काठमाडौँ, पुस २६ गते । नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजनामा काठमाडौँमा एक दिवसीय ‘चीन चलचित्र दिवस’ बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले ‘चीन चलचित्र दिवस’ ले दुई देशका चलचित्रमार्फत हाम्रो सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यो सांस्कृतिक सम्बन्धको उत्सव हो । यसले नेपाली चलचित्र क्षेत्रमा अर्को सम्भावनाको ढोका खोल्ने छ ।”
आयोजक नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले कार्यक्रम केवल चलचित्र हेर्ने मात्र नभई दुई देशबिचको सम्बन्ध थप बलियो बनाउने माध्यम भएको पनि बताउनुभयो । चाइना फिल्म एडमिनिस्ट्रेसनको अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङले नेपाल एउटा सुन्दर देश र प्राचीन सभ्यता भएको मुलुक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यक्रमबाट चीन र नेपालबिच चलचित्र क्षेत्रमा हुने उपयोगको सहकार्यमा अझ राम्रो सम्बन्ध बन्दै जाने छ ।”
चिनियाँ दूतावासका उपनियोग प्रमुख वाङ जिनले हालका वर्षहरूमा चीन चलचित्रका लागि विश्वको ठुलो बजार भइसकेको र नेपालमा समेत चिनियाँ चलचित्रको छायाङ्कन भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अघिल्लो वर्ष नेपालका प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपालमा सन् २०२५ मा चिनियाँ फिल्म फेस्टिभल गर्ने सम्झौता भएको थियो ।” उहाँले दुई देशबिच उत्सव शृङ्खलाका रूपमा यस कार्यक्रमले दुई देशका चलचित्र निर्माताबिच सहयोग आदानप्रदानका लागि ‘प्लेटफर्म’ प्रदान गर्ने बताउनुभयो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्र्रतिष्ठानका प्राज्ञ पुरु लम्सालले नेपाल र चीनबिच सहकार्यको समृद्ध इतिहास भएको बताउँदै यस्तो कार्यक्रमले दुवै देशको सम्बन्ध अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
छाया सेन्टरमा आयोजित कार्यक्रममा चिनियाँ चलचित्र यिहुई साओ निर्देशित ‘हर स्टोरी’, युडी झाङ निर्देशित ‘मिडसमर्स भ्वाइस’ र फेई लङ निर्देशित ‘जी फर ग्याप’ प्रदर्शन गरिएको थियो । चाइना फिल्म एडमिनिस्ट्रेसन, चिनियाँ दूतावास, चाइना फिल्म अर्काइभ र नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले कार्यक्रम आयोजना गरेका हुन् ।
कार्यक्रमपछि गोल्डेन रुस्टर अवार्ड विजेता अभिनेत्री यु होङले चलचित्रले दुई देशलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गर्नुभयो । चलचित्र प्रदर्शनपछि तीन वटै चलचित्रका निर्माता, निर्देशक र कलाकारले दर्शकसँग अन्तर्क्रिया गरेका थिए । त्यस क्रममा उनीहरूले ‘चाइना फिल्म डे’ जस्ता पहलले नेपाल र चीनबिचको सांस्कृतिक खाडल कम गर्न र आपसी समझदारी प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।