• १३ साउन २०८१, आइतबार

पाल्पामा बदर मतपत्रको सङ्ख्या बढ्यो

blog

पाल्पा, जेठ १० गते । पाल्पामा विगतको तुलनामा यस पटकको स्थानीय तहको निर्वाचनमा अत्याधिक मतपत्र बदर भएको छ । मतदाता शिक्षा प्रभावकारी नहुँदा यस पटकको निर्वाचनमा २०७४ सालको निर्वाचनमा भन्दा बदर मतपत्रको प्रतिशत बढेको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । 

वि.स. २०७४ सालको स्थानीय तहको नर्वाचनमा कुल खसेको मतमध्ये १.१७ प्रतिशतमात्र बदर भएको थियो । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बदर मतको प्रतिशत बढेर ५.८० प्रतिशत पुगेको जिल्ला निर्वाचन अधिकारी रुक्मागत अर्यालले जानकारी दिनुभयो । हालसम्म नौ वटा स्थानीय तहको बदर मतको अवस्था हेर्दा मतपत्र बदर भएको सङ्ख्या बढेको उहाँले बताउनुभयो । 

शहरी क्षेत्र मानिएपनि तानसेन नगरपालिकामै धेरै मत बदर भएको छ । फरक–फरक उम्मेद्वारलाई मत दिने क्रममा धेरै मतपत्र बिग्रिएको छ । तानसेनमा ७.२० प्रतिशत र रामपुर नगरपालिकामा ३.६७ प्रतिशत बढी मत बदर भएको निर्वाचन अधिकारी अर्यालले जानकारी दिनुभयो । रामपुरमा गठबन्धन नहुँदा बदर हुने मत कम रहेको छ । 

जिल्लाको निस्दीमा ४.४४ प्रतिशत, पूर्वखोलामा ६.०८ प्रतिशत, बगनासकालीमा ५.७८ प्रतिशत, माथागढीमा ६.८४ प्रतिशत, रिब्दीकोटमा ६.०१ प्रतिशत रैनादेवी छहरामा ६.७८ प्रतिशत र तिनाउमा ५.४५ प्रतिशत मत बदर भएको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । 

यसपटक घर–घरमा पुग्ने गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभएको, उम्मेदवारका लागि प्रचारप्रसारको समय कम भएको र दलहरू बीच गठबन्धन हुँदा क्रस भोटिङ्का कारण बदर मत सङ्ख्या बढेको हो । मतदाता स्वयम्ले समेत विगतमा भन्दा यस पटक व्यक्ति रोजेर भोट हाल्ने क्रम बढेकाले बदर मत बढेको निर्वाचनका खटिएका कर्मचारीको भनाई छ । विगतमा ल्याप्चे लगाउने, घेराभन्दा बाहिर छाप लगाउने मतपत्र देखिन्थे, यस पटक क्रस मत राख्ने क्रममा बढी मत बदर भएको देखिन्छ । 

Author

रेखीराम राना