• २१ कात्तिक २०८२, शुक्रबार

प्राविधिक समस्याका कारण इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित

blog

नयाँदिल्ली, कात्तिक २१ गते । एयर ट्राफिक कन्ट्रोल (एटिसी) प्रणालीमा प्राविधिक समस्या आउँदा  शुक्रबार दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल (आईजीआईए) मा सयौं उडान प्रभावित भएको एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।  

दिल्ली इन्टरनेसनल एयरपोर्टका प्राविधिक विज्ञ प्राविधिक समस्या समाधान गर्नका लागि सक्रिय रहेको र उडान पुनः सञ्चालन कहिलेदेखि सुरु हुन्छ भन्ने अझै थाहा हुन नसकेको जनाइएको छ । विमानस्थलले जारी गरेको विज्ञप्तिमा “एटिसी प्रणाली” मा प्राविधिक समस्या आएका कारण आइजिआईएमा उडान सञ्चालनमा ढिलाइ भइरहेको उल्लेख गरिएको छ । 

विज्ञप्तिमा प्राविधिक टोलीसहित सबै सम्बन्धित निकाय समस्यालाई चाँडै समाधान गर्न सक्रिय रूपमा काम गरिरहेको जनाइएको छ । यात्रुलाई नयाँ उडान अपडेटका लागि आ-आफ्नो सम्बन्धित एयरलाइन्ससँग सम्पर्कमा रहन सल्लाह दिइएको छ । धेरै निजी एयरलाइन्सले पनि उडान सञ्चालनका बारेमा अपडेटका लागि सम्पर्कमा रहन आ-आफ्ना उडानकर्तालाई सल्लाह दिएका छन् । रासस/सिन्ह्वा