• २५ पुस २०८१, बिहिबार

सुक्खा जैविक इन्धनले बढायो डढेलोको जोखिम

blog

काठमाडौँ, पुस २५ गते  । नेपालमा वन क्षेत्र बढेसँगै त्यसभित्र जम्मा हुने सुक्खा जैविक इन्धन (बायो मास) को बढोत्तरी हुँदा डढेलोको चुनौती पनि उच्च बन्दै गएको छ । नेपालको वन क्षेत्र अघिल्लो वर्षसम्म ४५.३१ प्रतिशत थियो । त्यसबाट बढेर यो वर्ष ४६.०८ प्रतिशत पुगिसकेको छ । 

वनको फैलावटसँगै वनमा जम्मा भइरहेका सुक्खा जैविक इन्धनको घनत्व पनि उही स्तरमा बढ्दै जाँदा डढेलोको स्तर उच्च हुने जोखिम बढेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डढेलोविज्ञ सुदीप छत्कुली औँल्याउनुहुन्छ । उहाँका अनुसार डढेलोले हरेक वर्ष नेपालमा औसत आठ जनाको ज्यान लिने गरेको छ । डढेलो घरबस्तीमा पस्दा करोडौँको भौतिक क्षति हुने गरेको छ । यो वर्षको हिउँदको तापक्रम बढी नै हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको हुनाले पनि डढेलो बढ्ने अनुमान छ । आइतबार मात्र देशका ५९ स्थानमा डढेलो लागेको थियो । विगत केही दिनयता विभिन्न संरक्षित क्षेत्रमा पनि डढेलो लाग्न थालेको आँकडा आउन थालेको छ । 

उहाँ भन्नुहुन्छ, “अब डढेलो नियन्त्रणमा वन व्यवस्थापनको पाटोलाई जोड्नै पर्छ, नत्र भविष्यमा ठुलो जनधनको क्षति निम्तिन सक्छ ।” हरेक वर्ष असोज महिनादेखि जेठ महिनासम्मको अवधि वन तथा घरबास क्षेत्रमा डढेलो र आगलागी हुने समय मानिन्छ । वर्षा कम भएको वर्षमा यो समय अझ लम्बिने गरेको पाइन्छ । वन संरक्षणमा जति ध्यान गएको छ, त्यति डढेलो नियन्त्रण र वनलाई उपभोगमैत्री बनाउन नसक्दा उच्च डढेलोको सामना गर्नु परिरहेको उहाँ स्वीकार गर्नुहुन्छ । विगत १० वर्षअघि र अहिलेको नेपाली समाजको तुलना गर्दा पनि वनमा निर्भर जनसङ्ख्या उच्चस्तरले घटेको छ । ग्यास तथा विद्युतीय इन्धनको बढ्दो उपभोगले वनको दाउरा र सोत्तर इन्धनका रूपमा प्रयोग न्यून हुँदै गएको छ । 

अध्ययन अनुसार वन क्षेत्रमा एक अर्ब १५ करोड ९७ लाख टन सुक्खा जैविक इन्धन जम्मा भएको छ । जस अनुसार प्रतिहेक्टर १९४.५१ टन हुन आउँछ । उहाँ भन्नुहुन्छ, “वन संरक्षणमा केन्द्रित हुँदा समय समयमा त्यसरी जम्मा भएका पतकर र सोत्तर हटाउने गरी व्यवस्थापन गरिएको छैन ।” 

जसले बर्सेनि वन पैदावरसँगै नजिकका मानवबस्तीमा डढेलो पसेर ठुलो जनधनको क्षतिको सम्भावना प्रबल बनाइरहेको छत्कुली औँल्याउनुहुन्छ । उहाँका अनुसार नेपालमा हरेक वर्ष औसत आठ जनाको ज्यान डढेलोले लिने गरेको छ । बर्खान्तरमा हिसाब गर्दा सन् २००५ देखि सन् २०२४ सम्मको अवधिमा १४३ जनाको ज्यान डढेलोले लिएको छ । सबैभन्दा बढी सन् २००९ मा ४९ जनाको ज्यान डढेलोका कारण गएको थियो । अन्य नौ जना घाइते भएका थिए । त्यसपछि गत वर्ष अर्थात् सन् २०२४ मा १७ जनाको ज्यान  डढेलोले लियो । अन्य २७ जना घाइते भए । जसमा वनको आगो निभाउन गएका चार जना सैनिक थिए । गत वर्ष वन तथा घरबस्तीमा गरी पाँच हजार वटा आगलागीका घटना भएका थिए ।

त्यस्तै गरी सन् २०१४ मा १३ जना, २०१६ र २०२१ मा ११–११ जना, २०१० मा नौ जना, २०२३ मा सात जनाको ज्यान गएको थियो । अन्य वर्षमा एकदेखि चार जनासम्मको ज्यान डढेलोले लिएको पाइन्छ । 

तर गर्ने कसले ?

डढेलोको कारक तìवका बारेमा वन मन्त्रालय, सामुदायिक वनका पदाधिकारी तथा अन्य नियमनकारी निकाय र आमनागरिक सबैलाई थाहा छ । यहाँसम्म कि विज्ञहरूसँग बारम्बार भएका छलफल तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्मेलन र छलफलमा सबैले वन डढेलो नियन्त्रणमा समन्वयको आवश्यकता दर्शाउनुहुन्छ । 

विपत् प्राधिकरणका विज्ञ सुदीप छत्कुली पनि वनको काठ र अन्य स्रोतको उपभोगमा विगतदेखि नै कायम कठोर नीतिका कारण डढेलोलाई सघाउने स्रोतहरू बढेको बताउनुहुन्छ । 

वन तथा घरबस्तीमा डढेलो र आगलागीका घटना हुन नदिन प्राधिकरणले सचेतनामूलक सन्देश प्रवाह गरिरहेको छ । पूर्वतयारीका लागि डिभिजन वन कार्यालय र सामुदायिक वनलाई हातेपम्प वितरणका साथै समुदायमैत्री प्रशिक्षण तथा सचेतनाका कार्यक्रमलाई बढावा दिइएको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराई बताउनुहुन्छ । उहाँले भन्नुभयो, “स्थानीय तहलाई सबलीकरण गरेर डढेलो र आगलागी नियन्त्रण आफैँ गर्न सक्ने बनाउन सबै मन्त्रालय र प्राधिकरणको संयुक्त पहल हुनु पर्छ ।”