• २५ पुस २०८१, बिहिबार

भूकम्पीय जोखिम

blog

प्राकृतिक प्रकोपमध्ये भूकम्प पृथ्वीका विभिन्न क्षेत्रमा गइरहन्छ । एउटै पृथ्वी सबैको साझा घर भए पनि कुनै क्षेत्र अति भूकम्पीय जोखिममा छन् भने कतिपय क्षेत्र उति जोखिममा छैनन् । नेपाल विश्व भूकम्पीय जोखिमका हिसाबले ११ औँ स्थानमा परेको बताउने गरिन्छ । नेपालको भौगोलिक स्वरूप भारतीय र एसियन प्लेटको बिचमा पर्ने भएकाले भौगर्भिक हलचल बढी भई भूकम्पीय जोखिममा हुन गएको भूगर्भविद्को भनाइ रहँदै आएको छ । हिन्दकुश पर्वत शृङ्खला नै लाखौँलाख वर्षको भौगर्भिक हलचलकै कारण उठ्दै गएको मान्ने हो भने यस क्षेत्रले भूकम्पीय जोखिमलाई सामान्य लिँदै त्यस अनुसारको सचेतना अपनाउनुपर्ने हुन्छ । भूकम्प आफैँले मानिस र धनसम्पत्तिको भयानक क्षति गर्दैन । मानिसले जीवन चलाउन तथा भौतिक सुखसुविधाका निम्ति बनाएका संरचनालाई भूकम्पले क्षति गर्छ । 

मङ्गलबार बिहान सबेरै नेपालको पूर्वी तथा मध्य भागमा गएको भूकम्पले चिसो मौसममा ठुलो चुनौती दियो । चीनको तिब्बत अर्थात् हालै चीनले दिएको नयाँ नाम सिजाङ स्वायत्त क्षेत्रको सिगात्से सहरको डिङ्गयी काउन्टी केन्द्रविन्दु भएर मङ्गलबार बिहान ६ः५० बजे ७ म्याग्निच्युडको भूकम्प गयो । यसलाई शक्तिशाली भूकम्प भनिएको छ । सो भूकम्पले तिब्बततर्फ ठुलो क्षति गरेको छ । कम्तीमा १२६ जनाको मृत्यु भएको छ भने १८८ जना घाइते भएका छन् । धेरै घर भत्किएका छन् । अत्यधिक चिसोका कारण उद्धार कार्य जटिल भए पनि तीव्रतर रूपमा उद्धारका कार्य भइरहेका सञ्चारमाध्यमले देखाइरहेका छन् । तिब्बत केन्द्रविन्दु भए पनि नेपाल, भारत, बङ्गलादेश र भुटानसम्मको भूमि आत्तिने गरी हल्लायो । राजनीतिले भूगोलको सीमारेखा कोरे पनि भूकम्पले कुनै रेखा कोर्न सकेन । तिब्बतसँगै नेपालको पूर्वी र मध्य भेगमा भूकम्पको अत्यधिक धक्का महसुस गरिँदा मानिस घरबाट जोगिन सडकमा पुगे । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीको भनाइमा तिब्बतमा गएको यो भूकम्पले नेपालको मौजुदा भूकम्पीय जोखिम न्यूनीकरण गर्न कुनै सहयोग गरेको छैन ।

विज्ञको भनाइमा पृथ्वीको सतहभित्र कम्पन हुँदा भूकम्पको धक्का महसुस हुन्छ । पृथ्वीको सतहमा हलचल उत्पन्न गर्दा पृथ्वीको भित्री भागमा रहेको उच्च तापमानको क्षेत्रमा तनाव धेरै बढ्छ । त्यसले पैदा गर्ने गतिले भित्री भागलाई असन्तुलित बनाउँछ । त्यसबाट शक्ति पैदा हुन्छ । सो ऊर्जा बाहिर आउन खोज्छ । ऊर्जा मुक्त हुँदा कम्पन पैदा गर्छ । यस कम्पनले पृथ्वीको सतहमा झट्का दिन्छ र त्यही नै भूकम्प हो । पृथ्वीको बाह्य सतह अर्थात् लिथोस्फियर विभिन्न ठुला चट्टानी भागमा विभाजित छ । त्यसलाई प्लेट भनिन्छ । यी प्लेटहरूबिच भएको घर्षण नै भूकम्प उत्पन्न हुने मूल कारण हो । भूकम्प एक भौगर्भिक प्रव्रिmया भए पनि यसलाई न रोक्न  सकिन्छ न त अध्ययन अनुसन्धानबाट यसको समय तालिका अनुसार भविष्यवाणी नै गर्न सकिन्छ । टेक्टोनिक प्लेटहरूबिचको अन्तरसङ्घर्षका कारण भूकम्प जान सक्ने कुरा भने विगतको भूकम्प अध्ययन गरेर पनि आकलन गरिने प्रवृत्ति देखिन्छ ।

नौ वर्षअघि २०७२ साल तथा गएको तिब्बत केन्द्रविन्दुको भूकम्पले यस क्षेत्रको पृथ्वीभित्र सञ्चय भएको ऊर्जा भने सबै बाहिर निस्कन नसकेको भूकम्पविद्को भनाइले सचेत हुनुपर्ने सन्देश दिन्छ । ससाना भूकम्प हरेक दिन जाने गर्छन् । तिनको अनुभव पनि गर्न सकिन्न र क्षति पनि गर्दैन । ठुला भूकम्प भने केही वर्षको अन्तरालमा जाने गर्छन् । हरेक दिन जाने साना भूकम्पहरूले सञ्चित ऊर्जा बाहिर ल्याउँदैन । बेला बेलामा ठुला र विनाशकारी भूकम्पले नै शक्ति बाहिर ल्याउने हो । विगतमा नेपाललगायत यस क्षेत्रमा हिमालय क्षेत्रमा ठुलठुला भूकम्प गएका छन् । सन् १८९७ मा भारतको आसाम, सन् १९०५ मा भारतको काङ्गरा, सन् १९३४ मा नेपाल–भारतको सिमाना र सन् १९५० मा भारतको आसाममा ठुला भूकम्प गएका थिए । पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यान्मारसम्मको करिब दुई हजार पाँच सय किलोमिटर हिमशृङ्खलाको मध्य भागको करिब आठ सय किलोमिटर अर्थात् एक तिहाइ भाग नेपालले ओगटेको छ । टेक्टोनिक प्लेटबिचको टकरावका कारण ऊर्जा सञ्चितिमा समय समयमा विनाशकारी भूकम्पको माध्यमबाट हुने विसर्जनले आउने भूकम्पप्रति सचेत हुनु नै जरुरी छ । त्यसैले नेपालमा संरचना बलियो बनाउनु पर्छ भने पूर्वतयारीमा पनि ध्यान दिनु जरुरी छ ।