरेर राजस्व सङ्कलनलाई असर नपर्ने गरी नाका बन्द गर्ने जनाइएको छ ।
सिगात्से, ल्हासालगायतका स्थानबाट चिनियाँ सामान ढुवानी गरेर तातोपानी नाका ल्याउने ट्रान्सपोर्ट कम्पनीलाई सामान क्यारिङ नगर्न ट्रान्सपोर्ट कम्पनी र व्यापारिक केन्द्रलाई सरकारले निर्देशन दिने भएको छ । गत असोजको बाढीले तातोपानी नाका जोड्ने लिपिङ मोटरेबल पुल र लार्चा बेलिब्रिज बगाएपछि भोटेकोशी नदी र लिपिङखोलामा ह्युमपाइप राखेर आवागमन प्रबन्ध मिलाइएको थियो ।