• २६ पुस २०८१, शुक्रबार

हिमपातपछि खुलेकाे फालोट

blog

पाँचथरको माथिल्लो हिमाली क्षेत्र फालेलुङ गाउँपालिकाको फालोटमा परेको हिउँ ।

नारायण तुम्बापो

फिदिम, पुस २५ गते । पाँचथरको माथिल्लो हिमाली क्षेत्र फालेलुङ गाउँपालिकाको फालोटमा परेको हिमपातले यो क्षेत्रलाई जादुमय रूप दिएको छ । हिउँको सेतो च्यादरले ढाकिएको फालोटको सौन्दर्यले जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ । 

हिमपातले थपेको स्वाभाविक सुन्दरताले फालोटलाई शान्त र स्वर्र्गीय गन्तव्यको रूपमा देखाएको छ । फालोट क्षेत्रका चारराते, तिनसिमाना, लामपोखरी, चिवाभन्ज्याङ र तिम्बुङ पोखरीजस्ता स्थानहरूमा हिउँले छरपस्ट सेतो रङको क्यानभास सिर्जना गरेको छ । तीन हजार ५०० मिटरको उचाइमा अवस्थित यो क्षेत्र अहिले हिमपातका कारण पर्यटकहरूको लागि एक आकर्षक गन्तव्य बनेको छ । 

हिउँले भरिएका विशाल चउरहरूमा चौरी गाईहरू देखिने दृश्यले यहाँको सौन्दर्यलाई झनै मोहक र रोचक बनाइदिन्छ । हिमाली सौन्दर्यता, चौँरीको रमाइलो दृश्य, र सेतो क्यानभासले सजिएको फालोट अहिले जादुई रूपमा प्रस्तुत भएको छ । यो मोहक परिदृश्य हिउ जमेर रहिरहने एक हप्तासम्म कायम रहन्छ । यहाँबाट सुर्योदयका साथै कञ्चनजंघा, कुम्भकर्ण, मकालु, सगरमाथा लगायतको हिमश्रृंखला बोनसका रुपमा मज्जाले हेर्ने अवसर पनि मिल्छ । 

तर फालोटको यो जादुई रूप हेर्न नेपालतर्फबाट पुग्न सहज छैन । यहाँसम्म पुग्ने कुनै व्यवस्थित बाटो छैन, न त सञ्चारको उचित पहुँच नै छ । पर्यटकमैत्री पूर्वाधारको अभावका कारण नेपाली पर्यटकहरूले फालोटको जादुई सुन्दरता देख्न कठिन मान्छन् । अर्कोतर्फ, विभिन्न देशका पर्यटकहरू भने भारत हुँदै फालोट आइपुग्ने गर्छन् । फालोट क्षेत्रको पर्यटनबाट भारतले नै धेरै फाइदा पनि लिइरहेको छ । 


स्थानीय तहले फालोटको पर्यटन प्रवद्र्धनमा ठोस योजना बनाउन नसक्दा यो क्षेत्रको सम्भावना ओझेलमा परेको छ । फालेलुङ–८ का घनेन्द्र केरुङका अनुसार पर्यटनसँग जोडेर सघनले फालोटको प्रवर्द्धन गर्न सकेमा यो ठाउँ पर्यटकहरूको लागि प्रमुख गन्तव्य बन्न सक्छ ।

फालोटको पहाडमा केहि समय अघिदेखि चौरी महोत्सव भने हुदै आएको छ । यसले हिमाली जीवनशैलीको प्रवर्द्धन गर्न र हिमालको पहिचानलाई जीवन्त राख्ने प्रयास गरेको छ । पाँचथरका पर्यावरण संरक्षणकर्मी सुनिल वान्तवा फालोटको मुख्य पहिचान हिउँमै रहेको र हिमपातले मात्र फालोटको जादुई रूपलाई संरक्षण गर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, "हिउँले हिमाली रुप उजागर गर्नुका साथै पर्यावरणीय चक्र र रैथाने खेती प्रणालीलाई पनि जीवन्त राख्छ ।" 


यसबाट पनि पर्यटन प्रवर्द्धनमै सहयोग पुग्छ । जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा हिमपात दर घट्दै जादाँ स्थानीयवासीले चिन्ता व्यक्त गर्ने गरेका छन् । स्थानीयवासीहरूको सक्रिय सहभागिता र सरकारको समर्थनले फालोटलाई अझै प्रभावकारी गन्तव्य बनाउन सकिन्छ ।